Logo
|
Saturday 18th May 2024
Logo

epaper

सीमा नाकामा घट्दै कोरोना संक्रमितको संख्या



जनस्वास्थ्य सरोकार, बाँके । मुलुकमा कोरोना संक्रमण घटेसँगै सीमा नाकामा पनि संक्रमण घटेको पाइएको छ । बाँकेस्थित नेपाल भारत जमुनाहा नाका र कैलालीस्थित धनगढी नाकाबाट स्वदेश फर्कनेमा कोरोना परीक्षण गराउँदा संक्रमण घटेको पाइएको हो ।

कोरोना संक्रमणको तेस्रो लहर सुरु हुँदा भारतबाट आउने नेपालीमा संक्रमण बढेकोमा अहिले घटेको पाइएको छ । मुलुकभर कूल परीक्षण गराएका मध्ये ४.१ प्रतिशतमा मात्र संक्रमण रहेको छ ।

फागुन १२ गते ७ हजार ७ सय ४३ जनाको परीक्षण गराउँदा ३ सय १८ जनामा कोरोनासंक्रमण देखिएको थियो । भारतको विभिन्न प्रान्तबाट फर्किएकाको परीक्षण गर्दा संक्रमण घटेको पाइएको हो । फागुनयता सङ्क्रमित हुने सङ्ख्यामा कमी आएको जमुनाहा सीमा नाकाका स्वास्थ्य सहयोग कक्षका प्रमुख गीता शाहीले जानकारी दिनुभयो ।

फागुन १ गते नमूना परीक्षण गरिएका ३ सय ६७ मध्ये ८ जनामा संक्रमण देखिएको थियो भने फागुन ५ गते ३ सय २६, फागुन १० गते १ सय ५७ र फागुन १२ गते ३ सय १७ जनामा एन्टिजेन परीक्षण गर्दा कसैलाई पनि संक्रमण नदेखिएको शाहीले बताउनु भयो ।


यस्तै फागुन २ गते २९५ मा तीन, फागुन ३ गते १६३ मा दुई, फागुन ४ गते ३४० मा तीन, फागुन ६ गते ३१५ मा चार, फागुन ७ मा २३२ मा एक, फागुन ८ गते २ सय ८३ मा तीन, फागुन ९ गते १ सय ७५ मा एक र फागुन ११ गते ३ सय १७ मा परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको थियो ।

तेस्रो लहर सुरु भएसँगै नाकामा सबैभन्दा बढी पुस १८ गते ६ सय ६० जनामा परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको थियो । सिनियर अनमी शाहीले अहिलेसम्म संक्रमण देखिएकामध्ये दुई जनालाई मात्र लक्षण देखिएको बताउनु भयो । सहायता कक्षले भारतबाट नेपाल आउनेलाई कोरोना भाइरसविरुद्धको खोप पनि लगाउने गरेको छ ।

यस्तै कैलाली–कञ्चनपुरको भारत नाका जोड्ने त्रिनगर स्वास्थ्य सहायता कक्षका प्रमुख गणेशबहादुर साउँदले पनि भारतबाट आउने नेपालीमा संक्रमण कम देखिने गरेको बताउनु भयो । उहाँको अनुसार फागुन १२ गते २ सय ०१ जनाले परीक्षण गराउँदा कसैमा पनि संक्रमण देखिएन । उहाँले भारतबाट नेपाल फर्कने नेपालीको कोभिड–१९ परीक्षण गर्दा दुई हप्तादेखि संक्रमण घटेको बताउनु भयो ।

स्वास्थ्य सहायता कक्षका प्रमुख साउदका अनुसार तेस्रो लहरको संक्रमण हुँदा एकै दिन नाकामा १ सय ३७ जनामा पनि संक्रमण देखिएको थियो । पुस ३० गते एकै दिन १ सय ३७ मा संक्रमण देखिएको थियो । यस्तै पुस २९ गते ८ सय ६२ जनामा परीक्षण गर्दा १ सय ३५ जनामा संक्रमण देखिएको थियो । कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि सीमा नाकामा पुस १७ गतेदेखि माघ २० गतेसम्म संक्रमण सङ्ख्या बढेको बताउनु भयो ।

उक्त नाकाबाट दैनिक भारतको महाराष्ट्र, मुम्बई, दिल्ली, बैङ्लौर, पुनालगायत प्रान्तबाट दैनिक ४०० देखि ५०० मानिसहरु स्वदेश फर्किरहेका छन् । साथै स्वदेश आउने नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप पनि प्रदान गरिरहेको जानकारी प्रमुख साउदका दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्