Logo
|
Friday 29th March 2024
Logo

epaper

महिलाहरु डिप्रेसनको शिकार हुने सम्भावना धेरै किन ?

विश्वमा २८ करोड मानिस डिप्रेसनबाट पीडित



जनस्वास्थ्य सरोकार । हामी सबैले हाम्रो जीवनको कुनै न कुनै बिन्दुमा उदास र निराश महसुस गरेको हुनुपर्छ । असफलता, संघर्ष र बिछोडको कारण दुखी हुनु सामान्य हो ।

तर यदि दुःखी, असहायता, निराशाजस्ता भावनाहरू केही दिनदेखि केही महिनासम्म रहिरहने र मानिसले आफ्नो दिनचर्या सामान्य रूपमा चलाउन नसकेमा त्यो डिप्रेसन भन्ने मानसिक रोगको लक्षण हुन सक्छ ।

डिप्रेशन एक साधारण मानसिक विकार हो । विश्वव्यापी रूपमा ६ प्रतिशत वयस्कहरू डिप्रेसनबाट ग्रस्त भएको यो अनुमान गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले १३ सेप्टेम्बर २०२१ मा प्रकाशित गरेको तथ्याङ्क अनुसार विश्वभर २८ करोड मानिस डिप्रेसनको समस्याबाट पीडित छन् । डिप्रेसनबाट विश्वका ३.८ प्रतिशत जनसंख्या प्रभावित छन् । जसमा ६० वर्ष मुनिका ५.० प्रतिशत र ६० वर्षमाथिका ५.७ प्रतिशत जनसंख्या डिप्रेसनको शिकार भएका छन् ।

डिप्रेसन भएको व्यक्तिले आत्महत्या गर्नसक्छ । संगठनका अनुसार, हरेक वर्ष आत्महत्याका कारण सात लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । १५–२९ वर्ष उमेर समूहमा मृत्युको चौथो प्रमुख कारण आत्महत्या भएको संगठनको ठहर छ ।

डिप्रेसन सामान्यतया किशोरावस्था वा ३० देखि ४० वर्षको उमेरमा सुरु हुन्छ तर जुनसुकै उमेर समूह पनि डिप्रेसनको शिकार हुनसक्छ । पुरुषको तुलनामा महिलाहरु डिप्रेसनको शिकार हुने सम्भावना बढी हुन्छ । मानसिक कारकहरू बाहेक, हार्मोनल असन्तुलन, गर्भावस्था र आनुवंशिक दोष पनि डिप्रेसनको कारण मानिएको छ ।

लक्षणहरूको संख्या र तीव्रताको आधारमा विभिन्न प्रकारका डिप्रेसनहरू छन् । जुन मध्यमदेखि धेरै गम्भीरसम्म हुन सक्छ, जसको सफल उपचारका लागि गहन परीक्षण आवश्यक हुन्छ ।

डिप्रेसनका लक्षण

  • हरेक दिन थकित र कमजोर महसुस गर्नु
  • अयोग्य वा दोषी महसुस गर्नु
  • ध्यान केन्द्रित रहन र निर्णयमा कठिनाई
  • लगभग हरेक दिन धेरै वा कम सुत्ने
  • सबै गतिविधिहरूमा सुस्तता
  • मृत्यु वा आत्महत्याको बारम्बार विचारहरू आउनु
  • सुस्त महसुस हुनु
  • अचानक तौल बढ्नु वा घट्नु

यदि कुनै व्यक्तिमा यस्ता लक्षण २ हप्ता वा त्यो भन्दा बढी भएमा डिएसएस–५ (परीक्षण प्रविधि) अनुसार उसलाई डिप्रेसन हुनसक्छ ।

आजकल डिप्रेसनका लागि विभिन्न उपचारहरू उपलब्ध छन् ।

एक मनोचिकित्सकले डिप्रेसनको प्रकार र गम्भीरताको आधारमा सही उपचार छनौट गर्दछ, जस्तै परामर्श, व्यवहार परिवर्तन, समूह थेरापी, औषधिहरू, वा मिश्रित दृष्टिकोण आदि । उचित उपचारपछि डिप्रेसनका अधिकांश बिरामीहरू पूर्णरूपमा निको भएर आफ्नो सामान्य जीवनमा फर्कन सक्षम हुन्छन् । डिप्रेसनबाट बच्न राम्रो मनोचिकित्सकको सल्लाह लिनु आवश्यक छ ।

डिप्रेसन एक धेरै सामान्य तर गम्भीर समस्या हो जसबाट बाहिर आउन एक व्यक्तिलाई चिकित्सकको सहायता चाहिन्छ । डिप्रेसन डिमेन्सिया होइन र डिप्रेसन भएका अधिकांश बिरामीहरू पूर्ण रूपमा निको हुन सक्छन् । यस समस्याबाट छुटकारा पाउन डाक्टर र बिरामीको साथसाथै उसको घर परिवार र साथीभाइको सहयोग अत्यन्त आवश्यक छ ।

डिप्रेसनबाट बच्ने उपाय

  • व्यायाम, योग र ध्यान गनआफूलाई काममा व्यस्ता राख्ने
  • सकारात्मक सोच्ने
  • एक्लै नबस्ने, साथीहरुसँग घुलमिल गर्ने
  • संगीत सुन्ने
  • नयाँ पुस्तकहरु पढ्ने
  • दुःखी गीतहरू नसुन्ने

शोधखोज

प्रतिक्रिया दिनुहोस्