निःसन्तान हुनुको कारण बुझेर मात्र उपचार खोज्नुहोस्
कोशिस गरेको एक वर्षसम्म गर्भमा बच्चा नबसेमा निःसन्तान सम्बन्धि समस्या
‘हामीले बच्चाका लागि कोसिस गरेको एक वर्ष भन्दा बढी भइसक्यो । तर बच्चा हुन सकेको छैन’ भनेर धेरै दम्पती आउनुहुन्छ । कोही वर्षौदेखि बच्चा नभएको समस्याले पिरोलिएर आएको पाइन्छ । वास्तवमा कुनैपनि दम्पतीले कोशिस गरेको एक वर्षसम्म गर्भमा बच्चा नबसेमा निःसन्तान सम्बन्धि समस्या भएको मानिन्छ र चिकित्सकसँग परामर्श लिन आवश्यक पर्छ । श्रीमान श्रीमती दुबैमा निःसन्तानको समस्या हुनसक्छ । त्यसैले महिला र पुरुष दुबैमा प्रजनन क्षमताको मूल्यांकन गर्न जरुरी हुन्छ ।
यसरी नेपाल लगायत विश्वभरनै निःसन्तानको समस्या बढ्दो छ ।
ढिला विवाह गर्ने र ढिला बच्चा जन्माउने, एकभन्दा बढी यौनपार्टनर, असुरक्षित गर्भपतन र यौनजन्य संक्रमणले निःसन्तानको जोखिम बढाएको पाइन्छ । त्यस्तै, विभिन्न संक्रमणले फलोपियन ट्युब र पाठेघरमा असर पुर्याउन सक्छ । त्यसैगरी क्षयरोगद्धारा हुने संक्रमणले महिलामा निःसन्तानको जोखिम निम्त्याउनसक्छ । यसलाई फिमेल जनाइटल ट्रयाक ट्युबरक्लोसिस भनिन्छ । यसले फलोपियन ट्युवको कार्य बिगार्ने, ट्युब ब्लक गर्ने र पाठेघरको भित्री तहमा असर गर्नसक्छ । यसको असर अण्डाशयमा समेत देखिनसक्छ । यसले अण्डाको गुणस्तर र ओभूलेसनमा समस्या आउन सक्छ ।
निःसन्तानको मुख्य कारक
ओभूलेटरी डिसअर्डर
सामान्य अण्डा बन्ने, बढ्ने र फूट्ने प्रक्रियामा समस्या भएमा गर्भाधारण नहुनसक्छ । यसलाई ओभुलेटरी डिसअर्डर भनिन्छ । यो धेरै महिलाहरुमा निःसन्तानको समस्या गराउने सबैभन्दा कमन कारक मानिएको छ । यो आंशिक रुपमा इन्डोक्राइन हर्मोनको विकारका कारणले पनि हुनसक्छ । जस्तैः थायराइड डिसअर्डर, हाइपरप्रोल्याक्टिनेमिया आदि ।
ट्युब ब्लक
प्रजनन क्षमतामा अवरुद्ध फलोपियन ट्युवहरु निःसन्ताको एक प्रमुख कारण हो । शुक्राणु र अण्डाको निषेचन फलोपियन ट्युबमा हुन्छ । अवरुद्ध ट्युवमा शुक्राणु र अण्डा निषेचित हुन सक्दैन । यदि दुवैतिरको ट्युव पूर्ण रुपमा अवरुद्ध भएमा आईभिएफ (इनभिट्रोफर्टिलाईजेसन) उपचारबिना गर्भधारण असम्भव हुन्छ । यदि एउटा फलोपियन ट्युब मात्र अवरुद्ध भएमा तपाईं सम्भावित प्राकृतिक रुपमा गर्भवती हुन सक्नुहुन्छ । दुवै ट्युव अवरुद्ध भएको अवस्थामा आईभिएफ सिफारिस गर्नुपर्ने हुनसक्छ ।
खासगरी ट्युव ब्लक हुने कारणहरुमा पेल्विक इन्फ्लामेटरी, इन्डोमेट्रियोसिस, क्षयरोग, यौन सञ्चारित संक्रमण एवं क्ल्यामिडिया र गोनोरिया रोग रहेका छन् । साथै विगतमा नली अवरुद्ध हुने किसिमका शल्यक्रियाका कारण पनि नली अवरुद्ध हुनसक्छ ।
