Logo
|
Friday 26th April 2024
Logo

epaper

के हो फाइब्रोमायल्जिया ? कारण, लक्षण, उपचार र बच्ने उपाय

शरीरका विभिन्न भागमा सरी सरी दुख्ने खालको रोग



घटना नं. १
फाइब्रोमायल्जियाका कारण झूठो आरोप लाग्ने गरेको छ भने पारिवारिक विखण्डनसमेत ल्याएको पाइन्छ । काठमाडौंकी ३८ वर्षीया एक महिलाले यस्तै झूटो आरोप खेपेर पारिवारिक विखण्डनसमेतको सामाना गर्नुपर्यो । उनी सिभियर फाइब्रोमायल्जियाबाट पीडित थिइन् । फाइब्रोमायल्जियमा रगत परीक्षण गर्दा कुनै समस्या नदेखिने भएकाले परिवारले नाटक गरेर ठगेको आरोप लगाउँथ्यो । परिवारको अपहेलना र श्रीमानको चाहना पूरा गर्न नसक्दा सम्बन्ध विच्छेद गर्नुपर्ने समेतको वातावरण सृजना गरेको थियो ।

घटना नं. २
ओपिडीमा आउने अधिकांश महिला र पुरुषहरु धेरैजसो एक्लै आउँछन् । परिवारका सदस्यको व्यस्तताका कारण आउन नपाएको गुनासो गर्छन् । फाइब्रोमायल्जिया भएका व्यक्तिको भावनात्मक पीडा बुझेको पाइँदैन ।

वास्तवमा फाइब्रोमाल्जिया के हो ?
फाइब्रोमायल्जिया एक खालको पेन डिसअर्डर (दुखाई विकार) हो । यसलाई मांशपेशी र हड्डीसम्बन्धिको दुखाइ (मस्किलोस्केलेटल पेन) भनिन्छ । यो शरीरका विभिन्न भागमा सरी सरी दुख्ने खालको रोग हो । यो रोग पुरुषको तुलनामा प्रायः महिलामा बढी पाइन्छ ।

सामान्यतया ४० देखि ५० वर्ष उमेर समूहका महिला फाइब्रोमायल्जियाबाट पीडित हुने गरेका छन् । यो धेरैजसोले नबुझेको रोग हो । फाइब्रोमायल्जिया हुने कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । खासगरी यो आफैं पनि उब्जन सक्छ र बाथरोगसम्बन्धि कारणले पनि हुनसक्छ ।

यसमा के कस्ता लक्षण देखिन्छन् ?
धेरै थकाइ लाग्ने, स्मरणशक्ति कम भएर जाने, काम गर्दा एकत्रित हुन नसक्ने, दुखाईले निद्रा नलाग्ने, छटपटी हुने, पेटसम्बन्धि रोग (इरिटेवल वाउल सिन्ड्रोम जसमा कसैलाई बढी झाडापखाला र कसैलाई कब्जियत हुने तर अल्टरनेटिभ प्यार्टनमा हुन्छ ।) धेरै बिरामीहरुले गर्ने गुनासो पूरै शरीर दुख्यो, थाक्यो र गल्योे भन्ने नै हो ।

यसको परीक्षण विधि के हो ?

चिकित्सकीय जाँचका लागि पुरानो अन्तर्राष्ट्रिय गाइडलाइन र नयाँ गाइडलाइनअनुसार फाइब्रोमायल्जियाको छोटो वर्णन गर्न जरुरी हुन्छ । पुरानो गाइडलाइनअनुसार फाइब्रोमायल्जिया शरीरको १८ वटा भागमा सर्दै दुख्ने गर्छ । जसमध्ये ११ भागमा छुँदा दुख्ने गर्छ ।

गर्दनको अगाडिको भाग, गर्दनको पछाडिको भाग, कुहिना, हिप, कम्मर, घुँडा आदिमा एकपछि अर्कोमा सर्दै दुख्छ र छुँदा पनि अत्यधिक दुखाइ महसुस हुन्छ । तर रगत परीक्षण गर्दा कुनै समस्या देखिदैन ।

विगतमा यसैगरी फाइब्रोमायल्जिया पहिचान गरिन्थ्यो । तर यसरी गर्दा स्वास्थ्य अभ्यासकर्ताहरुबाट पनि यो रोग गलत निदान भएको वा रोग पत्ता नलागेको आधारले फेरि नयाँ गाइडलाइन बनाइएको छ । नयाँ गाइडलाइनअनुसार, विगत ३ महिनाभन्दा बढी समयदेखि कम्मरभन्दा मुनि र माथि, दाहिनेपटी र देब्रेपटी दुखाइ भइरहेमा फाइब्रोमायल्जियाको शंका गर्नुपर्छ ।

फाइब्रोमायल्यिाका बिरामीमा वाथ पनि हुनसक्छ ?

फाइब्रोमायल्जियाको क्लिनिकल्ली परीक्षण गर्नुअघि निश्चित रोगहरु रुल आउट गर्नुपर्छ । जस्तोः भिटामिन डी डिफिसियन्सी, हाइपोथायराइडिजम, र्युमेटोराइड आर्थराइटिस, लुपस बाथ आदि रोगहरुसँगै फाइब्रोमायल्जिया आउनसक्ने भएकाले उल्लेखित रोग नभएपछिको अवस्थामा फाइब्रोमायल्जिया शंका गर्नुपर्छ ।

तर एउटा रोग लाग्दैमा फाइब्रोमायल्जिया होइन भनेर ठोकुवा गर्न सकिदैन । त्यसैले डाक्टरसँग परामर्श लिनुपर्छ । वाथलगायतका अन्य रोगहरु भएनभएको पहिचान गर्नुपर्छ ।

