कोभिड-१९ अब प्रकोप कि महामारी, के भन्छन् विज्ञ ?
प्रकोप र महामारीमा के फरक छ ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कयौँ युरोपेली देशले कोभिडबाट पूर्ण रूपमा मुक्ति पाउन नसकिने र त्यो अब निश्चित ठाउँमा नियमित रूपमा मानिसमा देखिरहन सक्ने प्रकोपका रूपमा रहने तर्क गरेका छन्। त्यही धारणाका भरमा उनीहरूले भाइरस फैलन रोक्ने ठानिएका उपायहरूलाई बिस्तारै हटाइरहेका छन्।
मास्कको प्रयोग, कोभिड राहदानी र भिडभाड घटाउनेजस्ता उपाय इङ्ग्ल्यान्ड, फ्रान्स, स्पेन र डेनमार्क सहितका देशमा विस्तारै हटाइँदैछ। रुस र अमेरिकामा एक्लिएर बस्ने अवधिलाई कम पारिएको छ।
स्वास्थ्य अधिकारीहरूले कोभिड-१९ एउटा बिन्दुमा पुगेर सामान्य रोगझैँ हुने र यसलाई स्वास्थ्य आपत्काल नमानिने तर्क गरेका छन्।
तर के कोभिड प्रकोप बन्ने अवस्थामा पुगिसकेको हो या देशहरूले छिट्टै त्यसो ठानेका हुन्? हामीले के का आधारमा त्यसको निर्क्योल गर्न सक्छौँ? यदि त्यसो हो भने त्यस्तो परिवर्तन धेरै मानिसहरूका जीवनमा कसरी जोडिन्छ?
यस बहसका केही मुख्य तर्कहरू यस्ता छन्ः
प्रकोप र महामारी: के फरक छ?
सुरुमा हामीले बुझ्नुपर्ने कुरा के छ भने प्रकोप हुनु भनेको महामारी अन्त्य हुनेछ भन्ने होइन। त्यसो कहिल्यै नहुन सक्छ।
कुनै रोगको स्वभाव जब अनुमान गर्न सकिन्छ तब त्यसलाई प्रकोप भनिन्छ।
जब वर्षको कुनै निश्चित समय र स्थानमा विज्ञहरूले एउटा स्थिर सङ्ख्यामा सङ्क्रमण र मृत्यु आकलन गर्न सक्छन् तब प्रकोप हुने ठानिन्छ। प्रकोप रोगको जटिलतासँग जोडिने कुरा होइन।
क्षयरोग, एचआईभी र मलेरिया सबै प्रकोप हुन्। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार मलेरिया मात्रैले बर्सेनि ६,२७,००० मानिसको ज्यान लिनेगर्छ भने २४ करोड १० लाखमा मा यो रोग देखिने गरेको छ।
फैलावटको दरले कुनै रोग प्रकोप वा महामारी के हुने भन्ने देखाउँछ। जब सङ्क्रमितको सङ्ख्या नियन्त्रणबाहिर जान्छ त्यो प्रकोपका रूपमा रहन्छ। तर त्यो समस्या निश्चित क्षेत्रभित्र सीमित हुनुपर्छ। जब त्यो विभिन्न महादेशमा फैलन्छ, त्यो सन् २०२० को सुरुमा भएझैँ महामारीको रूप लिन्छ।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले १६ फेब्रअुरीमा विश्वभरि ४० करोडभन्दा धेरै मानिस कोभिडबाट प्रभावित भएको र ५८ लाखको मृत्यु भएको विवरण छ।
के कोभिड प्रकोप बन्छ?
खोप कार्यक्रमहरू सुरु भएपछि र विगत दुई वर्षमा मानिसहरूमा विकसित केही प्राकृतिक प्रतिरोध क्षमताले गर्दा केही देशहरूले खासगरी ओमिक्रोन भेरिअन्टपछि कोभिडको जोखिम घटेको ठानेका छन्।
यद्यपि विज्ञहरूले कोभिड अब कहिल्यै नहराउन सक्ने तर फ्लूका भाइरसझैँ रहिरहनका लागि फैलिरहन सक्ने भन्दै सजग गराएका छन्।
अमेरिकाका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले हालै विश्व आर्थिक मञ्चको कार्यक्रममा भन्नुभयो –’यदि तपाईँले सङ्क्रामक रोगहरूको इतिहास हेर्नुभयो भने हामीले मानिसमा एउटा मात्र सङ्क्रामक रोग निर्मूल गरेका छौँ र त्यो हो बिफर हो। यो भाइरसका हकमा त्यो हुनेछैन।’
डब्ल्यूएचओको आपत्कालीन कार्यक्रमहरू हेर्ने कार्यकारी निर्देशक माइक रायनले समेत सो कार्यक्रममा त्यस्तै मत राखेका छन्।
‘हामीले यो वर्ष यस भाइरसलाई अन्त्य गर्ने छैनौँ। हामीले त्यसो कहिल्यै नगर्न सक्छौँ। महामारीका भाइरस हामीमाझ नै रहिरहन सक्छन्।’
उहाँले थप्नुभयो–’हामीले अन्त्य गर्न सक्ने भनेको स्वास्थ्य आपत्काल हो, तर प्रकोप भनेको पनि राम्रो कुरा होइन।’
“
के कोभिड अब प्रकोप बन्यो?
कोभिड सङ्क्रमण र त्यससँग जोडिएका लामो दायराका तथ्याङ्कको अभावले गर्दा वैज्ञानिकहरूले यसलाई खुलेर प्रकोप भनिरहेका छैनन्।
“यो [प्रवृत्ति] अझै राम्ररी देखिसकिएको छैन,” ब्रजिलको फेडरल यूनिभर्सिटी अफ इस्पिरितो सान्तोकी इपिडिमियोलोजिस्ट इथेल मासिएलले भन्नुभयो ।
अर्कोतर्फ खोप र विगतका अवस्थाले ठूलो जनसङ्ख्याो प्रतिरक्षा क्षमता सुधारेको छ। आवर वर्ल्ड इन डेटाका अनुसार विश्वका ५३ प्रतिशत मानिसहरू अहिले पूर्ण मात्रामा खोप लगाएका छन्।
यूनिभर्सिटी अफ वाशिङ्टन स्कूल अफ मेडिसिनको प्रक्षेपण अनुसार ओमिक्रोन भेरिअन्टको फैलावटका कारण सन् २०२२ को मार्चभित्र विश्वको ५० प्रतिशत मानिसहरू कोभिडबाट सङ्क्रमित भइसक्ने छन्। अर्कोतर्फ उच्च सङ्क्रमित दरले अवस्थालाई अनुमान गर्न कठिन बनाएको छ।
डा. मासिएल भन्नुभयो–’जब सङ्क्रमण निकै उच्च हुन्छ, जे पनि हुनसक्छ जसमा नयाँ भेरिअन्टको उत्पत्ति समेत रहन्छ।’
कोभिडको मृत्युदर त्यसबाट सङ्क्रमित हुनेका तुलनामा १ देखि २ प्रतिशतबिचबाट झरेर ०.२५ प्रतिशतमा झरेको छ। तर त्यो फ्लूभन्दा अझै २.५ प्रतिशत उच्च रहेको विज्ञहरूले बताएका छन्।
त्यसैले केहीले कोभिड प्रकोप बन्न सके तापनि अहिलेसम्म त्यसलाई फ्लू र रुघाखोकीसँग तुलना गरिहाल्न नसकिने तर्क राखेका छन्। बीबीसीबाट साभार