Logo
|
Friday 19th April 2024
Logo

epaper

विश्व मिर्गौला दिवस २०२२ : ‘मिर्गौला स्वास्थ्य सबैका लागि’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा हरेक दिन मिर्गौला रोगका बिरामी बढिरहेका छन् । अस्वस्थकर खानपान, जीवनशैली र नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मिर्गौला रोगका बिरामीहरु थपिँदै गएको चिकित्सकहरु बताउँछन् ।

नेपालमा हरेक वर्ष ३ हजार पाँच सय जनाको मिर्गौलामा खराबी आउने गरेको तथ्याङ्क छ । नेपालको कुल जनसंख्यामध्ये १० प्रतिशतमा कुनै न कुनै समयमा मिर्गौला रोग लाग्ने गरेको पाइएको छ ।

मिर्गौला रोगको समयमै पहिचान हुन सके मानिस स्वस्थ हुने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्ले बताउनुहुन्छ । कम्तिमा वर्षको एकपटक पिसावको परीक्षण गर्दा मिर्गौलाको अवस्थाबारे थाहा पाउन सकिने उहाँको भनाई छ । उहाँले स्वास्थ्य परीक्षण नगरी सुरुवाती चरणमा मिर्गाैला बिग्रिएको थाहा नहुने भन्दै ९० प्रतिशत मिर्गौला बिग्रिएपछि मात्रै बिरामीमा लक्षण देखिने गरेको बताउनुभयो ।


डा. काफ्ले भन्नुहुन्छ –‘स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै हुँदैन । स्वास्थ्य अवस्था जटिल भइसकेपछि मात्र उपचारमा जाने प्रवृतिले समस्या झनै जटिल बनाएको छ ।’

उहाँले नेपालमा मिर्गौैलाका बिरामीलाई सरकारले डायलाइसिस निःशुल्क गरेको भएपनि मिर्गौला सम्बन्धी रोग लाग्नै नदिन मानिसहरु अझै सचेत हुन नसकेको उल्लेख गर्नुभयो ।


डा. काफ्लेले विहान उठ्ने वित्तिकै पानी पिउने, हिडडुल गर्ने, बेलैमा सुत्ने र उठ्ने, धेरै गुलियो तथा चिल्लो नखाने, उचाई अनुसार तौल व्यवस्थापन गरेमा मिर्गौला रोगबाट बच्न सकिने बताउनुभयो ।

सरकारले मिर्गौला रोग लागेका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, आवश्यक उपचार तथा औषधिका लागि एक लाख रुपियाँ सहयोग गर्दै आइरहेको छ । स्वास्थ्य मन्त्रालयले मिर्गौलाको उपचार र डायलाइसिसका लागि ७० वटा अस्पताललाई सूचीकृत पनि गरेको छ ।

आज विश्व मिर्गौला दिवस २०२२ विश्वभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ । यसवर्षको विश्व मिर्गौला दिवसको नारा ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ तय गरिएको छ । सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्