फाइब्रोमायल्जियासँगै अरु बाथ पनि देखापर्छ ?
र्युमेटोआर्थराइटिस भएका व्यक्तिहरुमा फाइब्रोमायल्जिया भएको पाएका छौं । त्यसैले सुन्निने समस्या भएमा एन्टिवडी टेष्ट गर्नुपर्छ । र्युम्याटोआर्थटराइटिसका लागि एन्टिसिसिपी, लुपस बाथका लागि एन्टिडिसडिएनए, एएनए जाँच गराउनुपर्छ र वाथ र फाइब्रोमायल्जिया दुवै रोगको सँगसँगै उपचार गर्नुपर्ने पनि हुनसक्छ ।

फाइब्रोमायल्जियको उपचार के हो ?
फाइब्रोमायल्जिया भएका बिरामीले आफ्नो रोग बुझ्न जरुरी हुन्छ । यसलाई नियन्त्रणमा ल्याउने विश्वास लिनुपर्छ र घरपरिवारलाई बुझाउने कोसिस गर्नुपर्छ । यसको सबैभन्दा महत्वपूर्ण उपचार चिकित्सकीय परामर्शमा फिजियोथेरापी हो । मसल स्ट्रेन्थ र फ्लेक्जिविलिटी बढाउने शारीरिक अभ्यासमा विशेष ध्यान दिनुपर्छ ।

फाइब्रोमायल्जिया उपचार गर्दा बाथजस्तो इम्युनिटी पावर नै घटाउनुपर्ने कडा औषधिहरुको आवश्यकता पर्दैन । यो निको नहुने रोग भएकाले लक्षणहरलाई नियन्त्रणमा राख्न जरुरी पर्छ ।


यसमा खानपान बार्नुपर्छ ?
फाइब्रोमायल्जिया पनि एक खालको बाथ भएकाले दाल, गेडागुडी, माछा मासु बार्ने प्रचलन पाइन्छ । तर खानपान बार्न जरुरी पर्दैन । बारेर रोग नियन्त्रणमा आउने पनि होइन । बिरामीले यस्ता पोषिला खाना झन खानुपर्छ । तर युरिक एसिड बाथमा खापान बार्नुपर्छ ।

जिज्ञासा र जवाफ

म ३० वर्षको भएँ । कार्यालयमा अलि भारी काम भएको दिन जीउ पूरै दुख्छ । यो के कारणले होला ?
विपना, काँडाघारी काठमाडौं ।

उमेरका कारण फाइब्रोमायल्जिया पनि हो कि भन्ने शंका गर्नुपर्छ । भारी भनेको कस्तो खालको काम हो ? भन्ने कुरा खुलाउन जरुरी हुन्छ । उभिएर गर्नुपर्ने हो कि दिनभर कुर्सीमा बसेर गर्नुपर्ने काम हो ? कतिपय रोग पोस्चर सम्बन्धित पनि हुनसक्छ जसलाई साधारण मेकानिकल पेन मात्र भनेर वर्णन गरिन्छ ।

यदि दुखाई एकैनासले भइरहेको छ, पोष्चर नमिलेको र भारी कामका कारण कहिलेकाँही मात्र हुने हो भने फाइब्रोमायल्जिया पनि हुनसक्छ । यसका साथै कार्यालयभित्र बसिरहने अवस्थामा भिटामिन डी डिफेसेन्सीका कारण पनि जीउ पूरै दुख्नसक्छ । कहिलेकाँही थायराइडको समस्याले पनि हुनसक्छ ।

यी सबै समस्या पहिचान भइसकेपछि मात्र फाइब्रोमायल्जिया भएनभएको एकिन गर्न सकिन्छ । त्यसैले समस्या एकिन गर्न एकपटक फाइब्रोमायल्जिया डाक्टरसँग परामर्श लिन जरुरी हुन्छ ।

मेरो उमेर ४५ वर्ष भयो । जीउ दुख्ने गल्ने हुन्छ । होलवडी चेकअपमा थायराइड, युरिक एसिड सबै जाँचहरु गराइसकेँ, सबै सामान्य छ । जीउ दुख्ने गल्ने ठीक नै भएको छैन ।
अस्मिता विश्वकर्मा, जनकपुर


फाइब्रोमायल्जिया भएनभएको पत्ता लगाउन क्लिनिकल्ली डायग्नोसिस गरिन्छ । यो कुनै विशेष रगत जाँच गरेर देखिने रोग होइन । होल वडी चेकअपमा फाइब्रोमायल्जिया पर्दैन । फाइब्रोमायल्जियामा अरु खालको बाथ पनि हुने भएकाले निश्चित परीक्षणहरु गर्न जरुरी हुन्छ । बढी थकान लाग्ने, निद्रा नपर्ने, मुड स्वीङ भइरहने र कतिपय बिरामी डिप्रेसिभ मुडमा पनि जानसक्छन् । त्यसैले एकपटक डाक्टरसँग परामर्श लिन जरुरी हुन्छ ।

म २५ वर्षकी छु । तर मेरो जीउ दुःख्छ र औंला पनि सुन्निएको छ । के मलाई पनि फाइब्रोमायल्जिया त भएको होइन ?
प्रमिला गुरुङ वुटवल


फाइब्रोमायल्जियामा जीउ दुख्नसक्छ । तर औंला सुन्निने भन्ने हुँदैन । उमेरको हिसाबले यहाँलाई ¥युम्याटोअर्थराइटिस (गठिया बाथ वा लुपस वा हड्डी खिइने बाथ (अस्टियोआर्थराइटिस) वा अरु कुनै पनि वाथ हुनसक्छ । त्यसैले जाँच गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्