Logo
|
Friday 26th April 2024
Logo

epaper

हैजाको उच्च जोखिमा काठमाडौँ उपत्यका, कसरी बच्ने ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँका दुई जना बिरामीको एन्टिजन परीक्षण गर्दा हैजा देखिएको छ । हैजाको लक्षण देखिएपछि उनीहरुको एन्टीजेन परीक्षण गरिएको थियो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हाल दुवै बिरामीको दिसाको कल्चर गरेर हैजाको जीवाणु भए–नभएको पुष्टि गर्न लागिएको छ।

‘एन्टिजनमा हैजा देखिएकाले हामीले सोही अनुरूप उपचार अघि बढाएका छौँ तर दिसाको कल्चर गरेपछि आउने नतिजालाई आधिकारिक र स्तरीय मानिन्छ।’–डा पुनले भन्नुहुन्छ ।

हाल झाडापखालाका बिरामीको सङ्ख्या बढिरहेको अवस्थामा बिरामीलाई विभिन्न किसिमको सङ्क्रमण हुने भए पनि हैजाले सबैभन्दा छिटो र बढी असर गर्ने डा. पुन बताउनुहुन्छ ।

के हो हैजा ?

हैजा कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणबाट हुने गर्दछ । सामान्यतया झाडापखाला जस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरु बताउँछन् ।

कोलेरा भिब्रिओ कोलरी जीवाणुको सङ्क्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र हैजाका लक्षण देखिन सक्छ । सङ्क्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुन सक्ने सङ्क्रामक रोग विशेषज्ञ डा. पुन बताउनुहुन्छ ।

लक्षण

हैजा भएको व्यक्तिलाई निरन्तर दिसा लाग्ने, दिसा पातलो हुने, चामलको चौलानीजस्तो तरल पदार्थ मानिसको शरीरबाट निरन्तर बगिरहने जस्ता लक्षणहरु देखिने डा पुनले बताउनुभयो ।

त्यसैगरी पटकपटक बान्ता आउने, पेट वा खुट्टाको मांसपेशी बाउँडिनेजस्ता समस्याहरू अधिकांश बिरामीमा देखिने डा पुनले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो–‘अधिक तरल पदार्थ खेर जाने भएकाले बिरामीलाई धेरै तिर्खा समेत लाग्ने र अधिक थकान र बेचैनी महशुस हुन्छ ।’–उहाँले भन्नुभयो ।

डा पुन थप्नुहुन्छ–‘केही मानिसमा हैजाको लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ।’ ती व्यक्तिले सरसफाइमा ध्यान नदिए उनीहरूमार्फत हैजा अन्य मानिसहरूमा पनि फैलिने डा पुनको भनाइ छ।

कति घातक ?
हैजाको कारण सङ्क्रमितलाई पीडा नहुने भए पनि यसको सङ्क्रमण जोखिमपूर्ण भएको डा. पुनको भनाइ छ। उहाँका अनुसार अन्तर्राष्ट्रिय रूपमै हैजाका १० जना बिरामीमध्ये एक जनालाई कडा किसिमको सङ्क्रमण हुने तथ्याङ्क छ।

‘कडा किसिमको रोग लागेका व्यक्तिले समयमै उपचार नपाएको अवस्थामा मृत्युको जोखिम उच्च हुन्छ।’–डा पुन भन्नुहुन्छ ।
उपचार अभावमा मानिसको मृत्यु हुने सम्भावना ५० प्रतिशतसम्म रहने बताइन्छ।

तीमध्ये केहीको मृत्युसमेत हुने विवरणहरू सार्वजनिक भएका छन्। उनीहरूको मृत्युको प्रमुख कारण देशको भौगोलिक विकटता र विकट क्षेत्रका मानिसहरूले भोग्नु पर्ने उपचार अभाव भएको डा. पुन बताउँनुहुन्छ ।

‘गत वर्ष कपिलवस्तुमा हैजाको कारण सयौँ मानिस प्रभावित भए र केहीको मृत्यु भयो। मृत्यु हुनेमा प्राय समयमा उपचार नपाउनेहरू थिए,’ उहाँले भन्नुभयो ।

बिरामीले झाडापखालालाई सामान्य ठानेर घरमै उपचार विधि नअपनाउँदा समस्या जटिल बन्न सक्ने उहाँको भनाइ छ ।

कसरी लाग्छ हैजा ?
पिउने पानी र खानेकुरा नै हैजाको प्रमुख कारण मानिन्छ। व्यक्तिगत वा वरपरको सरसफाइमा ध्यान नदिनु र लक्षण नदेखिएका सङ्क्रमितसँग सम्पर्कमा आउनुले समेत मानिसमा यो रोग सार्ने उहाँको भनाई छ ।

डा पुनले भन्नुभयो–‘यदि काठमाण्डूमा उपचाररत बिरामीहरूलाई हैजा नै भएको रहेछ भने यो बिस्तारै फैलँदै छ। किनकि त्यहीँ पानी वा खाद्यान्न अरूले पनि खाएका छन् ।’ काठमाण्डूमा केही दिनदेखि थुप्रिएका फोहोरले समेत भूमिका खेलेको हुनसक्ने उहाँको भनाइ छ,।

उपचारका उपाय
हैजाको जीवाणु फैलिनुअघि नै यसविरुद्ध खोप लगाउनु उपयुक्त उपाय हुने डा. पुन बताउनुहुन्छ । उहाँले विशेषगरी विकट क्षेत्रका मानिसहरूसम्म त्यस्ता खोप पुर्‍याउनु अत्यावश्यक देखेको उहाँको ठम्याइ छ । ‘जहाँ स्वास्थ्य सेवा प्रभावकारी छैन, त्यहाँ रोग लाग्नै नदिनु उचित हुन्छ,’–उहाँले भन्नुभयो ।

हैजाको खोप
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास नेपालमा हैजाविरुद्ध खोपको उपलब्धता सहज नभएको स्वीकार्नुहुन्छ ।

उहाँका अनुसार अन्तर्राष्ट्रिय सहयोगबाट प्राप्त खोप हाल कपिलवस्तुका मानिसहरूलाई उपलब्ध गराइएको छ।

‘हैजाको खोप खरिद र भण्डारण अरू खोपको जस्तो सहज छैन। त्यसैले यो राष्ट्रिय खोप कार्यक्रम भित्र समावेश गरिएको छैन। त्यसको जोखिम कम गर्न हामी काम गरिरहेका छौँ,–डा.दासले भन्नुभयो ।

हैजा भइसकेको अवस्थामा पुनर्जलीय झोल अर्थात् जीवनजललाई प्राथमिक उपचार उपाय मानिन्छ। त्यसबाहेक जटिल अवस्थामा रहेका बिरामीलाई नसामार्फत सलाइन दिइने डा. पुनले बताउनुभयो ।

कुनै अवस्थामा बिरामीको शरीरमा रोगको अवधि कम गर्नका निम्ति एन्टिबायोटिक प्रयोग गरिने उहाँको भनाई छ । ‘स्वच्छ पानी पिउनु र सरसफाइमा ध्यान दिनु नै हैजाबाट बच्ने उत्तम विकल्प हो’ उहाँले थप्नुभयो ।

अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरि बर्सेनि १३ लाखदेखि ४० लाख मानिसलाई हैजा हुन्छ र २१,००० देखि १,४३,००० मानिसको मृत्यु हुने आकलन गरिएको छ। स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्