Logo
|
Friday 19th April 2024
Logo

epaper

बाथरोगको हल्ला, विज्ञको सल्लाह



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा दक्ष जनशक्ति र जनचेताको कमी एवं सरकारको प्राथमिकताको अभावका कारण बाथरोग जटिल बन्दै गएको पाइन्छ । वाथ सयौं प्रकारका हुने भएपनि विशेषगरी नेपालमा गठिया, मेरुदण्ड, युरिक एसिड, हड्डी खिइने र मांशपेशीको वाथ धेरैमा देखिने गरेको पाइन्छ । नेपालमा बाथरोगीको एकिन तथ्यांक त छैन । तर विश्वको कुल जनसंख्याको १० प्रतिशत मानिसलाई बाथ रोग हुने गरेको विश्व स्वास्थ्य संगठनले बताएको छ । यसैको आधारमा देशमा करिब ३० लाखजति कुनै न कुनै बाथरोगी रहेको अनुमान गरिएको छ । तर, तीमध्ये करिब १५ प्रतिशत मात्रै उपचारको पहुँचमा पुग्ने गरेको चिकित्सकहरु बताउँछन् । ठूलो संख्यामा रहेका बाथरोगका बिरामी उपचारको पहुँचमा पुग्न सकेका छैनन् । यसै सन्दर्भमा बाथरोगबारे सचेत र सहज रहन नेशनल बाथरोग सेन्टरमा कार्यरत चिकित्सकहरु यसो भन्छन् ।

बाथले नशामा असर


हड्डी, नशा र मांशपेशीले शरीरको बनोट निर्धारण हुने भएकाले बाथका अधिकांश बिरामीहरुमा हड्डी खिइने, नशा च्यापिने र मेरुदण्डको समस्या हुने गर्छ । प्रायः सबैखाले बाथरोगले हड्डी, नशा र मांशपेशीलाई नै असर पु¥याउँछन् । चिकित्सकीय भाषामा यसलाई ‘कोल्याजन टिस्यु डिजिज’ भनिन्छ ।

विशेषगरी -युमाटोइड आर्थराइटिसका बिरामीहरु बढी नशा सम्बन्धी समस्या लिएर आउने गरेका हुन्छन् । यस्ता बिरामीहरुमा नशा च्यापिने, हात खुट्टा झमझम गर्ने, नशा सुकेका कारण पोल्ने र सियोले घोचेजस्तो लक्षण देखिन्छ । लुपस बाथले पनि सिधै नशालाई असर पु-याउँछ ।

लुपस बाथका कतिपय बिरामीहरुमा नशा ब्लक, हात खुट्टा नचल्ने र प्यारालाइसिसमेत हुनसक्छ । उपचारको पहुँचमा आएका अधिकांश बाथ रोगीहरुमा ‘पेरिफेरल न्युरोप्याथी’को समस्या देखिएको छ । पेरिफेरल न्यूरोप्याथी तब विकसित हुन्छ जब शरीरको खुट्टा, हात र पाखुरा जस्ता अंगका नसाहरू क्षतिग्रस्त हुन्छन् ।

लक्षणहरुका आधारमा कुन नसा प्रभावित छ भन्ने निर्भर गर्दछ । कतिपय बिरामीहरु दिमागको नशामा असर भई साइक्याट्रिक लक्षण लिएर आउँछन् । कतिको एउटा खुट्टा नचल्ने, टाउको दुख्नेजस्ता समस्या हुने गरेको पाइन्छ । बाथ रोगीहरुमा उपचारसम्म आइपुगेका करिब ५० प्रतिशतलाई नशा सम्बन्धी समस्या भइसकेको पाइन्छ । त्यसैले बाथ र नशाको सँगसँगै उपचार गर्न जरुरी हुन्छ ।


विभिन्न स्क्रिनिङ टेस्टबाट प्रारम्भिक चरणको बाथ पहिचान गर्न सकिन्छ । आरए, सिआरपी पोजेटिभ आएका व्यक्तिको बाथ परिपक्क भए नभएको एकिन गर्नुपर्छ । बाथको स्क्रिनिङ टेस्टबाट -युमाटोइड आर्थराइटिस, न्युरो मस्कुलर डिजिज, मांशपेशीका वाथ पहिले नै पत्ता लगाई न्युनिकरण गर्न सकिन्छ ।

बुवाआमालाई बाथ रोग भएमा छोराछोरीले स्क्रिनिङ जाँच गरेर निकट भविष्यमा हुनसक्ने संभावित जोखिमबाट जोगिन सावधानी अपनाउन सकिन्छ । प्रारम्भिक चरणमा पत्ता लागेको बाथरोगमा चिकित्सकको सल्लाह र निगरानीमा जीवनशैली परिवर्तन, फिजियोथेरापी, कम डोजको औषधि प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ ।

औषधिको साइड इफेक्टले डराउनुपर्दैन


स्वास्थ्य परीक्षण गर्न आउने अधिकांश बिरामीहरुमा जोर्नी, जीउ, मांशपेशी दुखाई र नशा सम्बन्धी समस्या देखिएको छ । बेलाबेलामा गरिने बाथ रोगसम्बन्धि शिविरमा ‘ब्लड टेस्ट’ र ‘कन्सल्टेसन’ शुल्क निशुल्क गरेर बाथ पहिचान गरी उपचारमा सहयोग गर्दै आएका छौं । क्लिनिकल परीक्षणबाट बाथ पत्ता लगाउन सकिन्छ भने रगत जाँचले बाथ रोग निदान गर्न मद्धत गर्छ ।

