Logo
|
Thursday 28th March 2024
Logo

epaper

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने अधिकांश खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन् ।

उहाँले कोरोना भाइरसविरुद्धको खोप नलगाएका उच्च जोखिममा भएकाले खोप लगाउन आग्रह गर्नुभयो । “खोप नलगाएका उच्च जोखिममा रहेकाले खोप नलगाउनुभएका सबैले आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई आवश्यकताअनुसार पहिलो, दोस्रो र बुष्टर मात्रा खोप लगाउन आग्रह गर्दछौँ”, उहाँले भन्नुभएको छ ।

आज मात्र कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ७४ सङ्क्रमणको कारणले मृत्यु भएको छ । नेपालमा सङ्क्रमणको कारणले प्रति दशलाखमा ४१० दशमलव २ जनाको निधन भइसकेको छ ।

मन्त्रालयका अनुसार खोप नलगाएको मानिसलाई कोभिड–१९ सङ्क्रमण भयो भने त्यस्ता मानिस गम्भीररूपमा बिरामी पर्ने र मृत्यु हुने सम्भावना खोप लगाएको मानिसको तुलनामा १० गुणा बढी हुने गर्दछ ।

यस्तै पहिलो र दोस्रो खोप लगाएकाहरूलाई बुष्टर मात्रा लगाउन आग्रह गरिएको छ । बुष्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्छ । सरकारले लक्षित जनसङ्ख्याको ९३ दशमलव ३ प्रतिशत पहिलो मात्रा र ८८ दशमलव ५ प्रतिशत दोस्रो मात्राको खोप लगाइसकेका छन् ।

मन्त्रालयले कोभिड–१९ बाट सङ्क्रमित ५० प्रतिशत मानिसमा कुनै पनि लक्षण नदेखिएकाले सङ्क्रमणबाट बच्नका लागि खोप लगाउन आग्रह गरिएको छ ।

सङ्क्रमणबाट बच्नका लागि नाक, मुख छोपिने गरी सही तरिकाले मास्क लगाउन, भौतिक दूरी कायम गर्न, खोक्दा वा हाच्छ्युँ गर्दा पाखुरादेखि नाडीसम्मको भागले छोप्न, झ्याल सधैँ खुला राख्न र बेलाबेलामा सावुन पानीले मिचीमिची हात धुन आग्रह गरेको छ । अहिले दैनिक एक हजारभन्दा बढी सङ्क्रमण देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्