आठौं अन्तर्राष्ट्रिय योग दिवस २०२२ : योग किन गर्ने ? शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा पर्ने फाइदा
जनस्वास्थ्य सरोकार । ‘मानवताका लागि योग’ भन्ने मुल नाराका साथ आठौं अन्तर्राष्ट्रिय योग दिवस २०२२ विभिन्न कार्यक्रम गरी नेपाल लगायत विश्वभर मनाइँदै छ । हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।
योग प्राकृतिक चिकित्सा विज्ञानको एउटा अभिन्न अङ्ग हो । यसले सबै उमेर समूहका मानिसलाई शारीरिक, मानसिक र भावनात्मक रुपमा स्वस्थ्य राख्न मद्धत गर्छ ।
कुनै रोगबाट ग्रसित वा लामो समयदेखि उपचार गराइरहेका व्यक्तिहरुका लागि योग निकै लाभदायक मानिन्छ ।
फाइदा
योगाभ्यास गर्दा र गहिरो श्वासप्रश्वास गर्दा रक्तसञ्चार बढ्छ । खासगरी ढाडको तल्लो भाग दुख्ने मानिसहरूमा पीडा कम गर्न योग अभ्यास उत्तम उपाय हो । अमेरिकी ‘कलेज अफ फिजिसियन्स’ ले ढाड दुख्ने दीर्घकालीन उपचारका रूपमा योगलाई पहिलो प्राथमिकतामा राख्न सल्लाह दिएको छ ।
जोन्स हकिन्स विश्वविद्यालयका अनुसार, हल्का खालका योग अभ्यासले बाथ (आर्थराइटिस) भएकाकाहरूको कमजोर र सुन्निएको जोर्नीको पीडा कम गर्न मद्दत गर्छ । त्यसैगरी मुटुको समस्या भएका बिरामीलाई पनि योग अभ्यास लाभदायक मानिन्छ ।
नियमित योग अभ्यास गर्दा मानसिक तनाव कम गर्न मद्धत गर्छ । मुटु स्वास्थ्यमा योग लाभदायक मानिन्छ । उच्च रक्तचाप, अत्यधिक वजन नियन्त्रणमा योग महत्वपूर्ण मानिन्छ ।
सुत्ने समयमा हुने नियमित योग अभ्यासले मानसिक सन्तुलन कायम राख्न मद्धत गर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
अमेरिकी नेशनल इन्स्टिच्यूट अफ हेल्थले नियमित योगअभ्यासले मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, तौल घटाउन र गुणस्तरीय निद्रामा सहयोग पुग्ने प्रमाणित वैज्ञानिक आधारहरू भेटिएको उल्लेख गरेको छ । योग अभ्यासले एक्लोपन, डिप्रेसनलगायतका समस्या हट्ने र कुनै पनि समस्याको सामुहिक निवारण खोज्न उत्प्रेरित गर्छ ।
संयुक्त राज्य अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थलगायतले योगको वैज्ञानिक आधारलाई मान्यता दिएका छन् । आर्थराइटिस (वाथ), ओस्टियोपेनिया, क्यान्सर, आदिमा योगले लाभ पुग्ने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
विश्व स्वास्थ्य संगठनले उच्च रक्तचाप, मस्तिष्कघात, हृदयघात र मधुमेह जस्ता प्राणघातक रोगको जोखिम कम गर्न योगको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेको छ ।
विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पूनम क्षेत्रपाल सिंहका अनुसार, यी समस्याले दक्षिण पूर्वी एसियामा मात्र वर्षेनी ८५ लाखको मृत्यु हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठनको ‘ग्लोबल एक्शन प्लान अन फिजिकल एक्टिभिटी २०१८–२०३०’ मा ५००० वर्ष पुरानो परम्परागत योगको नियमित अभ्यासले गुणस्तरीय स्वास्थ्य जीवनयापनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेको छ । हरेक ५ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुले दिनहुँ नियमित रुपमा ६० मिनेट योग अभ्यास गर्दा निकै फाइदाजनक पुग्ने उल्लेख छ । तर वयस्कहरूले कम्तिमा पनि सातामा १५० मिनेट सामान्य व्यायाम गर्न जरुरी हुने बताइएको छ । क्षेत्रीय निर्देशक क्षेत्रपाल सिंहले २०३० सम्म नसर्ने रोगहरुबाट हुने एक चौथाइ मृत्युदर गर्न योगको पूर्ण क्षमताको उपयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
योगका प्रकारहरू
शारीरिक व्यायाममा हठ योग र अष्ट योग निकै लोकप्रिय छन् । जसमा धेरै आसन र प्राणायामको व्याख्या गरिएको छ । जसले शरीर र मनलाई शुद्ध बनाउँछ र ध्यानतर्फ डोर्याउछ ।
भागवत् गीतामा १८ प्रकारका योगको व्याख्या गरिएको छ । गीताका १८ अध्यायमध्ये प्रत्येक अध्याय योगमा समर्पित छ ।
योगको व्याख्या विभिन्न उपनिषद्हरूले पनि गरेका छन् । त्यसैले अष्टाङ्ग योग, ज्ञान योग, कर्म योग, भक्ति योग, सन्यासा योग, कुण्डलिनी योग, कर्मसन्यासा योगबारे चर्चा हुने गरेको पाइन्छ । तर अहिले हाम्रो समाजमा जानेको योग आसन भनेको योग हो । यो बिहान र बेलुका घर वा योग पाठशालामा गरिँदै आएको छ ।