Logo
|
Friday 26th April 2024
Logo

epaper

निन्द्रासम्बन्धि एक प्रकारको रोगः स्लिप एप्निया



जनस्वास्थ्य सरोकार, काठमाडौं । के तपाईलाई निद्रामा घुर्ने समस्या छ ? के तपाई सुतेको बेला सास रोकिएर उकुसमुकुस हुँदै बारम्बार बिउँझिने गर्नुहुन्छ ? तपाईंलाई दिउँसो धेरै निन्द्रा पो लाग्छ कि ? के तपाईंलाई निद्रामा हात–खुट्टा धेरै चलाउने छट्पटिने समस्या छ ? अथवा तपाईलाई बिहान उठ्दा मुख सुक्ने तथा टाउको भारी हुने गर्छ ?

यदि छ भने यो ‘स्लीप एप्निया’ पनि हुनसक्छ । ‘स्लीप एप्निया’ निन्द्रा सम्बन्धि एक प्रकारको रोग मानिन्छ । यस प्रकारको समस्या भएका व्यक्तिहरुमा निद्रामा घुर्ने र सास रोकिने गर्छ । यो स्वास्थ्यका लागि जोखिम भएको चिकित्सकहरुको भनाइ छ । यदि यस प्रकारको समस्या भएमा ढिलो नगरी उपचार गराउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

हुन त मोटोपना र सामान्य मानिसलाई पनि साधारण घुराई हुनसक्छ । उनीहरुलाइ ‘स्लीप एप्निया’ जस्तो सास रोकिने वा अक्सिजनको मात्रा घट्ने समस्या हुँदैन । तर स्लीप एप्निया हुनेहरुलाई भने निदाएको बेला गर्धनभित्रको श्वासनली साँघुरो भई केहिबेरका लागि बन्द हुने, शरीरमा अक्सिजनको मात्रा घट्ने र मुटुको चाल एवं प्रेसर बढ्ने सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट एण्ड इन्टेन्सिभिष्ट डा.राजु पंगेनी बताउनुहुन्छ ।

यस्ता व्यक्तिहरु निन्द्रामा बेलाबेलामा व्यूँतिने गर्छन् । उनीहरुमा हात खुट्टा फाल्ने, कोल्टे फर्कने, चिच्याउने लगायतका समस्या देखिने गर्छ ।

डा. पंगेनी भन्नुहुन्छ –‘यस प्रकारको समस्या भएका व्यक्तिहरुमा अल्पकलीन मुटुको चाल गडबड, हृदयघातदेखि दिर्घकालीन शारीरिक तथा मानसिक समस्यासमेत हुनसक्ने भएकाले तत्काल डाक्टरको परामर्श लिनु उचित हुन्छ ।’

लक्षण

स्लीप एप्निया भएका व्यक्तिहरुमा मानसिक समस्या, तनाव, थकान, प्यारालाइसिस, यौनइच्छामा कमी, मोटोपन, मुटुरोग, मधुमेह, ब्लड प्रेसर लगायतका लक्षणहरु देखिने गरेको पाइएको छ ।

स्लीप एप्निया भए–नभएको पत्ता लगाउन निद्रासम्बन्धि जाँच गर्नुपर्ने बताउनुहुन्छ डा.राजु पंगेनी ।

डा.पंगेनी भन्नुहुन्छ–‘निद्रासम्बन्धि जाँच गर्न अस्पताल भर्ना गरेर घुर्ने, सास रोकिने र अन्य निद्राको अवस्था, घुराईको मात्रा, सासको गति, मुटुको चालको निगरानी तथा भिडियो परीक्षण गर्नुपर्छ ।’

सेन्सरहरु टाँस्न प्रयोग हुने क्रिमको एलर्जी तथा रोगकै कारण हुनसक्ने भवितव्य बाहेक यो जाँचका कारण शरीरमा अन्य कुनै नराम्रो असर नहुने डा. पंगेनी बताउनुहुन्छ ।

उपचारका विधि

स्लीप एप्निया भएको बिरामीलाई निदाएको बेला सासको नलीमा अवरोध आउने, शरीरमा अक्सिजनको मात्रा घट्ने र पर्याप्त निद्रा पुग्दैन ।

स्लीप एप्नियाको मुख्य उपचार सिप्याप प्रविधिको प्रयोगबाट हुने गर्छ । डा.पंगेनी भन्नुहुन्छ–‘सासको नली बन्द हुन नदिन नियमित रुपमा सुत्नेबेलामा नाक वा मुख छोप्ने ‘विशेष मास्क’ प्रयोग गर्नुपर्छ । यो मास्क मेसिनसँग जोडिएको हुन्छ । उक्त मेसिनले मास्कको माध्यबाट चाप पैदा गरी स्वास नलीलाई बन्द हुन दिँदैन र अक्सिजनको मात्रा घटबढ हुनबाट जोगाउँछ । यसले गहिरो निद्रा लगाउन सहयोग गर्ने र रोगका कारण हुने अन्य समस्याहरुबाट समेत बचाउने डा. पंगेनीको भनाइ रहेको छ ।

वजन कम गर्ने, सुत्ने बेला कोल्टे फर्केर मात्र सुत्ने, गर्धनका मांशपेशीहरुको कसरत गर्ने, नाक–कान–घाँटीको समस्याहरुको उपचार गर्ने, जाड–रक्सी जस्ता अन्य निद्राको औषधि प्रयोग नगर्नाले स्लीप एप्नियाको उपचार सहज डा. पंगेनीको भनाइ छ । साधारण स्लीप एप्निया हुनेहरुलाई मुखमा लगाउने यन्त्र तथा घाँटीको सर्जरीले पनि फाइदा हुन सक्छ । (डा पंगेनी ह्याम्स अस्पतालमा कार्यरत हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्