स्वास्थ्यसँग खेलवाड गर्न कसैलाई छुट छैन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । ल्यावको राम्रो गुणस्तर नियन्त्रण भनेकै त्रुटी नभएको वा कम त्रुटी भएको भन्ने बुझ्नुपर्छ । प्री–एनालाइटिकल, एनालाइटिकल र पोष्ट एनालाइटिकल गरी इरर ३ प्रकारका हुने भएकाले यसप्रति विशेष ख्याल पु¥याउन जरुरी पर्छ । फिजिसियनले हेरेदेखि नमुना मेसिनसम्म नपुग्दासम्मको चरणमा हुने त्रुटी प्री–एनालाइटिकल इरर हो ।
प्रायः ७० देखि ७५ प्रतिशतसम्म त्रुटी प्री–एनालाइटिकलमा हुने गर्दछ । जस्तोः १०—१२ घण्टा फास्टिङमा नभएको वा त्यो भन्दा धेरै फास्टिङमा रहेको व्यक्तिको जाँच गर्दा सुगर तह तलमाथि हुनसक्छ ।
बिरामीको गलत पहिचान, परीक्षण सूचीको अस्पष्टता, गलत नमुना संकलन विधि, बिरामीको नाम, उमेरलगायतको अस्पष्टता, नमुना संकलन गर्दा गलत भाँडाको प्रयोग, नमुना संकलनको समय नमिल्ने, नमुना ढुवानी विधिमा त्रुटी, समयमै परीक्षण नगरिने आदि कारणले गलत रिपोर्ट आउनसक्छ । त्यसैले नमुना संकलन विधि तय गर्ने, नमुना लेबल गर्न कम्प्युटरको प्रयोग गर्ने, बिरामी पहिचानका लागि बारकोड विधिको प्रयोगले प्रीएनालाइटिक इरर कम गर्न मद्धत पुग्छ ।
मेसिनमा नमुना पुगेदेखि परिणामको प्रतिफल आउँदासम्मको समयमा हुने त्रुटी एनालाइटिकल हो । यसमा मेसिनको गुणस्तर नियन्त्रणको सवाल जोडिएको हुन्छ । यो पनि इन्टर्नल र एक्सटर्नल गुणस्तर नियन्त्रण गरी दुई किसिमबाट गर्नुपर्छ । गुणस्तरहिन उपकरण र प्रयोगशाला सामग्री, अदक्ष र अप्रयाप्त जनशक्ति र नमुना, प्रयोगशाला सामाग्री तथा उपकरणहरुको उचित रेखदेख नहुनु यस चरणमा हुने त्रुटीका केही कारण हुन सक्छन् ।
सहि प्रविधिको प्रयोग, गुणस्तर नियन्त्रणका उपायहरु, उपकरणहरुको उचित रेखदेख र सभिसिङ्ग, स्तरीय परीक्षण विधिहरुको कडाइका साथ पालना, समय अनुकुल तालिम प्राप्त मानव संसाधनको व्यवस्थाबाट यस चरणमा हुने त्रुटीहरुलाई न्युनीकरण गर्न सकिन्छ । अतः गुणस्तर कायम राख्नु हाम्रो कर्तव्य र जिम्मेवारी हो । स्वास्थ्यसँग खेलवाड गर्न कसैलाई छुट छैन । (डा. थापा सुत्र डायग्नोस्टिक सेन्टरको प्रयोगशाला प्रमुख हुनुहुन्छ ।)