Logo
|
Thursday 26th December 2024
Logo

epaper

मधुमेह भएका व्यक्तिले भूल्न नहुने डा. सुनिल पोख्रेलको ५ सुझाव

खानपान, शारीरिक व्यायाम, मेडिसिन, डायविटिज एजुकेशन र मोनिटरिङको आवश्यकता



शरीरभित्र प्याँक्रियाजबाट निस्किने इन्सुलिन हर्मोनको उत्पादनमा कमी भई रगतमा ग्लुकोजको मात्रा बढ्नुलाई मधुमेह (डायविटिज) भनिन्छ । । इन्सुलिन शरीरको प्याँक्रियाजले बनाउने हर्मोन हो । यसले कोशिकाभित्र चिनी पसाउन साँचोले ढोका खोलेजस्तै काम गर्छ । यसरी पसेको चिनीबाट शक्ति लिई हरेक अंगले आफ्नो काम गर्छ । यसरी इन्सुलिनले प्रभावकारी ढंगले काम गर्न नसक्दा वा पर्याप्त नहुँदा चिनी कोशिकामा पस्न नसकी रगतमा जम्मा हुन थाल्छ र मधुमेह (चिनीरोग) हुने गर्छ । यो प्रारम्भिक (प्राइमेरी) र सेकेन्डरी गरी दुई किसिमको हुन्छ । प्रारम्भिक मधुमेहबाट धेरै व्यक्ति प्रभावित हुने गरेका छन् ।

डा. सुनिल पोख्रेल, इन्डोक्राइनोलोजिष्ट


मधुमेह वंशाणुगत, खानपानान कोक, फ्यान्टा, जुस, जंकफूड लगायत कार्वोहाइड्रेटयुक्त खानाको अत्यधिक सेवन, अस्वस्थ्यकर जीवनशैलीअन्तर्गत शारीरिक व्यायामको कमी आदि कारणले हुने सम्भावना रहन्छ ।


नियन्त्रणको उपाय


घरको जग राम्रो भएमा घर बलियो हुन्छ भनेजस्तै मधुमेहको नियन्त्रणको सबैभन्दा महत्वपूर्ण उपाय आहार नियन्त्रण र शारीरिक व्यायाम नै हो । मधुमेहका बिरामीहरुका लागि औषधि मात्र समाधानको उपाय होइन । खानपानबाट नै सुगर बन्छ । जे खाएपछि अन्तिममा त्यो सुगरमा परिणत हुन्छ । खाना अनुसार सुगर बढाउने अवस्था फरक हुन्छ । त्यसलाई ग्लाइसेमिक इन्डेक्स भनिन्छ ।


खानपान र जीवनशैली परिमार्जन


सुगर कम बढाउने फाइबरयुक्त खाना खानुपर्छ । सकेसम्म ब्राउन राइस, कोदो, फापर आदि खानुपर्छ । यस्ता खानामा फाइवर बढी हुने भएकाले बिस्तारै पाचन प्रक्रिया हुन्छ । यसले सुगर बिस्तारै बढाउँछ । सेतो चामल पोलिस गरेको हुनाले सजिलै पच्ने कारण ह्वात्तै सुगरको स्तर बढ्छ । मैदाजन्य वस्तुहरु जस्तै चाउचाउलगायतका खाद्यान्नहरुको सेवनले पनि सुगर ह्वात्तै बढाउँछ । दिनदिनै खाने सामान्य खाना त्यही हो । तर त्यो स्वस्थ्य विकल्पमा पर्नुपर्छ ।

के खाँदा राम्रो हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । साग अलिकति वढी खाएर दालभात खाँदा सुगरका बिरामीलाई राम्रो गर्छ । चिल्लो कम खानुपर्छ किनभने सुगरका बिरामीमा मुटुसम्बन्धि रोग जस्तोः हृदयघात हुने सम्भावना २ देखि ४ गुणा बढी हुने भएकाले चिल्लोयुक्त खाना कम गर्न आवश्यक पर्छ । फलफूलहरुमा केरा भन्दा स्याउ सुन्तलता राम्रो हुन्छ । यसरी दिनभरको आफ्नो क्रियाकलापका आधारमा खानाको छनौट गर्न जरुरी हुन्छ । आफूसँग हुने उपलब्धतालाई पनि ख्याल गर्नुपर्छ ।


शारीरिक व्यायाम


तपाईंले खानाको सेवन घटाउनुभयो, स्वस्थ्य खानाको विकल्प अपनाउनुभयो भने सुगर प्रोफाइल राम्रो हुन्छ । यो सँगसैगै शारीरिक व्यायाम गर्नुपर्छ । यसले शरीरमा भएको सुगर इनर्जीमा रुपान्तरण हुन्छ र शरीरमा सुगर, कोलेस्ट्रोल र बोसोको मात्रा कम हुन्छ ।

