Logo
|
Saturday 23rd November 2024
Logo

epaper

अस्पताल तोडफोड गरेर समस्याको समाधान हुँदैन



स्पोर्टस् मेडिसिनमा विशेषज्ञता हाँसिल गर्नुभएका वरिष्ठ अर्थोपेडिक सर्जन डा. पदमबहादुर खड्का एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युएसन अफ नेपालका (अफिन) का वर्तमान अध्यक्ष हुनुहुन्छ । पोखराको कास्की सेवा अस्पतालका सञ्चालक समेत रहनुभएका डा. खड्कासँग निजी अस्पतालका समस्या र आरोप सम्बन्धि जनस्वास्थ्य सरोकारले गरेको कुराकानीको सारसंक्षेप ।

डा. पदमबहादुर खड्का, अध्यक्ष,एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युएसन अफ नेपालका (अफिन)

अलिकति वर्तमान अवस्थाको चित्रण गरिदिनुस् न ?

स्वास्थ्यलाई आधारभूत सेवाभित्र राखिएको छ । नागरिकको स्वास्थ्य प्रति राज्य उत्तरदायी हुनुपर्छ । राज्यले मुलुकका ७७ वटा जिल्लामध्ये धेरै ठाउँबाट स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएपनि स्तरीय स्वास्थ्य सेवाको पहुँच पुग्न नसकेपछि निजी अस्पतालहरुको जन्म भएको देखिन्छ । अत्याधुनिक निजी अस्पतालहरुको व्यापकतासँगै उपचार गर्न विदेश जानुपर्ने समस्या न्युनिकरण हुँदै गएको छ । मुलुकभर सयौंको संख्यामा अस्पताल भएपनि अफिनमा हाल २ सय जना सदस्य पुगेका छन् । थपिने क्रम बढिरहेको छ ।


निजीसँग सरकारको सहकार्य किन जरुरी ठान्नुहुन्छ ?


वर्तमान समयमा योजना (प्लानिङ), कार्यान्वयन (इम्प्लिमेन्टेसन) र नियमन (रेगुलेटरी) को समस्या हो । यसलाई हामी ‘पी.आई.आर (पीर)’ भन्छौ । यसप्रति सरकार सजग हुनुपर्छ । सरकारी वा निजी जसले दिएपनि बिरामीको आवश्यकता भनेको सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा नै हो ।

त्यसैले सरकारले निजी अस्पतालहरुसँग सहकार्य गर्न जरुरी छ ।

नीतिनियमको परिधिभित्र रही सरकारसँग हातमा हात र काँधमा काँध मिलाएर उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै निजी अस्पतालहरु तयार छौं ।

स्वास्थ्यमा निजी क्षेत्रको योगदान कति छ ?


निजी स्तरबाट देशको विभिन्न भूभागमा सञ्चालित स्वास्थ्य संस्थाहरुले गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवाको लागि खर्वौं पूजी लगानी गरी करिब १ लाख भन्दा बढि जनशक्तिहरुलाई प्रत्यक्ष रोजगारीको सृजना गर्दै राष्ट्रको कुल जनसंख्याको ६५ प्रतिशत नागरिकलाई पूर्णरुपमा आधुनिक स्वास्थ्य सेवा दिदै आइरहेको छ ।

निजी क्षेत्रले १२ वटा मेडिकल कलेज र ३६५ अस्पतालहरु सहित करिब १६ हजार शैया मार्फत नागरिकको स्वास्थ्य उपचारको क्षेत्रमा राष्ट्रमै नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । यसमा निजीको ६०—७० प्रतिशत योगदान रहेको छ ।

मेडिकल कलेज र करिब २६५ प्यारामेडिक्स कलेजहरु मार्फत वर्षेनी हजारौंको संख्यामा बिशेषज्ञ चिकित्सक एवं दक्ष प्राविधिक जनशक्ति समेत उत्पादन गरी राष्ट्रलाई ठूलो सहयोग पु¥याउँदै आइरहेको छ । स्वास्थ्य उपचार, मेडिकल शिक्षा र प्यारामेडिक्स शिक्षाको नाममा बर्षेनी ठूलो राशीमा विदेशिन बाद्य स्वदेशी पुँजीलाई केही हदसम्म रोक्न भूमिका निर्वाह गरिरहेको छ

बिरामीको मृत्युलाई लिएर तपाईंहरुलाई आरोप लागिरहनुको कारण के हो ?


मेडिकल साइन्समा बिरामीको मृत्यु हुनुमा स्वास्थ्यकर्मी र अस्पतालको मात्र भूमिका हुँदैन । विरामीलाई कुन बेला अस्पताल ल्याइयो ? उसको रोगको प्रकृति के थियो ? जस्ता प्रश्न महत्वपूर्ण हुन्छ । कहिलेकाहीँ प्रयास गर्दागर्दै पनि बिरामी बचाउन सकिदैन । उपचारका क्रममा मेडिकल त्रुटीले बिरामीको मृत्यु हुनसक्छ । अमेरिकामा पनि मेडिकल त्रुटीका कारण धेरैको मृत्यु हुने गर्छ । बिरामीको मृत्यु हुनुमा यो तेस्रो मुख्य कारण मानिन्छ । क्यान्सर, हृदयघात पछिको तेश्रो मुख्य कारणमा मेडिकल त्रुटीलाई लिइन्छ । जस्तोः बजारमा सजिलै उपलब्ध हुने सिटामोलको सेवनले कसैलाई केही हुँदैन भने कसैको लिभर विफल हुनसक्छ । तर यो प्रत्येक दश लाखमा एक जनालाई हुनसक्ने घटना हो । त्यसैले यी सबै कुरा हाम्रो हातमा हुँदैनन् । उपचारका क्रममा बिरामीको मृत्यु भएमा सजिलै अस्पताल वा चिकित्सकको लापरवाहीको आरोप लगाइन्छ । क्षतिपूर्ति माग गरिन्छ । यसमा अस्पतालहरुको जवाफदेहिता नभएको होइन । चिकित्सक र अस्पताल दुई फरक कुरा हुन् । अस्पतालभित्र चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मीको टिम हुन्छ ।

उपचारमा लापरवाही आशंका लागेमा नेपाल मेडिकल काउन्सिलमा उजुरी हाल्न सकिन्छ । दोषीलाई कारवाही गर्ने प्रशस्त मार्गहरु छन् । अस्पताल तोडफोड गरेर समस्याको समाधान हुँदैन ।

यसबारे सामाजिक सचेतना जगाउन जरुरी छ । साथै व्यक्तिले पनि आफ्नो अधिकार र दायित्व सोचेर सभ्य नागरिकको परिचय दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्