Logo
|
Saturday 23rd November 2024
Logo

epaper

बिर्सने रोगः अल्जाइमर

नेपालमा ६० वर्ष भन्दा माथि उमेर समूहका एक सय जनामध्ये कम्तिमा पनि १० जनालाई डिमेन्सिया



नेपालमा ६० वर्ष भन्दा माथि उमेर समूहका एक सय जनामध्ये कम्तिमा पनि १० जनालाई डिमेन्सिया हुने गरेको छ । वरिष्ठ मनोरोग विशेषज्ञ प्रा.डा.निदेश सापकोटाको अगुवाइमा अज्लाइमर्स विस्मृति समाज नेपाल (एआरडिएस नेपाल) र ब्रिटेनको न्युक्यासल युनिभर्सिटीले संयुक्त रुपमा २०२१—२०२२ मा धरानमा ६० वर्ष उमेर समूहका १ हजार भन्दा बढी व्यक्तिमा गरेको अध्ययनले देखाएको हो ।


अल्जाइमर रोगबाट बच्न दैनिक व्यायाम गर्नुहोस्


विश्व स्वास्थ्य संगठन र अल्जाइमर डिजिज इन्टरनेशनलको अध्ययन अनुसार हप्तामा कम्तिमा ५ वा ६ दिन हरेक दिन आघा घण्टा व्यायाम गरेमा अल्जाइमर न्युनिकरणमा मद्धत पुग्ने उल्लेख गरेको छ ।


तिम्रो नाम के हो ? अगस्टी । परिवारको नाम ? अगस्टी । श्रीमानको नाम ? मलाई लाग्छ अगस्टी । वास्तवमा, एक डाक्टर र एक बिरामी बीचको यो कुराकानी १२० वर्ष पहिलेको हो । नोभेम्बर २५, १९०१ मा एक जर्मन महिला अगस्टी डाइटरलाई जर्मनीको फ्रान्कफर्टको एक अस्पतालमा मनोचिकित्सक डा. एलोइस अल्जाइमरले भेट्नुभयो । ती दिनहरूमा अगस्ट द्रुत बिर्सनेपनको चपेटामा थिइन् । उनीसँग हरेक प्रश्नको एउटै जवाफ थियो अगस्टी । यी महिलालाई मानसिक समस्या भएर अस्पतालमा भर्ती गरिएको थियो र एलोइस अल्जाइमरले उनको मानसिक स्थितिकोको परीक्षण गर्ने क्रममा मानसिक रोगका लक्षण भन्दा स्मरण शक्तिमा पृथक देखे ।

अगस्टी


वास्तवमा यो बिर्सने रोग (डिमेन्सिया) थियो र कालान्तरमा यसलाई अल्जाइमर भनेर चिनिएको थियो । अगस्टीको लक्षण संसारमा आफ्नो प्रकारको पहिलो प्रकाशित र १९०६ मा यस सम्बन्धि विस्तृत जानकारी प्रकाशित गरे । डा. अल्जाइमरले यो नयाँ रोगलाई बिर्सने रोगको नाम दिए । पछि डाक्टर अल्जाइमरको नामबाट यस रोगको नाम अल्जाइमर राखियो ।


डा. अल्जाइमरपछि पहिलो पटक यो रोगलाई डा. एमिल क्रेप्लिनले ध्यान दिएका थिए । पुरातन ग्रीस वा वर्तमान ग्रीसमा रोमन दार्शनिक र वैज्ञानिकहरूबीच डिमेन्सियाको गुनासो पहिलो पटक रिपोर्ट गरिएको थियो । डा. अल्जाइमर्सले पनि अगस्टीको व्यवहारको जाँच गरे र उनले समय र स्थानको बारेमा निर्णय गर्न असमर्थ भएको पत्ता लगाए । उनी अलिकति डर, अविश्वास र आक्रोशका साथ प्रश्नहरूको जवाफ दिँदै थिइन् ।

मनोचिकित्सक डा. एलोइस अल्जाइमर

अल्जाइमर के हो ?

