Logo
|
Tuesday 16th April 2024
Logo

epaper

राजा महेन्द्रको हृदयघातपछि मुलुकमा क्रिटिकलकेयर कन्सेप्ट !



सन् १९७२ मा राजा महेन्द्रको चितवनमा शिकार खेल्न गएको बेला हृदयघातले निधन भयो । त्यो बेला उहाँ ५१ वर्षको हुनुहुन्थ्यो । त्यो बेलामा आईसियूको व्यवस्था थिएन । आई.सि.यू.कै अभावले राजा महेन्द्रलाई बचाउन नसकेपछि मुलुकमा आई.सि.यू सेवाको आवश्यकता महसुस भयो । त्यसको लगत्तै सन् १९७३ तिर वीर अस्पतालमा ५ शय्याको मेडिकल आई.सि.यू. युनिट सेवा शुरु गरियो । त्यो बेला आई.सि.यू. सेवा राजपरिवारका सदस्यबाहेक सर्वसाधारणलाई बन्देज थियो । त्यो बेला बीर अस्पतालमा बनाइएको आई.सि.यू. युनिट त्यति व्यवस्थित थिएन ।

भूईंतलाको कुनाको कोठामा माया मारेर फाल्ने ठाउँ जस्तो थियो । दुई दशकसम्म यसरी नै चल्यो । जब त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) को स्थापन भयो, तब आई.सि.यू. सेवाको विस्तार शुरु भयो । शुरुमा ८ वेडको मेडिकल आई.सि.यू. शुरु पश्चात् क्रिटिकल केयर युनिट बनाउन थालियो र सर्वसाधारणको पहुँचभित्र आई.सि.यू.सेवा पुग्न थाल्यो ।

क्रिटिकल केयर युनिट (आईसियू) के हो ?

सामान्यतया सबैभन्दा सिकिस्त र गम्भीर अवस्थाका बिरामीलाई अस्पतालको विशेष इकाईमा राखेर प्रदान गरिने उपचार सेवालाई सघन उपचार कक्ष (आई.सि.यू.) वा क्रिटिकल केयर युनिट (सि.सि.यू) भनिन्छ । बिरामीको शरीरमा संक्रमणको अवस्था, अंगमा भएको क्षतिको आधारमा बिरामी बाँच्ने वा नबाँच्ने भन्ने कुराको आँकल गरिन्छ । वास्तवमा क्रिटिकल केयरमा साइन्टिफिक स्कोरिङ सिस्टमले बिरामी बाँच्ने सम्भावना कति छ भन्ने देखाउँछ र त्यहि अनुसार बिरामीका आफन्तलाई सल्लाह दिन जरुरी हुन्छ ।

सरकारी र निजी क्षेत्रको पहलमा आई.सि.यू. सेवा बढाएर केही हदसम्म मृत्युदर घटाउन मद्धत गरेको भएपनि सन्तोषजनक उपलब्धी प्राप्त भएको पाइँदैन ।

दुर्घटनाबाट शरीरका विभिन्न महत्वपूर्ण अंगहरुमा चोट (पोलिट्रमा) र विभिन्न रोगको अत्यधिक संक्रमणले मानिसलाई क्रिटिकल केयर युनिटमा पुर्याउन सक्छ । नेपाललगायत दक्षिण पूर्वी एसियाका देशहरुमा संक्रमण नै प्रमुख समस्या हो । जस्तोः फोक्सोको संक्रमण, आन्द्राको संक्रमण आदि । नेपालका कतिपय ठाउँहरुमा सिटामोल खाएर ज्वरो कम गर्दै बसेका बिरामीहरुमा संक्रमणले च्यापेको धेरै उदाहरणहरु पाइन्छ । ठूला दुर्घटनामा परी करङका हड्डीहरु भाँचिएको, टाउकोभित्र रगत जमेर चेतना कम भएको वा बेहोस् भएको, कलेजो, फियोलगायतका महत्वपूर्ण अंगमा चोट लागेर पेटमा रगत जमेर शल्ययक्रिया गर्नुपर्ने, फोक्सोमा रगत जमेको अवस्थाका बिरामीलाई क्रिटिकल केयर युनिटमा पुग्छन् ।

यस्ता बिरामीहरु पिसाब कम हँुदै गएपछि र विभिन्न अंगमा असर गर्न थालेपछि मात्र अस्पताल आउने गर्छन् । क्लोज्डर ओपन गरीआई.सि.यू.दुई प्रकारका हुन्छन् । क्लोज्ड आई.सी.यू.मा बिरामी पुगेपछि भित्रकै डाक्टरबाट केयरको व्यवस्था हुन्छ । तर ओपन आई.सी.यू.मा भित्रको डाक्टर र बाहिरको डाक्टर मिलेर काम गरिएको हुन्छ । यसमा गोल्डेन आवर (सुनौलो घण्टा) को एकदमै महत्वपूर्ण भुमिका हुन्छ ।

