Logo
|
Friday 3rd May 2024
Logo

epaper

‘बेलायतको मेमोरी सर्भिस सेवा’ जहाँ जाँच पड्तालपछि डिमेंसिया भएनभएको छुट्याइन्छ



प्रतिकात्मक तस्बिर

जनस्वास्थ्य सरोकार । बेलायतका मिस्टर ब्राउन ८० वर्षका भए । उनी श्रीमतीसँग घरमा राम्रोसँग जीवन व्यतित गरिरहेका थिए । छोराछोरी पनि घर नजिकै बस्थे र समय समयमा आमाबुवालाई भेटघाट गरिरहन्थे ।

करिब तीन महिना अगाडि उनकी श्रीमतीलाई घुँडा दुख्ने समस्याले अस्पताल भर्ना हुनुपर्यो । एक हप्तासम्म एक्लै बस्नु पर्दा ब्राउनको हालत खराब हुनथाल्यो । न खाने ठेगान न लगाउने । आफ्नो सरसफाइसँगै घरको पनि दुर्दशा हुनथाल्यो । सामानहरु जथाभावी घरभरी छरिए ।

एक हप्ता पछि बुढी अस्पतालबाट घर फर्किइन । तर, उनले आफ्नै बुढालाई चिन्न सकिनन् । खाना नखाएर दुब्लो, दाह्री बढेको र लुगाभरी दाग लागेर चुपचाप बसीरहेको मान्छे देख्दा उनलाई चिन्न गाह्रो पर्यो ।

यस विषयलाई लिएर ब्राउन परिवारमा अब के गर्ने भन्ने विचार– विमर्श सुरुभयो । एक हप्ता पनि एक्लै बस्न नसक्ने अवस्था चिन्ताजनक हुनसक्ने भन्दै उनलाई तुरुन्तै जेनेरल प्राक्टिसनर (जी पी) कहाँ देखाउन लगियो । त्यहाँका डाक्टरले डिमेंसियाको शंका गरेर नजिकको मेमोरी सर्भिसमा रेफर गरिदिए ।

मेमोरी सर्भिसबाट दुई हप्ता भित्र चिठ्ठी आयो । चिठ्ठीमा मेमोरी नर्स घरमै आएर प्रारम्भिक परीक्षण गरिने उल्लेख थियो । स्वास्थ्य परीक्षण हुने दिन छोराछोरी सहित ब्राउन परिवार पर्खेर बसे ।

मेमोरी नर्सले बिर्सिने समस्या कहिले देखि सुरु भएको, समस्या विस्तारै कि एक्कासी आएको भन्ने प्रश्नमा ब्राउनले अलिअलि भुल्ने समस्या पाँच वर्ष अगाडि नै सुरु भएको बताए । उनले भने–‘उमेरले गर्दा अलि सुस्त भएको होला भनेर त्यति विचार गरिएन ।’

नर्सले गाडी चलाउनु हुन्छ कि हुँदैन भन्ने प्रश्नमा ६ महिना अगाडि वान वे सडकमा गाडी चलाईरहेको बेला पुलिसले समातेको कुरा खोले । त्यतिबेला पुलिसले यस्तो गल्ती फेरी नगर्नु भनी चेतावनी दिएको रहेछ । पुलिसको चेतावनी पछि ब्राउन यति आत्तिए कि उनले गाडि चलाउने हिम्मतनै गर्न सकेनन् ।

त्यसपछि मेमोरी नर्सले ब्राउनको स्वास्थ्य अवस्था, शिक्षा, पेशा र धुम्रपान मद्यपान गर्ने/नगर्नेबारे सोधपुछ गरिन ।

परीक्षणको दोस्रो चरणमा ब्राउनको वर्तमान मानसिक मनोदशा तथा मेमोरी, भाषा, कुरा बुझेर सही उत्तर दिने क्षमता, इत्यादी सम्भावित गतिविधिको परीक्षण गरियो । मिनी मेन्टल स्टेट एक्जामिनेसन जाँचमा १५/३० मात्र स्कोर आयो । यो जाँचमा २४÷३० भन्दा कम स्कोर आँउदा डिमेंसिया हुने सम्भावना बढी हुन्छ ।