वास्तवमा अल्जाइमर एक स्नायु प्रणालीमा आउने विकार हो जसमा मस्तिष्क संकुचित हुन्छ र जसले गर्दा मस्तिष्कमा हुने कोशिकाहरु (न्यूरोन्स) विस्तारै सुक्दै र ध्वस्त हुँदै जान्छन् । यही न्युरोन्समार्फत हामी शारीरिक आवश्यकता, इशारा र सोच व्यक्त गर्न सक्षम हुन्छौं । डिमेन्सिया भनेको बिर्सने रोग हो ।

४०—४५ वर्षदेखि नै हाम्रो मस्तिष्कमा भएका स्नायु कोशिका (ब्रेन सेल न्युरोन्स) क्रमिक रुपमा सुक्दै जान्छन् । शुरुमा त्यति असर पार्दैन । त्यसैले बिर्सने रोगको लक्षण देखिन कम्तिमा पनि १० देखि २० वर्षसम्म लाग्नसक्छ । कसैको अलि चाँडो गतिमा सुकेमा ५५—६० वर्षमा देखिनसक्छ । कसैकसैकसैलाई ६०—६५ वर्षको उमेरमा देखिनसक्छ ।

औषतमा लक्षणहरु १० देखि १२ वर्ष पछाडि देखिनसक्ने बताइन्छ । तर अवस्था अनुसार कसैलाई चाँडो र कसैलाई ढिलो देखिनसक्छ । विश्व तथ्यांकले ८५ वर्ष उमेर भन्दा माथिका २ जनामध्ये १ जना, ८० वर्ष भन्दा माथिको ४ जना व्यक्तिमध्ये १ जना, ७५ वर्ष माथि उमेरका २५—३० प्रतिशत र ६० वर्षभन्दा माथिका १०—१५ प्रतिशतमा विर्सने समस्या हुने गरेको देखाएको छ । पहिलो तथ्याङ्क हाम्रै देशमा गरेको अध्ययनले पनि पुष्टि गर्छ ।

रोगको कारण अझै रहस्यमय

यदि तपाईंले आफ्नो प्रियजनको नाम र ठेगाना बिर्सनुभयो र फोन कसरी डायल गर्ने वा तपाईंको घर जाने बाटो याद छैन भने यो रोग तपाईंको बिर्सने वा लापरवाही मात्र होइन, अल्जाइमरको शंका गर्नुपर्छ । विर्सने रोग धेरै कारणले हुन्छ । १०० जना बिर्सने रोग भएका व्यक्तिहरुमध्ये झण्डै ५०—७० जनालाई मस्तिष्कको नसा सुकेर नसामा एक प्रकारको खराब प्रोटिन जम्मा भएर हुने बताइन्छ । दोस्रो कारण मस्तिष्कमा भएको रगतको नलीहरु सुक्दै गर्दा रगतका नलीहरु बन्द हुने, उच्च रक्तचापका कारण कहिलेकाँही फुट्ने आदि कारण मस्तिष्कमा सहज तरिकाले रगत सञ्चालन हुन सक्दैन ।

रगत सञ्चालन हुन नसकेपछि मस्तिष्कलाई आवश्यक पर्ने अक्सिजन, ग्लुकोज आदिको मात्रामा कमी आउँछ र मस्तिष्कका नसा सुक्दै जान्छन् । यसलाई भास्कुलर डिमेंसिया भनिन्छ । अर्थ र अल्प विकसित मुलकहरुमा बिर्सने रोगको यो दोस्रो प्रमुख कारण हो ।

यसबाहेक भिटामिन बी १२ को कमी, थायराइडको गडबडी, लामो समयदेखिको मधुमेह, उच्च रक्तचाप आदिका कारण बिर्सने समस्या हुनसक्छ । नेपालीहरुको औषत आयु महिला र पुरुषको ७१ वर्ष भन्दा माथि रहेको तथ्याङ्क छ । जति धेरै औषत आयु बढ्दै गयो त्यति नै धेरै डिमेंसिया (बिर्सने रोग) लाग्ने संभावना हुन्छ ।