पाठेघरमा समस्या
महिलाको पाठेघरमा जन्मजात पनि समस्या हुनसक्छ । यसलाई कन्जनाइटल युट्राइन एनोमाली भनिन्छ । त्यस्तै पछि हुने समस्या अक्वाइर्ड युट्राइन समस्या हो । फाइब्रोइड, एडिनोमायोसिस, इन्डोमेट्रोइसिस र पोलिप जस्ता समस्याहरुले पाठेघरमा भ्रूण टाँसिन र वृद्धि विकास हुन गा¥ह«ो हुन्छ ।
पुरुषमा निःसन्तानको समस्या
पुरुषको वीर्यमा शुक्रकिटको समस्या भएमा निःसन्तानको जोखिम बढी हुन्छ ।
शुक्रकिटको संख्यामा कमी, शुक्रक्रिटको चलायमान शक्ति कमजोर, शुक्रक्रिटको आकारप्रकार कमजोर भएमा पुरुषमा निःसन्तानको समस्या देखिनसक्छ ।
यसका साथै सेक्सुअल डिसफंसन (इरेक्टाइल डिसफंसन, इजाकुलेसन डिसफंगसन) का कारणले पनि निसन्तानको समस्या आउनसक्छ ।
निदान
निःसन्तानको समस्या लिएर आउने दम्पत्तिमध्ये दुवैको प्रजनन क्षमता मूल्यांकन गर्न जरुरी पर्छ । पुरुषहरुको शुक्रक्रिटको जाँच गर्नुपर्छ । महिलाहरुको भिडियो एक्सरेमार्फत अण्डकोषमा अण्डा र पाठेघरको स्थिति पहिचान गर्नुपर्छ । यसका साथै ओभरिएन रिजर्भ टेस्ट (एन्टिमुलेरियन हर्मोन—एएमएच) टेष्ट पनि गर्न जरुरी हुन्छ । महिनावारीको अवस्थाबाट ओभुलेसन भएनभएकोबारे जानकारी लिनुपर्छ । महिलाको प्रजनन क्षमता जाँच, सिरियल स्क्यान गरेर अण्डा बढ्ने र फुट्ने क्रमबारे पनि जानकारी हुनुपर्छ । यदि ट्युब नर्मल भएमा भिडियो एक्सरेबाट देखिदैन ।
ट्युवको स्थिति पत्ता लगाउन हिस्टेरोसाल्पिनोग्राम (एचएसजी) वा सोनोसाल्पिंगोग्राफी (एसएसजी) गर्न सकिन्छ । एचएसजीअन्तर्गत योनीबाट सानो क्याथेटर छिराएर हेर्ने गरिन्छ ।
ट्युव ब्लकेज पत्ता लगाउन क्याथेटरमा डाइ (एक्स–रेमा देखिने तरल पदार्थ) हालिन्छ । यदि दुवै ट्युवमा डाइ (स्पिल अफ डाई) देखिएमा ट्युब नर्मल भएको मानिन्छ । प्राकृतिक गर्भाधारणका लागि ट्युबको महत्वपूर्ण भूमिका हुन्छ । त्यस्तैगरी एसएसजीमा क्याथेटर छिराएर स्लाइन पानीले धकेलिन्छ अनि ट्रान्सभेजाइनल स्क्यान (टिभिएस) मार्फत स्लाइन स्पिल भएनभएको हेरिन्छ । ट्युव टेष्टमा सबैभन्दा डायग्नोष्टिक चाँही ल्याप्रोस्कोपिक क्रोमोट्युवेसन हो ।
बच्चा बन्ने प्रक्रिया
अण्डकोषको छेउमा दुइओटा फालोपियन ट्युब हुन्छन् जुन ट्युब पाठेघरसँग जोडिएको हुन्छ । अण्डकोषमा बनेको अण्डा निश्चित आकार पुगेपछि फुट्छ, जसलाई ओभूलेसन भनिन्छ । ओभूलेसन भएपछि उक्त अण्डा ट्युबमा आएर बस्छ । सोही बेला शुक्रकिट र अण्डाको मिलन भई भू्रण बन्ने प्रक्रिया सुरु हुन्छ । उक्त भू्ण चार–पाँच दिनपछि पाठेघरभित्र गएर टाँसिन्छ र गर्भावस्था हुन्छ । यसलाई हामी इम्प्लान्टेसन भन्छौं । त्यसपछि विस्तारै भ्रूणको पाठेघरमा विकास हुन थाल्दछ ।
