Logo
|
Monday 23rd December 2024
Logo

epaper

कोभिडमा आईसियूः कस्तो अवस्थामा बिरामी बचाउन सकिन्छ ?




जब कोभिड आयोे, यसबारे सबै अनभिज्ञ थिए । रोगबारे कसैलाई केही थाहा थिएन । यो रोग कसरी सर्छ ? यसले शरीरमा के कस्ता जटिल समस्या निम्त्याउँछ ? उपचार विधि के के हुन् ? लगायतका प्रश्नबारे धेरै जानकारी थिएन । बिरामीहरुको उपचार गर्दा गर्दै मरिने डर थियो । सुरुमा धेरै अस्पतालले बिरामी भर्ना र उपचार गर्न चाहेनन् । तर हामीले हिम्मत गरेर उपचार शुरु गर्यौँ ।

हाम्रो क्रिटिकल केयरमा काम गर्ने अधिकांश जनशक्तिहरु (इन्टेन्सिभिष्ट) नेपाललगायत युके, अमेरिका, सिंगापुर, क्यानडा र भारतमा तालिम पाएर आएका छन् । यसले प्रत्यक्ष फाइदा पुग्यो ।

धेरै वर्ष पहिला सार्स इन्फ्युएन्जाको महामारी फैलिएको थियो । त्यतिबेला उपचारमा संलग्न धेरै डाक्टर र नर्सहरु पनि मरेका थिए । विदेशीहरुले त्यसबाट पाठ सिकिसकेका थिए । उनीहरुले अस्पतालमा श्वासप्रश्वास सम्बन्धी रोग लिएर आउने बिरामीहरुले यस्तै नयाँ महामारी फैलाउन सक्छन भनेर बुझेका थिए । बिरामीको रोग आफूलाई सर्न सक्छ र आफूले अरुलाई सार्न सकिन्छ भनेर हाम्रो तालिम नै सिकाइएको थियो ।


हुन त पीपीइ, फेशशिल्ड पहिले देखिनै प्रयोग गरिदै आएका साधन हुन् । तर नेपालमा कोभिडपछि यो चर्चित भयो । विदेशमा तालिम लिँदा हामीले सबै सिकेर आएका थियौँ । कोभिड आउनुअघि नै अस्पताल स्थापनाको पहिलो दिनदेखि नै इन्फेक्सन कन्ट्रोल पोलिसी लागू गरेका थियौं । यसले गर्दा कोभिडका बिरामी उपचार गर्नमा सहयोग भयो क्षयरोगका बिरामीहरुको उपचार गर्दा पहिले देखिनै एन ९५ मास्क र फेस शिल्ड प्रयोग गर्दै आइरहेका थियौँ । त्यस्तै एक बिरामीबाट अर्को बिरामी र बिरामीबाट स्वास्थ्यकर्मीमा नसर्ने तरिकाले आइसियू कक्षको व्यवस्था गरिएको थियो । आइसियू भित्र पनि छुट्टै क्याविनको व्यवस्था गर्नुपर्छ जुन हामीले गरेका छौं । बिरामीको उपचार गर्दै जाँदा धेरै चुनौतिको सामना भने गर्नु नै प¥यो ।

आईसियू रिकभरी दर
कुनै बिरामीको एक भन्दा बढी अंग (मल्टिपल अर्गान) फेल भएको अवस्थामा भेन्टिलेटर, औषधि वा मोनिटरिङ सपोर्टको आवश्यकता पर्दछ । यस्ता जटिल अवस्था भएका बिरामीलाई आइसियूमा राख्नुपर्छ । उसलाई एक जना नर्सले २४ सै घण्टा रेखदेख र अवलोकन गर्नुपर्छ । मोनिटरमा इसिजी र अक्सिजनको मात्रा घटबढ भएनभएको हेरिरहनुपर्छ ।


वास्तवमा एक भन्दा बढी अंग फेल भएको संकेत देखिएमा सम्भावित जोखिम टार्न बिरामीलाई आइसियूमा राख्ने हो । अंग फेल हुन अगावै आइसियूमा राख्न सकेमा बिरामीको ज्यान जानबाट जोगाउन सकिन्छ ।

अर्को कुरा बिरामीहरु आइसियूमा जाने वित्तिकै सबै मर्छन् भन्ने हुँदैन । आजभन्दा १० वर्ष पहिले क्रिटिकल केयर फिजिसियन, नर्स नहुँदा धेरै विरामीको आइसियूमा मृत्यु हुने गर्दथ्यो । हामी पढ्नेबेला पनि अवस्था त्यस्तै थियो । अहिले समय परिवर्तन भइसकेको छ । अहिले आइसियूमा आएका ८० देखि ९० प्रतिशत बिरामीहरु निको भएर घर फर्किएको पाएको छु । भेन्टिलेटरमै राख्नुपर्ने अवस्थाका पनि बिरामीको मृत्युदर ३० प्रतिशतभन्दा बढी छैन । १० वर्ष अघि भेन्टिलेटरमा राखेका बिरामी प्रायः कोहि बाँच्दैनथे ।


