निद्रासँग एन्जाइटी डिसअर्डर, डिप्रेसन, म्यानिया, सिजोफ्रेनियाको सिधा सम्बन्ध
८ घण्टा काम, ८ घण्टा निद्रा र ८ घण्टा मनोरञ्जन
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्यका लागि निद्रा अपरिहार्य छ । प्रयाप्त निद्रा भएमा शरीर स्वस्थ्य र हल्का हुन्छ । यद्यपी २४ घण्टामध्ये ८ घण्टा काम, ८ घण्टा निद्रा र ८ घण्टा मनोरञ्जन लिन आवश्यक भएको मनोविद्हरु बताउँछन् । प्रयाप्त निद्रा नपुगेमा शरीर आलस्य हुने र विभिन्न मानसिक समस्या समेत निम्तिनसक्ने साइकेट्रिक एसोसिएसन अफ नेपालका अध्यक्ष एवं वरिष्ठ मनोरोग विशेषज्ञ प्रा.डा. सुदर्शन नरसिंह प्रधान बताउनुहुन्छ ।
निद्रासँग एन्जाइटी डिसअर्डर, डिप्रेसन, म्यानिया, सिजोफ्रेनियाको सिधा सम्बन्ध हुन्छ । निद्रा नलागेमा सम्बन्धित चिकित्सकसँग परामर्श लिनुपर्ने डा. प्रधानको सुझाव छ ।
हरेक वर्ष मार्च १८ मा विश्व निद्रा दिवस मनाउने गरिएको छ । यो विषयले नेपालमा त्यति प्राथमिकता नपाएपनि अन्तर्राष्ट्रिय जगतमा निद्रा दिवसलाई प्राथमिकता दिएको पाइन्छ । यस वर्ष ‘गुणस्तरीय निद्रा, राम्रो दिमाग र खुशी संसार’ भन्ने मूल नाराका साथ विश्व निद्रा दिवस मनाइँदै छ । यहाँ हामीले मनोरोगसँग निद्राको सम्बन्ध कस्तो हुन्छ भन्ने जिज्ञासा मेटाउने प्रयास गरेका छौं ।
निद्रा र एन्जाइटी डिसअर्डर
निन्द्राको गडबढीले हुने एक मानसिक समस्या हो एन्जाइटी डिसअर्डर । डा. प्रधान भन्नुहुन्छ—‘राती सुतेको बेला निद्रा नलाग्नु एन्जाइटी डिसअर्डरको मुख्य लक्षण हो । यस्ता व्यक्तिहरुलाई ओछ्यानमा गएपछि एक–दुई घण्टासम्म निन्द्रा आउँदैन ।’
समयावधि अलि लामो हुने भएकाले यसलाई ल्याटिन्ट स्लीप भनिन्छ । यो ओछ्यानमा सुतेपछि निद्रा पर्दासम्मको समय अवधि हो । समयमा निदाउन नसक्दा सुत्ने ढाँचा बिग्रन्छ र निदाउने समयमा एकरुपता हुँदैन । कहिले कुन समय कहिले कुन समयमा निदाएको हुन्छ । जसका कारण बिहान उठ्न गाह्रो हुन्छ । यसलाई ‘डिफिकल्टी फलिङ एस्लीप’ भनिने डा. प्रधानको कथन छ । एन्जाइटी डिसअर्डर भएका व्यक्ति कारणवश निदाएको बेला बिउँझिए भने पुनः निन्द्रा पर्दैन । यसरी निन्द्राको गडबढी हुँदा समस्या एन्जाइटी डिसअर्डर हो ।
निद्रा र डिप्रेसन
डिप्रेसन भएका व्यक्तिहरुमा बिहान चाँडै निद्राले छोड्ने समस्या हुन्छ । ‘डिप्रेसन भएका व्यक्तिलाई राती निद्रा त आउँछ तर बिहान तीन चार बजे नै निद्राले छोड्छ । त्यसपछि निन्द्रा पर्दैन । निद्रा खुलेपछि मनमा अनेकन कुराहरु खेल्न थाल्छन्’—डा. प्रधान भन्नुहन्छ—‘त्यसपछि छटपटी हुन थाल्छ । घर व्यवहार, ऋण, व्यापार व्यवसायको तनाव आदि इत्यादि कुराहरुले झन् डिप्रेसनमाथि डिप्रेसन थपिन थाल्छ ।’
बिहान चाँडै निन्द्रा खुल्नु डिप्रेसनको प्रमुख लक्षण भएको र निदाइको ढाँचाबाट डिप्रेसन भएनभएको पत्ता लगाउन सकिने डा. प्रधानको भनाइ छ ।
निद्रा र म्यानिया