एक लाख सुविधाः सहुलियतको आवश्यकता


अल्जाइमर्स डिमेंसिया पहिचान भएका व्यक्तिलाई नेपाल सरकारले १ लाख रुपियाँ बराबरको सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । यो विपन्न नागरिकअन्तर्गत त्रि.बि. शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पताल, पाटन हस्पिटल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरि अस्पताललगायत राज्यले तोकेका मुलुकका ९ वटा अस्पतालबाट अनुसन्धान, औषधि, उपचारको सुविधा प्राप्त गर्न सकिन्छ । तर प्रा.डा. सापकोटाका अनुसार, यो सुविधा प्राप्त गर्न त्यति सजिलो छैन ।


डिमेंसियाको गति कम गर्ने औषधि उपलब्ध छन् ?


जन्मेदेखि मृत्युको समयसम्म हाम्रो मस्तिष्कको नसा वृद्धि भइरहेको हुन्छ । तर बाल्यकाल र युवावस्थाको तुलनामा वृद्धावस्थामा कम वृद्धि हुने गर्छ । यो रोगको सहि उपचार संसारभरि फेला परेको छैन ।

यो रोग पूर्ण रूपमा निको हुन सक्दैन, तर औषधि, राम्रो आहार र हेरचाहले यसको गति रोक्न मद्धत गर्छ । औषधि सेवनले मनोस्मृतिमा समस्या भएका बयोवृद्धाको गुणस्तरीय जीवनशैलीको बृद्धि हुनुका साथै उनीहरुको औषत आयुमा पनि बृद्धि हुनजान्छ ।

यसले स्मरणशक्ति र स्वभावमा आउने परिवर्तनलाई फाइदा गर्ने भएकाले गुणस्तरीय जीवनयापनमा अझ मद्धत पुग्छ ।


रोकथाम र जीवनशैली


उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकेमा भास्कुलर डिमेंसियाबाट जोगिन मद्धत गर्छ । मस्तिष्कको सक्रियता बढाउन नियमित शारीरिक अभ्यास गर्नुपर्छ । हरियो सागपात, गुडागुडी, स्याउ, ओखर, बेसार, ओमेगा ३ फ्याटी एसिड पाउने खाना जस्तोः माछाको प्रयोग गर्न सकिन्छ । सामाजिक क्रियाकपालमा विशेष सहभागी हुनुपर्छ । अध्ययन गर्ने, संगीत र वाद्यवादन बजाउने आदि कारण मस्तिष्क निष्कृय हुन पाउँदैन ।

अमेरिकी राष्ट्रपति रेगन र अमिताभको फिल्म ब्ल्याकको कुरा
अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलगायत धेरै अमेरिकी सेलिब्रेटीहरूलाई अल्जाइमर रोग थियो । प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई पनि यो रोग लागेको हुनसक्ने बताइएको छ । यो रोगको गम्भीरतालाई बलिउड फिल्म ब्ल्याक मार्फत देखाइएको थियो । फिल्ममा अमिताभ बच्चनलाई यो रोग लागेको थियो, जसमा सुरुमा स्मरणशक्तिमा कमी हुन्छ । पछि उसले सबै कुरा बिर्सन थाल्छन् आफैलाई पनि बिर्सन्छन् । अन्ततः उसले आफ्नो स्मरणशक्ति पूर्ण रूपमा गुमाउँछन् ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा प्रत्येक तीन सेकेण्डमा एक जनालाई डिमेन्सिया हुने गरेको छ ।

डब्लुएचओको २०१९ को तथ्याङ्क अनुसार विश्वभर ५० बिलिएन भन्दा बढी ६० वर्षमाथिका मानिसलाई डिमेन्सिया भएको आँकलन गरिएको छ । जसमध्ये ६८ प्रतिशत भन्दा बढी व्यक्ति हाम्रो जस्तो अल्प र अविकसित मुलुकका मानिस रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्