एक घण्टापछि, ब्राउनको केसलाई आफ्नो टिमको मानसिक रोग विशेषज्ञसँग छलफल गरेर अगाडि के गर्ने भन्ने सूचना अर्को हप्ता दिने आश्वासन दिएर मेमोरी नर्स फर्किइन् ।

टिमको विशेषज्ञ डाक्टरले ब्राउनको मस्तिष्कको सीटी स्क्यान गर्न सिफारिस गरे । सिटी स्क्यानको रिपोर्ट आएपछि ब्राउनलाई मेमोरी डायग्नोस्टिक क्लीनिकमा बोलाइयो । ब्राउनको पहिलेको रिपोर्ट, पुन : मानसिक परीक्षण तथा विशिष्ट कग्नीटीभ परीक्षण र सीटी स्क्यानको रिपोर्टको आधारमा ब्राउनलाई अल्जाइमर्स डिमेंसिया भएको पुष्टि भयो ।

डाक्टरले अल्जाइमर्स डिमेंसिया रोग र भविष्यमा हुनसक्ने प्रभावबारे ब्राउन परिवारलाई सविस्तार सम्झाए । त्यसपछि डाक्टरले डोनेपेजिल औषधि लेखिदिए । पहिलो पटक तीन महिनामा मेमोरी क्लिनिकमा स्वास्थ्य जाँच गर्न आउन भनियो । तीन महिनापछि ब्राउनको कुरा स्पष्ट हुनथाल्यो । पहिले चुपचाप बसिरहने उनी घरको कामकाजमा चासो लिन थालेपछि सबै दंग परे ।

त्यसबीच मेमोरी नर्स पुन : एक पटक ब्राउन परिवार पुगेर ब्राउनको श्रीमतिलाई अरु कुनै व्यावहारिक सहयोगको आवश्यकता, आर्थिक अवस्था, इत्यादि कुराहरुबारे के कसरी गर्ने सुझाव दिइन् ।

तीन महिनापछि मेमोरी क्लिनिक सामान्य मानसिक परीक्षण गर्दा स्कोर १५/३० बाट बढेर १७/३० पुगेको थियो । औषधिले राम्रोसँग काम गरेको र कुनै नकारात्मक असर नभएकाले पुन : ६ महिनाको औषधि दिएर प्रत्येक ६ महिनामा जँचाई सित्तैमा औषधि सेवा दिइयो ।

विकसित देशमा बिर्सने व्यक्तिहरुको लागि विशेष व्यवस्था गरिएको छ । बेलायतको जनसंख्या करिब छ करोड छ, अर्थात् नेपालको दोब्बर ।

त्यहाँ स्वास्थ्य सेवा निशुल्क प्रदान गरिन्छ । प्रत्येक व्यक्तिले नजिकको फेमली डाक्टर अर्थात जेनरल प्राक्टिसनरको क्लिनिकमा अनिवार्य नाम दर्ता गराउनुपर्छ । ती जेनरल प्राक्टिसनर एमबीबीएस पास भई तीन वर्ष थप तालिम लिएका अनुभवी डाक्टर हुन् ।

स्वास्थ्य सम्बन्धी कुनै समस्याको भएमा सर्वप्रथम जी.पी.कहाँ जानुपर्छ ।

डा. अरुण झा भन्नुहुन्छ–‘सानातिना रोगको उपचार जेनरल प्राक्टिसनरले गर्छन् । यस व्यवस्थालाई प्राइमरी केयर भनिन्छ । यो नेपालका गाँउहरुमा रहेका हेल्थपोस्ट सरह नै हो तर फरक के हो भने, हामी कहाँ तीन चार हजार जनसंख्याको लागि एक जना जी.पी.हुन्छ ।’

बेलायतमा कसैलाई असामान्य तरिकाको बिर्सने समस्या पर्दा सर्वप्रथम आफ्नो जी.पी. कहाँ जाँदा सामान्य जाँच पड्तालपछि कुनै तनाव वा अन्य कुनै शारीरिक रोग छ भने त्यसको उपचार गरिदिन्छन् वा त्यस्तो कुनै कारण नपाएको खण्डमा नजिकको मेमोरी सर्भिसमा पठाइन्छ । यो निशुल्क स्वास्थ्य सेवा हो, जहाँ विभिन्न प्रकारका जाँच पड्तालपछि डिमेंसिया छ वा छैन छुट्याइन्छ ।

प्रतिक्रिया दिनुहोस्