Logo
|
Friday 19th April 2024
Logo

epaper

उच्च रक्तचापको औषधि खानेहरुमा पनि मस्तिष्कघात

४० वर्ष नाघेकाहरुले रक्तचाप, मधुमेह नियन्त्रणमा राख्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल भारतलगायत दक्षिण एसियाली मुलुकहरुमा मोटोपना, मधुमेह, उच्चरक्तचाप, क्यान्सर लगायत नसर्ने रोगको प्रकोप बढ्दो क्रममा छ । मस्तिष्कघातलाई मृत्यु र दीर्घकालीन विकलांगताको प्रमुख कारक मानिन्छ ।

प्राय पहिलोपटक मस्तिष्कघात भएकाहरुमा उच्चरक्तचाप भएको पाइन्छ । उच्च रक्तचापले सम्पूर्ण शरीरका धमनीहरूलाई क्षति पु¥याउनसक्छ । जसले नलीहरु सजिलै फुट्ने र बन्द हुन सक्छन् । त्यसैले मस्तिष्कघातको जोखिम कम गर्न उच्च रक्तचाप व्यवस्थापन गर्न जरुरी हुन्छ ।


रगतको नली जाम भएर (इस्केमिक) र रगतको नली फुटेर (हेमोरोजिक) गरी दुई प्रकारबाट मस्तिष्कघात हुने गर्छ । मस्तिष्कघात भएपछि मस्तिष्कले अक्सिजन पाउन सक्दैन र कोषहरु मर्न थाल्छन् । सोच्ने, चल्ने र काम गर्ने क्षमता कमजोर हुन्छ । मस्तिष्कघातले भाषा, स्मरणशक्ति र आँखाको दृष्टिलाईसमेत असर पुर्याउन सक्छ । गम्भीर पक्षघातले मृत्युसमेत गराउन सक्छ । रगतको नली फुटेर हुने मस्तिष्कघातको तुलनामा रगतको नली बन्द भएर हुने मस्तिष्कघातको दर धेरै हुने गरेको विश्वव्यापी तथ्याङ्कहरुले देखाउँछन् । तर हाम्रो अस्पतालमा भर्ना हुने बिरामीहरुको दर लभगभ आधा–आधा जस्तो छ ।


नली कसरी फुट्छ र जाम हुन्छ ?
रगतको नली फुट्ने र जाम हुने एउटैै कारणको दुईवटा असर हो । रगतको नलीको भित्रपट्टीको लेयरमा चोट लाग्दा र रगतको नलीमा रगत बग्ने क्रममा गडबडी हुँदा नली जाम हुने र फुट्ने गर्छ । उच्च कोलेस्ट्रेरोल, उच्च रक्तचाप, वंशाणुगतलगायत विभिन्न कारणले रगतको नलीमा समस्या आउनसक्छ । मस्तिष्कघात हुनमा उच्च रक्तचापको एउटा कारण मात्र हुँदैन । उच्च रक्तचापसँगै शरीरमा हुने चिल्लोपना, धुम्रपान, मदिरा सेवन, रगतका नली सम्बन्धि विभिन्न समस्या कारण हुनसक्छन् । उच्च रक्तचापको औषधि सेवन गरिरहेका र अनियन्त्रित रक्तचाप भएकाहरुलाई मस्तिष्कघात हुने सम्भावना दुवैमा रहन्छ ।

तर औषधि सेवन गरेर रक्तचाप नियन्त्रण गर्नेहरुको तुलनामा अनियन्त्रित रक्तचाप हुनेहरुलाई मस्तिष्कघात हुनसक्ने सम्भावना धेरै हुन्छ । त्यसैले आफ्नो खानपानमा ध्यान दिएर उच्च रक्तचाप नियन्त्रण गर्नुपर्छ । शरीरमा चिल्लोपनाको मात्रा कम गराउनुपर्छ । धुम्रपान र मदिरापानको सेवन गर्न हुँदैन ।

समस्या र उपचार
आँखाले देख्न नसकिने रगतका नलीहरु फुट्ने समस्या धेरैलाई हुने गरेको पाइन्छ । एउटा हात नचल्ने वा दुवै हात–खुट्टा नचल्ने र बोलीमा गडबडी आउँछ । रगतको नलीमा रगत आपूर्ति कम भएर हुने समस्या हो यो । यस्तो अवस्थामा बेस्सरी टाउको दुख्ने, बान्ता हुने समस्या हुन्छ ।

कतिपय बिरामी सानो नली फूटी रगत जमेर आउँछन् भने अस्पतालमा आउने आधा जति बिरामी त ठूलो नली फूटी रगत जमेर आइपुगेका हुन्छन् । उनीहरुलाई आइसियू वा भेन्टिलेटरमा राखेर उपचार शुरु गर्नुपर्छ भने करिब २० देखि ३० प्रतिशतलाई जोगाउन शल्यक्रियाको जरुरत पर्छ । रगतको नली बन्द भएर समयमा नै अस्पताल गई रगतको नली खोल्ने उपचार (इन्टरभेन्सन रेडियोलोजी) गर्नुपर्छ र यो सुविधा हाम्रो हस्पिटलमा उपलब्ध छ ।


रगतको नली फूटेर दिमागमा ३० एमएल भन्दा कम रगत जमेका बिरामीहरुलाई सपोर्टिङ उपचार गरेर निको पार्न सकिन्छ । यदि ५० एमएल भन्दा बढी रगत जमेका कम उमेरका बिरामीहरु भएमा शल्यक्रिया गरेर ज्यान बचाउनुपर्छ । त्यस्तै ३० देखि ५० एमएलसम्म रगत जमेका बिरामी बिना शल्यक्रिया निको हुनसक्छन् वा अवस्था बिग्रेको खण्डमा चेतनास्तर दृष्टिगत गरेर शल्यक्रिया गर्न पनि सकिन्छ ।

लक्षण र रोकथाम
मस्तिष्कघात र हृदयघातको कुनै संकेत हुँदैन । कुनै पनि बेला हुनसक्छ । बढ्दो उमेरसँगै समस्या आउने सम्भावना पनि बढ्दै जान्छ । त्यसैले यसप्रति सतर्क हुनुपर्छ । जोखिम कारकलाई नियन्त्रण गर्नुपर्छ ।

४० वर्ष नाघेकाहरुले रक्तचाप, मधुमेह नियन्त्रणमा राख्ने र शरीरमा मेटाबोलिजमको प्यारामिटर जाँच गर्नुपर्छ । यसका साथै हरेक दिन बिहान कम्तिमा ३० देखि ४५ मिनेटसम्म व्यायाम वा हिड्ने गर्दा जोखिम घटाउन मद्धत गर्छ ।

प्रतिक्रिया दिनुहोस्