मल्टि अर्गान फेल
कोभिडले धेरैमा फोक्सोको खराबी (निमोनिया) बढाएको पाएको छौँ । निमोनिया भएको केहि बिरामीलाई भेन्टिलेटर नै चाहिँदैन । कतिपय बिरामीलाई भने भेन्टिलेटरमा राख्नुपर्ने हुनसक्छ । कोरोना भाइरस संक्रमणले फोक्सोमा असर पु¥याएपछि अन्य किटाणु वा फंगसका कारण संक्रमणलाई थप बढाउन सक्छ । यस्तो अवस्थामा मिर्गौलामा खराबी, ब्लडप्रेसर कम हुने, मुटु कमजोर हुने जस्ता जटिल समस्या देखिन सक्छन् ।
सुरुका दिनमा औषधि नै थाहा नभएकाले धेरैले ज्यान गुमाउनुपरेको थियो । त्यस्तै बृद्धबृद्धा, दीर्घ रोगी, विभिन्न रोगका औषधि खाइरहेका, मोटोपन भएका, रोग सँग लड्ने क्षमता कम गराउने औषधि खाइरहेका व्यक्तिहरुको कोभिड संक्रमणबाट मृत्यु हुने सम्भावना बढी हुन्छ । त्यसैले कोरोना संक्रमण भएर स्वास्थ्यमा समस्या देखिने बित्तिकै अस्पताल पुगेका बिरामीलाई बचाउन सकिन्छ । एकदुइओटा राम्रा औषधिहरु पनि छन् जसको प्रयोगले बिरामी बाँच्ने दरनै बढ्ने र आइसियूमा आउनुपर्ने दर घटेर जान्छ । ति औषधि बिरामीहरुलाई छिटै चलाउन सकेमा प्रतिक्रिया राम्रो आउँछ । फोक्सो बिग्रन पाउँदैन ।

आइसियू चाहिने बिरामी कसरी पहिचान गर्ने ?
एक भन्दा बढी अंग फेल भएको वा अंग फेल हुने सम्भावना भएका बिरामीलाई आइसियूमा राख्नुपर्छ । आईसियू आवश्यक पर्ने अवस्था पहिचान गर्ने धेरै आधारहरु छन् । जस्तोः एक लिटर अक्सिजन भएपुग्ने बिरामीलाई १२ घण्टापछि बढेर १२ लिटर अक्सिजन आवश्यक परेमा स्वास्थ्य अवस्था बिग्रन थालेको पहिचान गर्न सकिन्छ । यसैगरी सुरुमा राम्रोसँग भएको पिसाब बिस्तारै घटेमा मिर्गौलाको समस्या भएको बुझ्नुपर्छ आदि ।

यसरी उच्चरक्तचाप, बिरामीको होस, निमोनियाको अवस्था, मिर्गौलाको क्षमता, कलेजोको क्षमता, अक्सिजनका आवश्यकताका आधारमा विरामीको अवस्थालगायत विभिन्न स्कोरिङ सिस्टमका आधारमा समस्या पहिचान गरिन्छ ।

मल्टिडिसिप्लिनरी सपोर्ट
आइसियूमा टिमवर्कको महत्वपूर्ण भूमिका रहन्छ । इन्टेसिभिस्ट एक्लैले आइसियू चलाउन सक्दैन । त्यहाँ एक जना बिरामीलाई एक जना नर्सको जरुरत पर्छ । २४ सै घण्टा कन्सल्ट्यान्ट डाक्टर चाहिन्छ । त्यस्तै फिजियोथेरापिष्ट, फर्मासिस्ट, माइक्रोबायोलोजिष्ट र डाइटिसियनको भूमिका उल्लेख्य हुन्छ । यसैगरी पल्पोनरी, कार्डियोलोजी, इन्फेक्सियस डिजिज, रेडियोलोजी, नेफ्रोलोजी, सर्जरी, न्युरोलोजी आदि मल्टिडिसिप्लिनरी सपोर्ट आवश्यक पर्छ । आइसियूमा तालिमप्राप्त नर्सको आवश्यकता पर्छ । टिमको एक सदस्यले भरपर्दो निर्णय लिन नसक्दा बिरामीको आउटकममा फरक पर्छ ।
(डा. कोइराला ह्याम्स अस्पतालको आइसियू इन्चार्ज हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्