सिआरपी, आरएफ, युरिक एसिड लगायतका स्क्रिनिङ परीक्षणबाट बाथ भए नभएको एकिन गर्नुका साथै बाथको किसिम, कडापन, अल्पकालीन र दीर्घकालीन समस्याबारे पनि थाहा पाउन जरुरी हुन्छ । बाथ रोग पुरानो भइसकेको अवस्थामा जीवनभर औषधि सेवन गर्नुपर्छ । तर प्रारम्भिक चरणमा पहिचान भएमा औषधोपचार गरेर नियन्त्रणमा राख्न सकिन्छ । साथै औषधि बन्द पनि गर्न सकिन्छ ।


औषधिको धेरथोर साइड इफेक्ट भएपनि डराइहाल्नु पर्दैन । हरेक तीन महिनामा रगत जाँच गरेर हेमोग्लोबिन, डब्लुबिसी, एलएफटी, आरएफटी, लिभर, किड्नी, बाथको मात्रा हेर्ने जाँच गरिन्छ । यसले औषधिको साइडइफेक्ट, भित्री अंगमा असरबारे पहिचान हुन्छ । कुनै साइडइफेक्ट देखिएमा उपचार उपलब्छ छ । डाक्टरको निगरानी, नियमित औषधि सेवन, सन्तुलित खानपान, नियमित शारीरिक अभ्यासले बाथरोगीको आयु सामान्य व्यक्ति सरह राख्न मद्धत गर्छ ।

डाक्टरको सल्लाहबिना औषधि नछोड्नुस्


आम सर्वसाधारणमा जोर्नी दुखाई भन्ने बित्तिकै यूरिक एसिड बाथ भन्ने बुझाइ रहेको पाइन्छ । धेरैजसो बाथरोगी घुँडा, हातखुट्टाको दुखाई लिएर आउने गरेका छन् । कसैकसैमा खटिरा र कपाल झर्ने जस्ता लक्षण पनि पाइएको छ । प्रायः २० देखि ४० वर्ष उमेर समूहका महिलाहरुमा गठिया बाथ हुने गरेको पाइन्छ । लुपस बाथ पनि महिलालाई नै बढी देखिएको छ । त्यसैगरी वयस्क पुरुषहरुमा ढाडको बाथ हुने गर्दछ ।


कतिपय बाथरोगीहरुले समस्या कम हुन थालेपछि औषधि सेवन छाड्ने गरेको पाइन्छ । यसले पुनः बाथ बल्झिएर अझ समस्या निम्त्याएको पाएका छौं । त्यसैले सबै बाथ निर्मूल नहुने भएकाले न्युनतम मात्राको औषधिको डोजबाट भएपनि नियन्त्रणमा राख्न जरुरी हुन्छ ।

सबै प्रकारका बाथ एकै खालका नहुने भएकाले चिकित्सकको सल्लाहमा औषधिको मात्रा घटबढ बनाउन सकिन्छ तर औषधि छोड्न मिल्दैन ।

शारीरिक वजन नियन्त्रणमा राख्नुपर्छ


खासगरी ५० वर्ष उमेर माथिका धेरै व्यक्तिमा घुँडा दुख्ने समस्या देखिएको छ । उनीहरुमा मेकानिकल दुखाइ हुन्छ जसमा सिढी चढ्दा, उठबस गर्दा गाह्रो हुने गर्दछ । यो ओस्टियो आर्थराइटिस बाथ पनि हुनसक्छ । त्यस्तै महिलाहरुमा गठिया बाथ, बालबालिकामा जीआईए बाथ र वयस्कलाई यूरिक एसिड बाथ बढी पाइन्छ ।

गठिया बाथ भएका महिलाहरुको हात गोडाका साना–ठूला जोर्नी दुख्ने, सुन्निने, अरठ्ठ हुने जस्ता लक्षण देखिन्छन् । समस्या पुरानो हुँदै जाँदा कतिपयको हातखुट्टा बाँगो समेत हुने गरेको छ ।


यूरिक एसिड बाथ भएकाहरुले खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ । शारीरिक व्यायाम गर्नुपर्छ । रातो मासु गुलियो खानेकुरा, धुम्रपान मद्यपान गर्न हुँदैन । तर अन्य बाथरोगमा सबै खानेकुरा खान मिल्छ । बाथरोग बल्झाउने खानेकुरा कम गर्नुपर्छ ।

ओस्टियो आर्थराइटिसका बिरामीहरुले शारीरिक वजन नियन्त्रणमा राख्नुपर्छ । युरोपियन देशहरुमा गरिएको एक अध्ययनमा १० प्रतिशत तौल घटाउन सकेमा ५० प्रतिशतसम्म दुखाइ कम हुने देखिएको छ ।

बाथरोगको लक्षण थाहा पाउनुस्


विशेषगरी वंशाणुगत वाथरोगीहरु उपचारका लागि आउने गरेको धेरै पाइन्छ । खासगरी चिसो, अस्वस्थ्यकर जीवनशैली, मोटोपना, शारीरक अभ्यासको कमी र अस्वस्थक खानपानले बाथ रोग बढाइएको छ । बाथ रोग बारे धेरै मानिसको गलत बुझाइ छ । कतिपयले बाथलाई युरिक एसिड भन्ने बुझ्दछन् । खानेकुरा बार्छन् र कतिले त दुखाई कम गर्न स्टेरोइडको धुलो प्रयोग गरेको पाइन्छ । बाथरोगका लक्षणबारे ज्ञान हुन जरुरी छ ।

प्रायः महिलालाई गठियाबाथ र वयस्क पुरुषलाई मेरुदण्डको बाथ हुने गरेको छ । त्यसैगरी महिलाहरुमा बढी हुने लुपस बाथले गर्भ खेर जाने समस्या निम्त्याउन सक्छ । त्यसैले यसप्रति सजग र सचेत रहन आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्