Logo
|
Saturday 27th April 2024
Logo

epaper

ऐया ! ढाड दुख्यो, लक्षण, निदान र उपचार

करिब ७० प्रतिशत व्यक्तिमा पोस्चर नमिलेर ढाडको दुखाइ



डा.प्रत्युश श्रेष्ठ, न्युरो सर्जन एवं सह–प्राध्यापक, उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटल

पेशाले म न्युरो सर्जन हो । तर मेरो पनि ढाड सड्किने समस्या थियो । जीवनशैली परिवर्तन गरेँ । नियमित साँझ र र बिहान २० मिनेट हिँड्छु । समस्या धेरै कम भयो । म आफू बस्ने पोजिसनप्रति सचेत छु । सधैँ सिधा बस्छु । निहुरिएर धेरै काम गर्दिनँ र एउटै पोस्चरमा लामो समय पनि बस्दिनँ । म जस्ता धेरै व्यक्तिहरु यस प्रकारको समस्याबाट पीडित छन् । अधिकांश व्यक्ति शारीरिक अभ्यास र हिँडडूल नगर्दा, सोफामा बसेर टिभी हेर्दा वा घण्टौँ मोबाइल खेलाउँदा सानै उमेरमा तल्लो ढाड र गर्दन दुख्ने समस्याबाट पीडित छन् ।

ढाड किन दुख्छ ?
ढाडको नसा च्यापिएर र मेरुदण्डको मांशपेशी कमजोर भएर ढाड दुख्ने समस्या हुने गर्छ । मेरुदण्डको हड्डी भटेब्राले डिस्क (कुरकुरे हड्डी) लाई थिचेर कुरकुरे हड्डी बाहिर निस्किएर मेरुदण्ड हुँदै जाने नशालाई च्यापेपछि दुखाइ शुरु हुन्छ । नशा च्यापिने समस्या थोरै व्यक्तिलाई मात्र हुन्छ ।

करिब ६० देखि ७० प्रतिशतलाई मेरुदण्ड वरिपरिको मांशपेसी कमजोर भएर ढाड दुख्ने समस्या हुने गरेको पाइन्छ । मेडिकल भाषामा यसलाई मेकानिकल व्याकेक भनिन्छ ।

यस प्रकारको दुखाई कार्यालयमा दिनभर बसेर काम गर्दा ढाडको पोस्चर नमिलेर हुनेगर्छ । लामो समय निहुरिएर ल्यापटप र मोबाइल चलाउनेहरुमा गर्दनको दुखाइ हुने गर्छ ।


खतराको संकेत
यदि गर्दन र ढाडको दुखाइ खुट्टा वा हातका औँलातिर सरेमा, हातले सामान समात्न नसकेमा र नसाको चेतनास्तर कम भई दिसा पिसाब गरेको थाहा नपाउने अवस्था नसा च्यापिएर हुने समस्या हो । यो अलि जटिल किसिमको हुन्छ ।

राति सुतेको बेला ढाड दुखेर निन्द्रा खुल्ने, ढाडमा छुँदा अत्यधिक दुखाइ महसुस हुने समस्या पनि खतराको संकेत हो । यस्तो समस्यामा शल्यक्रिया आवश्यक पर्नसक्छ ।


मांशपेशी कमजोर किन हुन्छ ?
बसाइको पोस्चर नमिलेपछि मेरुदण्ड वरीपरिका मांशपेसी कमजोर हुन थाल्छन् । एउटै पोस्चरमा घण्टौँ बस्नेहरुमा मांसपेशी कमजोर हुँदैजान्छ । गर्दन पछाडिको मांशपेशीले तौललाई थेग्ने भएकाले टाउको निहुराएर लामो समय बस्दा गर्दन दुख्ने गर्छ । त्यसैले ४५ मिनेटभन्दा बढी एउटै पोजिसनमा बस्नुहुँदैन ।


पोस्चर कसरी मिलाउने ?
ढाडको दुखाईमा तपाइको बस्ने पोस्चरको शैलीमा निर्भर हुन्छ । ढाडले कुर्सीको पछाडिको भाग छोएको हुनुपर्छ । सिधा भएर बस्नुपर्छ । खुट्टा र ढाड बीचको कोण ९० देखि ११० डिग्री हुनुपर्छ । लामो समयसम्म निहुरिएर बस्नुहुँदैन । एउटा पोस्चर ४५ मिनेट भन्दा बढी हुन हुँदैन । केहि समय ब्रेक लिनुपर्छ । कुर्सीबाट उठेर शरीर तन्काउनुपर्छ । मोबाइल चलाउदा गर्दन र कान एउटै स्तरमा हुनुपर्छ । घोप्टो परेर गह्रोगो सामान उचाल्न हुँदैन ।


मांशपेसी कसरी बलियो बनाउने ?