आकस्मिक दुर्घटनामा परेका बिरामीका लागि समय भनेकै ज्यान हो । क्रिटिकल अवस्थाका बिरामीलाई अस्पताल पुर्याएर एक घण्टाभित्र उपचार शुरु गरिसकेको अवस्थामा मृत्युदर कम हुने र बिरामी बाँच्ने धेरै सम्भावना रहन्छ । यसरी रोगलाई छिटो पत्ता लगाएर समयमै उपचार पाएमा रोग फैलिन पाउँदैन ।

सघन उपचार कक्षका प्रकार

  • कोरोनरी इन्टेन्सिभ केयर युनिट (सि.सि.यू.) अथवा सि.आई.सि.यू.
  • मेडिकल इन्टेन्सिभ केयर युनिट (एम.आई.सि.यू.)
  • सर्जिकल इन्टेन्सिभ केयर युनिट (एस.आई.सि.यू.)
  • पेडियाट्रिक इन्टेन्सिभ केयर युनिट (पि.आई.सि.यू.)
  • न्युरोसाइन्स क्रिटिकल केयर युनिट (एन.सि.सि.यू.)
  • ओभरनाइट इन्टेन्सिभ रिकभरी (ओ.आई.आर.)
  • सक/ट्रमा इन्टेसिन्भ केयर युनिट (एन.टि.आई.सि.यू.)
  • निओनेटल इन्टेन्सिभ केयर युनिट (एन.आई.सि.यू.)
  • इमेर्जेन्सी इन्टेन्सिभ केयर युनिट (ई.आईं.सि.यू.)

इन्भेसिभ मोनिटरिङ टेक्निक

इन्टेन्सिभ केयर मेडिसिन त्यस्तो चिकित्सा विशेषज्ञता हो जसले सिकिस्त र जोखिममा रहेका बिरामीहरुलाई सामान्य अवस्थामा ल्याउन कोशिस गर्दछ । साथै लाइफ सपोर्ट, इन्भेसिभ मोनिटरिङ टेक्निकहरु प्रयोग गरेर अन्तिम अवस्थामा पुगेका व्यक्तिहरुको चुनौतिपूर्ण जीवन हेरचाहमा मद्धत गर्दछ । विभिन्न समस्या एवं संक्रमणका कारण मुटु, फोक्सो, मिर्गौला, टाउको लगायतका महत्वपूर्ण अंगहरुमा असर पुगेका बिरामीहरुका लागि क्रिटिकल केयर मेडिसिनको जरुरत पर्छ । इन्टेन्सिभ केयर मेडिसिनलाई क्रिटिकल केयर मेडिसिन पनि भनिन्छ । यस विषयमा अध्ययन गरेका विशेषज्ञहरुलाई इन्टेन्सिभ केयर फिजिसियन, क्रिटिकल केयर फिजिसियन वा इन्टेन्सिभिष्ट भनिन्छ ।

यसमा मल्टिडिसिप्लेनरी टिमको संलग्नता रहेको हुन्छ जसमा डाक्टर, नर्स, पारामेडिक्स, फिजिकल थेरापिष्ट, फर्मासिष्टलगायतका व्यक्ति उपलब्ध हुन्छन् । सँगसँगै रहेर उनीहरुलेसेवा प्रदान गर्दछन् । क्रिटिकल केयर मेडिसिनमा सिकिस्त बिरामीको अंग सपोर्ट गर्न विभिन्न प्रविधिहरु प्रयोग गर्नुपर्छ । जस्तोः फोक्सोको समस्या भएमा भेन्टिलेटर, मिर्गौलामा समस्या भएमा डायलाइसिस, ब्लड प्रेशर कम भएमा मुटुलाई सपोर्ट गर्ने विभिन्न औषधिको प्रयोग आदि । यसरी क्रिटिकल केयरअन्तर्गत विभिन्न प्रविधिको प्रयोग गर्दै लाभदायक औषधिको माध्यमबाट सिकिस्त बिरामीको संक्रमण नियन्त्रण गर्ने र खराब भएका अन्य अंगसमेतलाई सपोर्ट दिएर छिटो भन्दा छिटो बिरामीको ज्यान बचाउने कोसिस गरिन्छ ।

आई.सि.यू. वर्गिकरण

विकसित मुलुकहरुमा आई.सी.यू. लाई लेवल थ्री, लेवल टू र लेवल वनमा वर्गिकरण गरेर उपचार सेवा गरिन्छ । जस्तोः टाउको र नसासम्बन्धि सिकिस्त बिरामी न्युरो आई.सी.यू., पेटको र कलेजोको बिरामी ग्याँस्ट्रो आई.सी.यू., शल्यक्रिया मात्र गरिएको बिरामी सर्जिकल आई.सी.यू., मेडिकलसम्बन्धि भएमा मेडिकल आई.सी.यू.मा राखेर उपचार गर्नुपर्छ । तर नेपालमा आई.सि.यू.को वर्गिकरण गरिएको छैन ।

लेवल थ्री आई.सि.यू.

