Logo
|
Thursday 28th March 2024
Logo

epaper

तीन चौथाइ छारेरोगी उपचारको पहुँच बाहिर ! दश जनामा एक जना छारेरोगी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य संंगठन भन्छ–‘संसारका धेरै भागहरूमा छारे रोग भएका व्यक्ति र तीनको परिवारलाई भेदभावको दृष्टिकोणले हेर्ने गरिन्छ ।’ यतिमात्र नभई न्युन र मध्यम आय भएका देशहरुमा छारे रोग भएका ८० प्रतिशत ब्यक्तिहरुमध्ये तीन चौथाई बिरामीहरुले अझै पनि समयमै आवश्यक उपचार सेवा पाउन नसकेको डब्लुएचओको ठम्याइ छ ।

सेन्टर फर डिडिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले १० जना मध्ये १ जनालाई जीवनकालमा कुनै न कुनै समय छारे रोग हुन सक्ने औंल्याएको छ ।


विश्वभर छारे रोग लागेका व्यक्तिहरुको संख्या करिब ५ करोड रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्कले देखाउँछ । छारे रोग भएका व्यक्तिमा अकाल मृत्युको जोखिम सामान्य व्यक्तिको तुलनामा तीन गुणा बढी हुने डब्लुएचओले जनाएको छ । समयमै उपचार सेवा पाए ७० प्रतिशत बिरामीहरु पूर्ण रुपमा रोगमुक्त हुने डब्लुएचओले बताएको छ ।


डब्लुएचओका अनुसार छारे रोग एक न्यूरोलोजिकल डिस्अर्डर हो । मस्तिष्कमा अनियन्त्रित तवरले तरंगहरू प्रवाहित हुनुलाई छारे रोग भनिन्छ । छारे रोग बालबालिका, वयस्क र वृद्धबृद्धा जुनसुकै उमेरसमुहका व्यक्तिलाई हुनसक्छ । आनुवंशिकता, पारिवारिक इतिहास, स्ट्रोक आदिले छारे रोगको जोखिम बढाउन सक्ने चिकित्सकहरु बताउँछन् ।

यसका अलावा शरीरमा पोटासियम, क्याल्सियम, ग्लुकोजजस्ता तत्वहरूमा गडबडी आउँदा पनि छारे रोग हुनसक्छ । यस्तै लागूऔषध, जाँडरक्सी सेवन गर्ने, बढी अनिँदो बस्ने, समयमा खाना नखाने र बढी तनाव लिने व्यक्तिहरुलाई पनि छोरे रोगको जोखिम हुनसक्छ ।


विशेषगरी छारे रोग लागेका व्यक्तिहरुमा मुर्छा पर्ने, हात खुट्टा काप्ने, शरीर लल्याकलुलुक हुने, आँखा पल्टाउने, फिंज काढ्ने, जिब्रो टोक्ने, बेहोस हुने, लुगामा दिसा पिसाब गरिदिने र अचानक लड्ने आदि लक्षणहरु देखिन सक्छन् ।


छारे रोगको शंका भएमा तत्काल चिकित्सकको सुझाव सल्लाह लिनुपर्छ । अग्लो उचाइमा चढ्नु, धारिलो हतियार अथवा उपकरण प्रयोग गर्नु, सावारीसाधन चलाउनु जस्ता कामहरू छारे रोगीका लागि खतरनाक हुन सक्ने नशा रोग विशेषज्ञ डा. अविनाश चन्द्र बताउनुहुन्छ ।


रोगले छोपेको बेला गाउँघरमा मोजा र जुत्ता सुघाइँदिने गरेको पनि देखिन्छ । कतिपय पिछाडिएको समाजमा जथाभावी जडीबुटी खुवाउने तथा धामी झाँक्री लगाउने चलन पनि छ । तर यी सबै गलत उपचारहरु हुन् ।

डा. चन्द्र भन्नुहुन्छ–‘छारे रोगले छोपेको बेला बिरामीलाई चोट पटक लाग्नबाट बचाउनुपर्छ । रोगी बेहोस या कामी रहेका छन् भने उसलाई सफा नरम ठाउँमा कोल्टो फेरेर सुताउनुपर्छ । टाउको तल कपडा वा तकिया हाल्नुपर्छ । पोसाकलाई खुकुलो पर्नुपर्छ । मुखमा जम्मा भएको र्याल, थुक, फिजलाई सफा रूमालले पुछ्नुपर्छ । बिरामीको मुख मा औला हाल्ने, मोजा सुघाउने जस्ता कार्य गर्नुहुँदैन ।’


डा चन्द्रका अनुसार छारे रोग भएमा अथवा त्यसको शंका लागेमा टाउकोको सिटी स्क्यान अथवा एमआरआई जाँच, टाउकोमा तार लगाएर कम्प्युटरबाट तरंग जाँच्ने उपकरण (इइजी) र रगतको जाँच गर्न सकिन्छ । रोगको आक्रमण तथा लक्षणको हिसाबले उपचारको बाटो निधो गरिने उहाँको भनाई छ ।


उमालेको वा निर्मलीकरण गरेको शुद्ध पानी मात्र पिउने, साग, सलाद, फलफूल बोक्रा फालेर पानीले राम्रोसँग पखालेर मात्र खाने, टाउकोमा चोटपटक लाग्न नदिने, ज्वरो आउँदा समयमै उपचार गर्ने, अनिँदो नबस्ने, ज्यादा तनाव नलिने गरेमा छारे रोगबाट धेरैजसो बच्न सकिने डा चन्द्रले बताउनुभयो ।


हरेक वर्ष फेब्रुअरीको दोस्रो सोमबार विश्व छारे रोग दिवस मनाउने गरिएको छ । सन् २०२२ का लागि ‘छारे रोगका लागि ५० मिलियन पाइला’ भन्ने नारा तय गरिएको छ । इन्टरनेशनल व्युरो फर एपिलेप्सी (आइबिइ) र इन्टरनेशनल लिग अगेन्स्ट एपिलेप्सी (आइएलएई) द्धारा सन् २०१५ देखि संयुक्त रुपमा यो दिवस मनाउन सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्