मेरुदण्डका लागि हिँडाइ र पौडी सबैभन्दा राम्रो एक्सरसाइज मानिन्छ । हरेक दिन कम्तिमा ४ किलोमिटर वा ४० मिनेट हिड्नुपर्छ । हप्ताको पाँच दिन हिँडेपनि ढाडलाई फाइदा गर्छ ।

विभिन्न योगा र शारीरिक एक्सरसाइजले पनि मांशपेशी बलियो बनाउन सकिन्छ । यसबाट ७० प्रतिशत ढाड दुख्ने समस्या ठीक पार्न सकिन्छ ।

कस्तो उपचार आवश्यक पर्छ ?
करिब ७० प्रतिशत व्यक्ति पोस्चर नमिलेर ढाडको दुखाइको समस्या लिएर ओपिडीमा आउने गरेका छन् । यदि खतराको संकेत नभएका व्यक्तिहरुलाई पोस्चर मिलाउन, ढाड र गर्दनको स्पेसिफिक एक्सरसाइज गराउनुपर्छ ।

खुट्टा झमझमाउने, लुलो हुने, दुख्ने, हिँड्न गाह्रो हुने र दिसापिसाव भएको थाहा नहुने जस्ता जटिल लक्षण देखिएमा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । यसका लागि एक्सरे, एमआरआई लगायतका प्रविधिबाट समस्या पहिचान गर्नुपर्छ ।


कुरकुरे हड्डीले हातमा गएका नशा च्यापेको अवस्थामा हात झमझमाउने, करेन्ट लागेजस्तो हुने, सामान समात्न नसक्ने, हातखुट्टा लुलो हुने जस्ता लक्षण देखिन्छन् । कतिपय अवस्थामा कसरत गरेर पनि दुखाइ ठिक भएर जान्छ । कहिलेकाहीँ करेन्ट लगाएर उपचार गरिन्छ । यदि फिजियोथेरापी गरेको तीन हप्तासम्म पनि समस्या कम नभएमा आवश्यकताका आधारमा शल्यक्रिया पनि गर्नुपर्ने हुनसक्छ ।

ढाड किन सड्किन्छ ?

मेरुदण्ड वरिपरीको मांशपेसी कमजोर भएको बेलामा ढाड सड्किन सक्छ । यदिकुनै असहज पोस्चरमा बसेको बेलामा मांसपेशीले मेरुदण्ड भाँचिन लागेको महसुस गरेर आफै कक्रक्क भइदिन्छ । यसलाई मेडिकल भाषामा स्पाजम भनिन्छ ।

यदि पटक पटक ढाड सड्किने समस्या भइरहेको अवस्थामा मेरुदण्डको मांशपेसी कमजोर भएको वा कुरकुरे हड्डीले ठाउँ छोडेको अनुमान लगाउन सकिन्छ । कक्रक्क परेको मांशपेसीलाई औषधि सेवन गरेर नरम बनाउन सकिन्छ । दुखाइ कम गर्न औषधि सिफारिस गरिन्छ । बिरामीलाई दुखाइ भएको बेला फिजियोथेरापी गराउन सकिदैन । दुखाइ कम भएपछि मेरुदण्डको मांशपेसी बलियो बनाउने अभ्यास गर्नुपर्छ ।

खानपान
दुध पिउनुपर्छ । जंक फुड खानुहुँदैन । शरीरमा भिटामिन डी को कमी भएमा चिकित्सकको सल्लाहबमोजिम सप्लिमेन्ट लिनुपर्ने हुनसक्छ । चुरोट सेवन गर्नाले हड्डी कमजोर गराउँछ । त्यसैले यसको सेवन गर्न हुँदैन ।

प्रतिक्रिया दिनुहोस्