Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

बाँकेमा ९५.५ प्रतिशत बालबालिकाले लगाए कोरोना खोप



जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । बाँकेमा ९५.५ प्रतिशत बालबालिकाले कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार खोप सुरु भएको चार दिनमा बाँकेका आठ स्थानीय तहका ९५.५ प्रतिशत बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालयका अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

बाँकेका ७६ हजार २३९ लाई खोप लगाउने लक्ष्य लिइएको थियो तर चार दिनको अभियानमा बाँकेका ९५.५ प्रतिशत अर्थात् ७२ हजार ७८८ बालबालिकाले मात्र खोप लगाएका छन् । यही असार ९ गते सञ्चालित कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप अभियानमा पहिलो दिन २३ हजार १२६, दोस्रो दिन २३ हजार ३४३, तेस्रो दिन नौ हजार दुई र चौथो दिन ११ हजार ९४७ जना गरी कूल बाँकेका ६६ हजार ३२३ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

“यो खोप असार १२ गतेसम्म भनिएकामा आवश्यक छुटेका बस्तीका बालबालिकालाई लक्षित गर्दै आवश्यकताअनुसार १४ गते पनि स्थानीय तहमा तोकेको खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ,” फोकल पर्सनसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो । पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान बाँकेका आठ पालिकामा एकै पटक सञ्चालनमा ल्याइएको थियो । जसका लागि जिल्लाका ५०८ स्थानमा खोप केन्द्र राखिएको थियो ।

यसअघि बाँकेमा १२ वर्ष उमेर समूहभन्दा माथिका व्यक्तिलाई खोप लगाउने अभियान चलेको थियो । कोहलपुर र बैजनाथमा शतप्रतिशत खोप लगाइएको छ । बाँकेमा हालसम्म खोप लगाउने लक्षित समूह चार लाख एक हजार ७९९ मध्ये अहिलेसम्म खोपको पहिलो मात्रा पूरा गर्नेको सङ्ख्या ८४.४ प्रतिशत रहेको छ भने दोस्रो मात्रा पूरा गर्नेको सङ्ख्या ७१.६ प्रतिशत रहेको छ ।

बुस्टरको मात्रा लगाउनेको सङ्ख्या भने १८.२२ प्रतिशत मात्रै रहेको छ । कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप अभियानअन्तर्गत बाँकेका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले शतप्रतिशत खोप लगाएका छन् । कोहलपुर नगरपालिकाका १० हजार ३९१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा कूल १६ हजार ८५३ जनाले खोप लगाएका छन् ।

यस्तै बैजनाथ गाउँपालिकाका आठ हजार ३४५ जनालाई बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा कूल आठ हजार ३९१ जनाले खोप लगाएका छन् । यहाँ अन्य जिल्लामा अध्ययन गर्ने र बिदामा घर आएका बालबालिकासमेत भेटिएकाले उनीहरूलाई पनि खोप लगाइएकाले लक्ष्यभन्दा बढीले खोप लगाएका हुन् । खोप अभियानअन्तर्गत राप्तीसोनारी गाउँपालिकाको खोप प्रगति प्रतिशत ७५.१ छ । यहाँ कूल नौ हजार ३५७ जनालाई खोप लगाउने लक्ष्य लिइएको तर कूल सात हजार २७ जना बालबालिकाले खोप लगाएका छन् ।

खजुरा गाउँपालिकाको खोप प्रगति ७६.९ प्रतिशत छ । यहाँ आठ हजार २२४ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको तर यहाँका ६ हजार ३२६ जना बालबालिकाले खोप लगाएका छन् । यस्तै जानकी गाउँपालिकाको खोप प्रगति ६४.२ प्रतिशत रहेको छ । यहाँ ६ हजार ३७२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको तर जानकीका चार हजार ९४ जना बालबालिकाले खोप लगाएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको खोप प्रगति ७६.७ प्रतिशत रहेको छ । नेपालगञ्जका २० हजार २३१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा कूल १५ हजार ५२२ ले मात्र खोप लगाएका छन् । खोप अभियानअन्तर्गत डुडुवा गाउँपालिकाको खोप प्रगति ५९.३ प्रतिशत रहेको छ । यहाँ कूल ६ हजार ९८८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा कूल चार हजार १४४ जनाले मात्र खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

यसैगरी नरैनापुर गाउँपालिकाको खोप प्रगति ६२.२ प्रतिशत रहेको छ । यहाँ ६ हजार ३३२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो । तर यहाँका कूल तीन हजार ९६६ जना बालबालिकाले मात्र खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्