मल्टी अर्गान सपोर्ट गर्ने सबै सिस्टम भएको आई.सि.यू. लेवल थ्री आई.सि.यू. हो । लेवल थ्री आई.सि.यू.को हरेक वेडमा मोनिटर, भेन्टिलेटर, इको, अल्ट्रासाउण्ड, डायलाईसिस मेसिनलगायत सम्पूर्ण सुविधा हुुनुपर्छ । लेवल थ्री आई.सी.यू.मा एकजना बिरामी हेरचाहमा एक जना नर्स अनिवार्य आवश्यक पर्छ रएकजना चिकित्सक २४ सै घण्टा उपलब्ध हुनुपर्छ ।

लेवल टू आई.सी.यू.

कम सिकिस्त तर सामान्य वार्डमा पठाउन नसक्ने बिरामी राख्ने आई.सि.यू. लेबल टू आई.सि.यू हो । यसलाई स्टेप डाउन वा हाइकेयर युनिट पनि भनिन्छ । यो आई.सि.यू. मा अंगहरु सपोर्ट सिस्टम चलाइँदैन । बिरामीलाई भेन्टिलेटरमा राखिएको हुँदैन र ब्लडप्रेसर बढाउने औषधि पनि चलाइँदैन । तर बिरामीको अवस्था बिग्रिएमा लेवल ३ मा लैजानुपर्ने अवस्थाका बिरामी यस प्रकारको आई.सि.यू.मा राख्ने गरिन्छ । लेवल टू आई.सि.यू. मा एक जना नर्सले २ जना सम्म बिरामी केयर गर्न सक्छन् ।

लेवल वन आई.सी.यू.

बिरामीको कुनै पनि अंगमा खराबी आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर सतर्कता अपनाई अवलोकनमा राख्ने आई.सी.यू.लेवल वन आई.सी.यू.हो । यसमा सामान्य खालको मोनिटर सिस्टम हुन्छ । लेवल १ आई.सी.यू.मा एकजना नर्सले ३—४ जना सम्म बिरामी हेरचाह गर्न सक्छन् । अस्पतालहरुमा वेड संख्याको आधारमा जति धेरै आई.सी.यू. वेड भयो त्यति नै राम्रो मानिन्छ । यद्यपी वेड संख्याको आधारमा करिब १० प्रतिशत आई.सी.यू. वेड हुन अनिवार्य हुन्छ । निजी अस्पतालहरुमा आई.सी.यू. वेड आम्दानीको राम्रो स्रोत भएकाले पर्याप्त राखिएको पाइन्छ ।

औषधिको प्रोटोकल र सतर्कता

आई.सी.यू.मा आउने बिरामीको रोग अनुसार प्रयोग गर्ने औषधिको प्रोटोकल बनाउनुपर्छ । जस्तोः ब्लड प्रेसर ‘लो’ भई जीर्ण अवस्थामा पुगेको मुटु सर्पोट गर्ने आई.ए.बि.पि. र एक्मो मेसिनको उपलब्धता आदि ।

क्रिटिकल केयरमा पुगेका बिरामीको मुटुको पम्पीङ पावर बढाउन विभिन्न औषधि चलाउनुपर्ने हुन्छ भने संक्रमण र सेप्सिस रोक्न हाइ डोजमा एन्टिबायोटिक औषधि चलाउनुपर्छ । यस्ता औषधि एकैपटक दिन नमिल्ने कारण स्लाइनबाट बिस्तारै समय लगाएर दिनुपर्छ । कतिपय औषधि बाफबाट दिनुपर्छ । आई.सी.यू.मा संक्रमण रोकथाममा निकै ध्यान दिनुपर्छ ।

आई.सी.यू.मा बिरामी भेट्न आउने व्यक्तिहरुमा निमोनिया, पेट, आन्द्राको इन्फेक्सन पनि हुनसक्ने भएकाले उनीहरुबाट बिरामीमा पनि सर्नसक्ने सम्भावना भएकाले यसबारे विशेष ख्याल गर्नुपर्छ । डाक्टर र नर्सले एउटा बिरामीलाई छोएपछि अर्कोलाई हात सफा गरेर मात्र छुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्