Logo
|
Saturday 20th April 2024
Logo

epaper

बेलायतमा नेपाली नर्स पठाउने सम्झौतापत्रमा हस्ताक्षर

स्वास्थ्यकर्मीको सेवा सुविधा बेलायती स्वास्थ्यकर्मी सरह हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारीका लागि पठाउने सम्बन्धी श्रम समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक समारोहमा सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतको राजदूत निकोला पोलिटबीच आज श्रम समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । 

नेपाल सरकार र बेलायत सरकारबीच भएको सो समझदारी पत्र अनुसार बेलायतको स्वास्थ्य सेवामा कार्यरत नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था मिलाइएको छ । 

नेपाली स्वास्थ्यकर्मीको छनौट, पदस्थापना लगायतका विषय छलफलमा रहेको कार्यान्वयन ढाँचा अनुसार हुनेगरी सैद्धान्तिक सहमति गरिएको छ ।

सरकारी प्रक्रियामार्फत स्वास्थ्यकर्मीलाई बेलायत पठाउने, यस प्रक्रियामार्फत बेलायत जाँदा कुनै खर्च नलाग्ने र परीक्षणका रुपमा पहिलो चरणमा नेपाली नर्सहरूलाई लैजाने समझदारी रहेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सचिव एकनारायण अर्यालले नेपाल–बेलायबीचको कूटनीतिक सम्बन्ध धेरै अघिदेखि रहेको भएपनि श्रम सम्बन्धको भने सुरुवात भएको बताउनुभयो । 

उहाँले मुलुकभित्र स्वास्थ्यकर्मीको अभाव नहुने प्रबन्धसहित कार्यविधि बनाएर  जनशक्ति पठाइने जानकारी दिनुभयो । 

नेपालका लागि बेलायतको राजदूत निकोला पोलिटले नेपाल र बेलायत सरकारबीचको समझदारीमा नेपाली स्वास्थ्यकर्मीलाई बेलायती स्वास्थ्य सेवामा रोजगारी प्रदान गर्न लागिएको बताउनुभयो । 

उहाँले नेपाली स्वास्थ्यकर्मीको सीप र दक्षता विकासमा सहयोग गर्दै परीक्षामा सफल जनशक्तिलाई बेलायत लैजाने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्