म्यानिया को लक्षण डिप्रेसनको ठीक उल्टो हुन्छ । डिप्रेसन भएका व्यक्ति झोक्राएर बस्ने र शरीर थकित भएको महसुस गर्छन् । तर, म्यानिया भएका व्यक्तिहरु रातभर सुत्दैनन् । आवश्यकभन्दा बढी फूर्ति लाउने, अरुलाई बाधा पु¥याउने, ठूल्ठूला कुरा गर्ने जस्ता असामान्य व्यवहार देखाउँछन् । यस्ता व्यक्तिलाई भोलिपल्ट पनि निद्राको आवश्यकता पर्दैन । त्यसैले म्यानिया एक प्रकारको मानसिक समस्या भएको डा. प्रधान बताउनुहुन्छ ।
निद्रा र सिजोफ्रेनिया
सिजोफ्रेनिया निन्द्राको गडबढीले हुने जटिल मानसिक रोग हो । सिजोफ्रेनिया भएका व्यक्तिमा बढी डर, त्रास र भ्रम सृजना हुन्छ । सिजोफ्रेनिया भएका व्यक्तिहरुले आफूलाई कसैले मार्न खोजेको जस्ता भ्रम पाल्ने गरेका हुन्छ र रातभर नसुति चनाखो भएर बस्ने गर्छन् । यसरी निद्राको ढाँचा सोधेर रोग पहिचान गर्न सजिलो हुने डा. प्रधान बताउनुहुन्छ । कोभिड–१९ महामारीले पनि धेरैलाई निद्रा र एन्जाइटीसम्बन्धि समस्या बढाएको उहाँले सुनाउनुभयो ।
गुणस्तरीय निद्रा र मानसिक स्वास्थ्य
मानसिक स्वास्थ्यका लागि पर्याप्त सुत्नुपर्छ । जस्तोः केही व्यक्तिहरु परीक्षा आउने समयमा रातभर पढ्ने, क्रिकेट र फुटबल चलेको बेला रातभर हेर्ने गर्छन् । यसले क्षणिक रमाइलो हुने तर भोलिपल्ट धेरै गाह्रो हुन्छ । दिनभर सुत्नुपर्ने हुन्छ । डा. प्रधान भन्नुहुन्छ—‘त्यसैले निन्द्राको ठूलो महत्व हुने भएकाले नियमित सुत्ने तालिकामा एकरुपता हुनुपर्छ ।’
औषधि सेवन नगरी निद्रा लगाउने तरिका
निद्रा नलाग्ने कतिपय व्यक्ति औषधि सेवन गरेर सुत्दा निद्रा आउँदैन भन्ने ठान्छन् । उनीहरु बानी लाग्छ र सधैँ सुत्ने बेला खानुपर्ने भएकाले औषधि सेवन गर्न चाहँदैनन् । यसरी राम्रो निद्राका लागि औषधि सेवन नै गर्नुपर्छ भन्ने पनि हुँदैन । औषधि सेवन नगरी निदाउने विभिन्न तरिका पनि छन् । यसलाई ‘नन फर्माकोलोजिकल म्यानेज्मेन्ट अफ इन्ड्युसिंग स्लिप’ भनिन्छ ।
– हरेक दिन नियमित एउटै समयमा सुत्नुपर्छ ।
– निन्द्रा गडबढी भएका व्यक्तिले दिउँसो सुत्नु हुँदैन । आफूलाई काममा व्यस्त राख्नुपर्छ । यसले बेलुका थकित महशुस भएपछि आफैँ निद्रा आउँछ ।
– सुत्नअघि हातखुट्टा चिसो पानीले धुनुपर्छ ।
– सुत्दा खुकुलो कपडा लगाउनुपर्छ ।
– चुरोट, खैनीहरु खान हुँदैन ।
-सुत्नअघि चिया, कफी र दूध पिनउन हुँदैन ।
-सुत्नेबेलामा मोबाइल चलाउन हुँदैन ।
-कोल्टे परेर न्यानो भई सुत्ने र आँखा बन्द गरेर लामो सास लिने र छोड्ने गर्नुपर्छ ।
– सुत्नेबेला गीत संगीत सुन्न हुँदैन ।
– खाना खाएर राम्रोसँग दाँत माझ्नुपर्छ ।
कतिपय व्यक्तिलाई छोटो समय सुत्दा पनि निन्द्रा पुग्छ । यसलाई ‘सर्ट स्लीपर’ भनिन्छ । उनीहरुलाई दिनमा एक झप्की निदाए पनि पुग्छ । कतिपय सर्ट स्लीपरहरु दिनमा १९ घण्टासम्म काम गर्छन् । तर, यसले दीर्घकालिन रुपमा असर पार्ने डा. प्रधानको भनाइ छ ।
उहाँ भन्नुहुन्छ—‘निद्रा नमारौँ । निद्रालाई माया गरौँ । नियमित एउटै समय सुत्ने तालिका बताउनुपर्छ । समयमा सुत्ने र उठ्ने गरेमा स्वास्थ्य जीवनयापन गर्न सजिलो हुन्छ ।’