मैले औषधि खाइरहेको छु, त्यसैले खाना नियन्त्रण र शारीरिक व्यायाम किन गर्ने ? भन्ने सोच्नुभयो भने त्यो सबैभन्दा ठूलो गल्ती हो । खाना नियन्त्रण र शारीरिक व्यायाम नगरेमा चिकित्सकले जति राम्रो औषधि सिफारिस गरेपनि काम गर्दैन ।


त्यसैले सुगर भएमा औषधिको पछि लाग्ने नभई सबैभन्दा पहिला आफ्नो खानापान र जीवनशैलीलाई परिमार्जन गर्नुपर्छ ।
सुगरफ्री अलि धेरै नखानु भनिन्छ । फलफूल, सागपातमा फाइवर हुने भएकाले सुगर बढ्न दिँदैन । सन्तुलित खाना खानुपर्छ । दूध, माछा, चिकेन खाने, खसीको मासु सकेसम्म नखाने तर खान मन लागेमा १—२ टुक्रा खान सकिन्छ । अण्डामा धेरै राम्रो प्रोटिन प्राप्त गर्न सकिन्छ ।


औषधि
सुगरको स्तर हेरेर कुनै अंगमा असर गरेनगरेको अवस्था पहिचान गरेपछि औषधि खाने वा इन्सुलिन लगाउने भन्ने निर्णय लिनुपर्छ । टाइप वान सुगरमा इन्सुलिन लगाउन जरुरत पर्छ । वयस्कहरुमा हुने टाइप टु सुगरका लागि अवस्था अनुसार औषधि सेवन गर्नुपर्छ । गर्भवतीलाई मधुमेह भएमा इन्सुलिनको प्रयोग गर्नुपर्छ । सुगरको कुन अवस्थामा के लगाउने भन्नेबारे चिकित्सकको सिफारिस र निर्णय अनुसार गर्नुपर्छ ।


मधुमेह शिक्षा

बिरामीलाई आफूले औषधि खानुको कारणबारे जानकारी हुनुपर्छ । सुगरको सामान्य दायरा खाली पेटमा रगत जाँच गर्दा १२६ भन्दा बढी भएमा र खानपछि २०० भन्दा बढी भएमा अथवा एचबीएवनसी गर्दा ६.५ भन्दा बढी भएमा सुगर रोगीमा गणना गरिन्छ ।

सुगरको स्तर धेरै नै उच्च भएमा त्यसको असर तुरुन्त देख्न सकिन्छ । यदि सुगर कम भएमा लामो अवधिमा असर देखिन सक्छ । सुगर भएका व्यक्तिहरुमा एक्युट र क्रोनिक गरी २ प्रकारको समस्या देखिनसक्छ । एक्युट कम्लिकेसन भनेको सुगरको तुरुन्त देखिने समस्या हो । यसमा मुख धेरै सुक्ने, पिसाब धेरै लाग्ने, दुव्लाउँदै जाने, भोक मात्र लाग्ने, कमजोरी हुने समस्या हुन्छ । सुगर धेरै बढेमा पिसाबमा इन्फेक्सन, घाउ भएमा निको नहुने समस्या आउनसक्छ । ठूलो रोग भएमा निको नहुने, बारम्बार इन्फेक्सन हुने आदि हुनसक्छ । सुगर धेरै नै उच्च भएमा बिरामी बेहोस भएर कोमा जानसक्ने र बिरामीको मृत्युसमेत हुनसक्छ । त्यसैले सुगर धेरै बढेमा सुगर नियन्त्रण गर्न जरुरी पर्छ ।


सुगरले गर्ने दीर्घ समस्या नियन्त्रण गर्न जरुरी हुन्छ । सुगर हुनेबित्तिकै दीर्घ समस्या देखिदैन । सुगर भएको ५ देखि १० वर्षमा विस्तारै सुगरको क्रोनिक समस्या देखिन शुरु गर्छ । यसले स्ट्रोक बढाउँछ, मस्तिष्कका नसाहरु सुक्न थाल्छन् । डायबेटिक रेटिनोप्याथी हुनसक्छ । विश्वमा अन्धोपनको मुख्य कारण सुगरलाई लिइएको हुन्छ । दाँत हल्लिने, गिँजाहरुको समस्या हुनसक्छ ।

सुगर भएका व्यक्तिमा सामान्य मानिसको तुलनामा २ देखि ४ गुणा बढी हृदयघात हुने सम्भावना रहन्छ । विश्वमा मिर्गौला विफल भएर डायलाईसिसमा जानुको मुख्य कारण मधुमेहलाई मानिएको छ । त्यसैले सुगर कन्ट्रोल गर्न जरुरी पर्छ । खुट्टाहरुमा घाउहरु भएर इन्फेक्सन भएमा खुट्टा काट्नुपर्ने हुनसक्छ । त्यसैले मधुमेहको दीर्घकालीन जटिलता कम गर्न सुगर नियन्त्रण गर्नुपर्छ । सुगरलाई नियन्त्रण गरेर सामान्य दायरमा राख्न सकेमा कुनै पनि दीर्घ समस्याबाट टाढा रहन सकिन्छ ।


औषधिले कसरी काम गर्छ ?