उपचार विधि
सबै निःसन्तान सम्बन्धि समस्या भएका सबैलाई एकैखालको उपचार विधिले पुग्दैन । दम्पतीको उमेर, बिहे गरेको समयावधि, श्रीमान श्रीमतीलाई कुनै समस्या भएनभएको जाँच गर्नुपर्छ । श्रीमान श्रीमति दुबैको छुट्टाछुटै मुल्याङ्कन गर्नुपर्छ र ‘कसलाई कुन उपचार विधि आवश्यक पर्छ’ भन्ने निक्र्योल गर्नुपर्छ ।
यदि अण्डा नबन्ने समस्या भएमा ओभूलेटरी डिसअर्डर सम्बन्धी उपचार गर्नुपर्ने हुनसक्छ । यो उपचारका लागि औषधि र इन्जेक्सनको जरुरत पर्छ । त्यसैगरी फलोपियन ट्युव ब्लक भएको अवस्थामा आइभिएफ उपचारविधि फलदायी मानिन्छ ।
त्यस्तै अनएक्स्प्लेन्ड इन्फर्टिलिटीका लागि आइयूआई अनि आईभिएफ विधि प्रभावकारी मानिन्छ । आइयूआई विधिमा शुक्रकिटलाई प्रशोधन गरेर राम्रो चलायमान र आकारप्रकार राम्रो भएको शुक्रकिटलाई छानेर ओभुलेसन भएको समयमा आईयूआई क्याथेटरमार्फत पाठेघरमा राखिन्छ । शुक्रकिटको संख्यामा हल्का कमी, इरेक्टायल डिस्फंसनलगायत सेक्सुअल डिफर्मिटी भएका व्यक्तिलाई आइयूआई विधि प्रभावकारी मानिन्छ । यदि कसैको शुक्रकिटको संख्या अत्यन्तै कम छ वा सिमेन एनालाइसिस गर्दा शुक्रकिट नै भेटिएन भने सिधा अण्डकोषबाट शुक्रकिट निकाल्ने (स्पर्म रिट्रिभ) गरी इक्सी प्रविधिबाट उपचार गर्न सकिन्छ । यसमा शुक्रकिट निकालेर शुक्रकिटलाई इक्सी प्रविधिबाट भ्रूण बनाउन सकिन्छ ।
यसरी शुक्रकिटमा समस्या देखिनुमा मद्यपान, धुम्रपान, कुनै प्रकारको लागू औषधको सेवन, रेडियोएक्टिभलगायतका रसायनसँगको सम्पर्कमा रहनु पनि एक हो ।
नशालु पदार्थले रगतका नशाहरुलाई खुम्चन गई राम्रोसँग रक्तसञ्चार हुन पाउँदैन र शुक्रकिटको संख्या र बृद्धि विकासमा प्रभाव पर्दछ । अस्वस्थकर जीवनशैली, मधुमेह, उच्च रक्तचापजस्ता रोगको प्रत्यक्ष असर शुक्रकिटको गुणस्तर र संख्यामा असर पार्न सक्छ ।
गर्भाधारण हुने समय
महिलाहरुको ओभुलेसन भएर फुटेको अण्डाको जीवित रहने समयावधि २४—४८ घण्टासम्म हुन्छ । यो प्रजनन हुने समय हो । यो बेलामा यौन सम्पर्क हुन नसकेमा गर्भाधारण हुने मौका कम हुन्छ । पुरुषहरुको भने ७२ घण्टासम्म शुक्रक्रिटको जीवित रहने समय हुन्छ ।
त्यसैले सन्तानको चाहना राख्ने दम्पतीले एक वर्ष सम्म कोसिस गर्दा पनि बच्चा नभएमा अथवा कुनै किसिमको प्रजननसम्बन्धि समस्या श्रीमान वा श्रीमतीमा रहेमा/उमर बढी भएमा वर्षदिन पनि नकुरी एकपटक प्रजनन विशेषज्ञसँग परामर्श लिनुपर्दछ ।
उचित परामर्श र प्रजनन् विधिबारे जनचेतना फैलाउन सकेमा निःसन्तानको समस्या धेरै हदसम्म कम हुनसक्ने देखिन्छ । उपचारका लागि आउने सबैले आइभिएफ नै गर्नुपर्छ भन्ने हुँदैन । सामान्य उपचारबाट पनि गर्भाधारण गर्न सकिन्छ ।