Logo
|
Friday 29th March 2024
Logo

epaper

‘७५ प्रतिशत व्यक्ति योग नै गर्दैनन्’



मानसिक र शारीरिक स्वस्थ्य भएको व्यक्तिले मात्र समाजमा प्रभावकारी योगदान प्रदान गर्नसक्छ । विभिन्न रोग विशेषमा गरिने थेरापेटिक योगलाई सरकारी तहबाट मासमा लैजान नसकिएपनि प्रवद्र्धनात्मक योगको माध्यमबाट स्वास्थ्यलाई अझ राम्रो बनाउन सक्छौं । नेपालमा १६ वर्षमुनिका बालबालिकाबाहेक २५ प्रतिशत व्यक्तिले योग गर्ने अनुमान गरिएको छ ।

हृदयघात, मस्तिष्कघात, डायविटिज र प्रेसर हुनमा तनाव मुख्य कारक मानिन्छ । योगा तथा ध्यानले तनावमुक्त बनाउन मद्धत गर्छ । दैनिक ३० मिनेट योगा गर्ने मानिसले विभिन्न रोग लागेर हुनसक्ने खर्च जोगाउन सफल हुन्छ ।

त्यसैले दीर्घजीवी हुन मानसिक तनावमुक्त हुनुपर्छ । जनमानसमा योगा गर्नुपर्ने जनचेतना भएपनि कहाँ जाने ? कसरी गर्ने ? कुन स्थानमा गर्ने ? भन्नेबारे सहजीकरण गर्नुपर्ने आवश्यकता छ । हुन त आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले देशव्यापीरुपमा नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरेको छ ।

३०० वटा नागरिक आरोग्य सेवा केन्द्र, ३०५ वटा आयुर्वेद औषधालय र ७७ वटा जिल्लास्तरीय आयुर्वेद अस्पतालहरु रहेका छन् । तर बजेटको अभावमा सिमित क्षेत्रभित्र मात्र कार्यक्रमहरु सञ्चालन भएका छन् । ठूला पालिकाहरुको सबै क्षेत्रमा सेवा पुग्न सकेको छैन ।


औषधालयहरु एउटै पालिकामा दोहोरिएको पनि पाइन्छ । तर नागरिक आरोग्य सेवा केन्द्र औषधालय र जिल्ला आयुर्वेद अस्पतालहरु नभएको ठाउँमा सञ्चालनमा ल्याइएको छ । देशका ७ सय ५३ वटा पालिकामध्ये ५०० पालिकाहरुमा आयुर्वेद सेवा कभरेज छ ।

ति ठाउँहरुमा वर्षमा एक वा दुईपटक योगका कार्यक्रमहरु सञ्चालन हुने गरेका छन् । तर बजेटको अभावले नियमित कार्यक्रमहरु सञ्चालन हुन सकेका छैनन् । यसले योगप्रतिको लगाव सृजना गर्न सकेको छैन ।
(डा. प्रकाश ज्ञवाली आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा नीति तथा योजना शाखामा कार्यरत हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्