Logo
|
Thursday 25th April 2024
Logo

epaper

आजदेखि निजी सवारीसाधनमा हट्यो जोरबिजोर

फागुन १ गतेदेखि भौतिकरुपमा कक्षा सञ्चालन गर्न सकिने



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली सोमबारदेखि हटेको छ ।
आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले माघ २३ गते राति १२ बजेदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

नेपालमा कोरोना सङ्क्रमण बढेसँगै कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले माघ ८ गतेदेखि लागू हुने गरी सार्वजनिक एवं निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली गत साताबाट हटाए पनि निजी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली भने गए रातिदेखि हटाइएको हो ।

यस्तै, उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले फागुन १ गतेदेखि भौतिकरुपमा कक्षा सञ्चालन गर्न सकिने निर्णय गरेको छ । १२ वर्ष पूरा भएका बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन दिने तथा १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने निर्णय गरेको छ ।

त्यस्तै, डान्सबार, दोहोरी, नाचघर, क्बललगाय रात्रिकालीन व्यवसाय भने फागुन १ गतेदेखि राति १० बजे अगाडिसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ । सबै नागरिकलाई अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्नसमेत बैठकले आग्रह गरेको छ ।

पार्टीप्यालेसको हकमा भने पूर्ण क्षमताको ५० प्रतिशत अथवा १०० भन्दा बढी भेला हुन नपाउने गरी सञ्चालन गर्न पाइनेछ ।

बैठकले सबै प्रकारका आमसभा, जुलुस, भेला, सम्मेलन, जात्रा, महोत्सव, हाटबजारलगायत भिडभाड हुने कार्य गर्न नपाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्