डायविटिजमा ७—८ थरीका औषधि रहेका छन् । डायविटिज हुने तरिका अलि फरक हुन्छ । हामीले खाएको खानेकुरा आन्द्राबाट सोचिएर रगतबाट ग्लुकोज कोशिकाहरुमा जान्छ र कोशिकाहरुले काम गर्छन् । यो सामान्य कार्य हो । तर डायविटिज भएका बिरामीमा शारीरिक व्यायाम कम भएमा विस्तारै मोटोपना बढ्दै जान्छ र रगतबाट कोशिकामा जानुपर्ने सुगर इन्सुलिन भन्ने हर्मोनले पठाउँछ । इन्सुलिनले साँचोको काम गर्छ । इन्सुलिनले ढोका खोलेपछि सुगरलाई कोशिकामा छिराउने काम गर्छ । खानपान नियन्त्रण र शारीरिक व्यायाम नभएमा विस्तारै व्यक्ति मोटाउँदै जान्छ । शरीरमा बोसो जम्न थाल्छ । यो अवस्थामा इन्सुलिन त बनिरहेको हुन्छ तर यो इन्सुलिनले त्यति राम्रोसँग काम गर्दैन । काम नगरेपछि ढोका राम्रोसँग खुल्दैन । त्यसपछि रगतमा सुगर लेवल बढेको बढ्यै हुन्छ तर कोशिकाहरुमा सुगर पुग्न पाउँदैन । त्यसले गर्दा बारम्बार भोक लाग्ने र व्यक्ति दुब्लाउँदै जाने गर्छ ।


दुव्लाउनुमा कोशिकाहरुमा सुगर नभएपछि कोशिकाले इनर्जीका लागि शरीरमा भएको बोसो पगाल्न थाल्छ । त्यसपछि पिसाबमा एसिटोन देखिन थाल्छ ।


शुरुमा इन्सुलिनको सिक्रेसन राम्रोसँग हुन सक्दैन । त्यसपछि लामो समयपछि इन्सुलिन बन्न कम हुँदै जान्छ र बन्न छोड्छ । यसरी फरक मेकानिजमका लागि फरक औषधि हुन्छ । इन्सुलिन रेसिस्टेन्ट (इन्सुलिन त बनेको छ तर त्यसले काम गरेको छैन) मा मेटफोर्मिन औषधिहरुले विस्तारै सुगर नियन्त्रणमा ल्याउँछ । कोही औषधिहरुले इन्सुलिन निकाल्ने काम गर्छन् । शरीरमा इन्सुलिन बन्न छाडेपछि इन्सुलिन लगाउनुपर्छ ।


कुनै औषधि खाना अघि, कुनै औषधि खानासँगै, कुनै खानपछि खाने हुन्छन् । यसका लागि चिकित्सकसँग परामर्श लिन जरुरी हुन्छ ।


मोनिटरिङ


डायविटिजको औषधि खाइरहेका व्यक्तिहरुले महिनामा एकपटक खाली पेट र खानापछिको सुगर लेबल, प्रेसर र वेटको मोनिटरिङ गर्न जरुरी हुन्छ ।

त्यसपछि आवश्यकता अनुसार ३ महिनादेखि ६ महिनामा डाक्टरलाई भेट्नुपर्छ । प्रत्येक ३ महिनामा एचबीएवनसी जाँच गराउनुपर्छ । प्रत्येक ३ महिनादेखि १ वर्षमा मिर्गौला, कोलेस्टेरोलको जाँच गराउनुपर्छ । वर्षमा एकपटक आँखाको जाँच गर्नुपर्छ । छाति भारी भएमा, हिँडडूल गर्दा स्वाँ स्वाँ हुन थालेमा मुटुको डाक्टरलाई देखाउन जरुरी हुन्छ । बेलाबेलामा खुट्टाको नङहरुको ख्याल गर्नुपर्छ । खुट्टामा घाउ भएनभएको ख्याल गर्नुपर्छ । सुगरका बिरामीहरुमा घाउ भएको थाहा हुँदैन ।

प्रतिक्रिया दिनुहोस्