Logo
|
Thursday 23rd January 2025
Logo

epaper

बेइजिङमा १८ महिनायताकै धेरै कोरोना सङ्क्रमित फेला



जनस्वास्थ्य सरोकार । चीनको राजधानीमा शीतकालीन ओलिम्पिक्स सुरु हुनुभन्दा पाँच दिनअगाडि बेइजिङमा १८ महिनायताकै सबैभन्दा धेरै सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको विवरण आएको छ।

बेइजिङमा २० भन्दा बढी सङ्क्रमित फेला परेको जानकारीमा आएपछि अधिकारीहरूले ती मानिस भएका केही क्षेत्रमा लकडाउन घोषणा गरेका छन्।

त्यस्तै ओलिम्पिक्सका आयोजकहरूले खेलका लागि बनाइएको क्लोज-लूप बबल भित्रै पनि ३४ जनामा सङ्क्रमण देखा परेको बताएका छन्।

अधिकारीहरूका अनुसार तीमध्ये १३ जना खेलाडी र अधिकारीहरू विमानस्थलमा आइपुगेका थिए।

उक्त खेलमा सङ्क्रमण पुष्टि भएकालाई खेल्न दिइँदैन र आइसोलेशनमा राखिन्छ।

चौबीस घण्टाभित्र गरिएका दुईवटा परीक्षणमा सङ्क्रमण निको भएको पुष्टि भएपछि मात्र उनीहरूले खेल्न पाउनेछन्।

महामारी सुरु भएदेखि नै चीनभित्र र चीनबाहिर यात्राका लागि कडा प्रतिबन्ध लगाइए पनि त्यहाँ शीतकालीन ओलिम्पिक्स आयोजना हुन लागेको छ।

खेलका लागि बेइजिङ जानेहरूले चार्टर उडानबाट जानुपर्नेछ र उनीहरूले खेल सकिएर चीनबाट बाहिरिने बेलासम्म तोकिएको बबलमा बस्नुपर्नेछ।

चीन पुग्नुअघि र पुगिसकेपछि पनि मानिसहरूमा परीक्षणबाट कोभिड नभएको पुष्टि हुनुपर्छ।

खेलका लागि तोकिएको बबलभित्र रहेका हजारौँ मानिसहरूको पनि दैनिक परीक्षण हुनेछ र उनीहरूले मास्क लगाउनुपर्नेछ।

देशको न्याश्नल हेल्थ कमिशन (एनएचसी) ले आइतवार बेइजिङमा २० नयाँ सङ्क्रमित फेला परेको जनाएको थियो।

त्यो सन् २०२० जुन यताकै सबैभन्दा बढी हो। स्थानीय अधिकारीहरूले धेरै सङ्क्रमण देखिएको फेङ्ताई जिल्लाका बस्तीहरूमा लकडाउन लगाएका छन्।

एएफपी न्यूज एजेन्सीका अनुसार नयाँ सङ्क्रमणहरू देखिएपछि त्यससँग जुझ्नका लागि करिब २० लाख मानिसहरूको परीक्षण गरिनेछ।

आइतवार एनएचसीले देशभरि नयाँ ५४ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ।

उक्त विवरणमा पूर्वी सहर हाङ्झोउ र हेइलोङ्जियाङ प्रान्तको सुइफेन्हे सहरमा भेटिएका नयाँ सङ्क्रमित पनि समाविष्ट छन्।

विश्वभरि फैलिनुअघि कोरोनाभाइरस पहिलो पटक चिनियाँ सहर वुहानमा सन् २०१९ को अन्त्यतिर पाइएको थियो।

चीनले महामारी सुरु भएयता देखि नै शून्य कोभिडको नीति लिएको छ।

उक्त नीति कार्यान्वयनका लागि उसले स्थानीय सङ्क्रमण हुन नदिनका लागि कडा प्रतिबन्धहरू लगाउने र व्यापक परीक्षण गर्ने गरेको छ।

चीनमा एक लाख २० हजारमा सङ्क्रमण र ४,६०० सय जनाको कोभिडका कारण मृत्यु भएको छ।

यो भनेको अन्य प्रमुख देशहरूको तुलनामा निकै कम हो। बीबीसी

प्रतिक्रिया दिनुहोस्