Logo
|
Wednesday 8th May 2024
Logo

epaper

स्तन क्यान्सरमा सचेत रहनुस्, स्तन क्यान्सर नदुख्ने गाँठाबाटै शुरु

स्तनकोे समस्या लिएर आउने करिब १० प्रतिशतमा स्तन क्यान्सरको समस्या



डा. सुजिता हिराचन,स्तन क्यान्सर विशेषज्ञ

अस्पतालको ओपिडी कक्षमा अधिकांश व्यक्तिहरु स्तनमा नदुख्ने गाँठाहरुको समस्या लिएर आएको पाइन्छ । तर यस्ता गाँठालगायत स्तनकोे समस्या लिएर आउने करिब ९० प्रतिशतमा क्यान्सरको समस्या पाइँदैन । करिब १० प्रतिशतमा मात्र स्तन क्यान्सरको समस्या हुनसक्छ ।


प्रायः स्तन क्यान्सर नदुख्ने गाँठाबाटै शुरु हुन्छ । स्तन क्यान्सर शरीरका अन्य भागमा फैलिएपछि आउने बिरामीहरुको पनि कमी छैन । उनीहरु प्रायः छालाहरु धस्रेर, कुहिएर, सास फेर्न गाह्रो भएर, पेट फूल्ने समस्या लिएर आउने गर्छन् । प्रायः सम्बन्धित विशेषज्ञहरुले सिफारिस गरेको पाइन्छ ।


स्तन क्यान्सरको प्रमुख कारण के हो ?
हालसम्म स्तन क्यान्सर हुने ठोस कारण पत्ता लागेको छैन । यसलाई इडियोप्याथिक समूहमा राखिएको छ । स्तन क्यान्सर हुने ठोस कारण पत्ता नलागेपनि महिलाको बढ्दो उमेर, अविवाहित वा ३० वर्ष कटेपछि सन्तान जन्माउने महिला, स्तपान नगराउने महिला, हर्मोनल रिप्लेसमेन्ट थेरापी (महिनावारी सुकिसकेपछि औषधि चलाएर हर्मोनलाई व्यालेन्समा ल्याउने उपचार विधि), वंशाणुगत आदि स्तन क्यान्सरका जोखिम कारक मानिन्छ ।


स्तन क्यान्सरको लक्षण कस्तो हुन्छ ?
स्तन क्यान्सर सबै उमेर समुहका महिलालाई हुनसक्छ । नेपालको सन्दर्भमा वयस्क उमेरका युवतीलाई स्तन क्यान्सर कमन देखिएको छ । स्तन क्यान्सर भएका महिलाको स्तनको निप्पल भित्र धसिएको हुन्छ । यसलाई निप्पल रिट्रयाक्सन भनिन्छ । कहिलेकाहिँ निप्पलबाट रगत पनि आउनसक्छ ।


स्तन क्यान्सरमध्ये कुन चाँडै फैलिन्छ ?

स्तन क्यान्सर धेरै प्रकारका हुन्छन् । तिमध्ये म्यालिग्नेन्ट फाइलोइड ट्युमर अन्यन्तै चाँडो फैलिने क्यान्सर हो । यसले एकदुई हप्तामै ठूलो रुप लिने गर्छ ।

स्तनमा गाँठा देखिएमा के गर्ने ?
स्तनमा गाँठा देखिएका महिलाहरुले डाक्टरलाई देखाउनुपर्छ । मलाई क्यान्सर लाग्दैन भनेर हेलचेक्र्याइ गर्न हुँदैन । भिडियो एक्सरे मासुको जाँच (बायोप्सी) आदिबाट समस्या पहिचान गर्न सकिन्छ । स्तनको गाँठो क्यान्सर नभएर फाइब्रो एडिनोमा ट्युमर पनि हुनसक्छ । यो ट्युमर १५–३५ वर्षका वयस्क महिलाहरुमा कमन रहेको छ । यो गुच्चा आकारको हुन्छ । यसको जरा एउटै भएपनि एक ठाउँबाट अर्को ठाउँमा सरिरहन्छ । त्यसैले यसलाई ब्रेस्ट माउस पनि भनिन्छ । फाइब्रो एडिनोमा ट्युमर ठूलो भएमा शल्यक्रिया गर्नुपर्छ । कहिलेकाहीँ यो ट्युमर आफै बिलिन पनि हुनसक्छ । कतिपय महिलामा प्रेग्नेन्सी र मेनोपजपछि आफै रिग्रेस भएर जान्छ । कुनै गाँठो कडा भएर बसेपनि यसले क्यान्सर भने गराउँदैन ।


स्तन क्यान्सरको पहिचान कसरी गर्ने ?


गाँठागुठी बिस्तारै बढ्दै गएपछि अचानक थाहा हुन्छ । अधिकांश स्तन क्यान्सरका बिरामीलाई प्रारम्भिक चरणमा दुखाइ महशुस हुँदैन । दुखाइ महशुस नभएकै कारण बिरामीहरु अन्तिम अवस्थामा अस्पताल आइपुग्छन ।

२०—२५ वर्ष उमेर कटेपछि हरेक महिलाले महिनाको एकपटक स्तनको जाँच आफै गर्नुपर्छ । ऐनामा हेरेर होस वा हातले छामेर भएपनि स्तनमा गाँठा भएनभएको पहिचान गर्नुपर्छ । ४० वर्ष कटेका महिलाहरुको म्यामोग्राम गरेर जाँच गर्नुपर्छ ।

त्यो भन्दा कम उमेरका महिलाहरुले म्यामोग्राम गर्न हुँदैन । छामेर गाँठा पत्ता लगाउनुपर्छ ।

स्तन क्यान्सरको सफलता दर कति छ ?


प्रारम्भिक चरणको स्तन क्यान्सरमा सही उपचार भएमा सफलता दर ९२ प्रतिशतसम्म रहेको छ । करिब ३०—४० वर्षपछिसम्म पनि कुनै समस्या हुँदैन ।


स्तन क्यान्सरबाट कसरी बच्ने ?
हरेक महिना आफ्नो स्तनको परीक्षण आफै गर्नुपर्छ । आफ्नो स्तनमा आउने स–साना परिवर्तनलाई ख्याल गर्नुपर्छ । यो छामेर पत्ता लगाउनुपर्छ । अमेरिकन क्यान्सर सोसाइटीले ४० वर्ष कटेका महिलाले वर्षको एकचोटी म्यामोग्राम जाँच गराउनुपर्ने उल्लेख गरेको छ ।

नेपालको सन्दर्भमा ४० वर्ष कटेका महिलाहरुले दुइ वर्षमा एकचोटी म्यामोग्राम जाँच अनिवार्य रुपले गराउनुपर्दछ ।

डा. सुजिता हिराचन त्रिवि शिक्षण अस्पतालमा असिस्टेन्ट प्रोफेसर एवं जनरल सर्जरी विभागअन्तर्गत ब्रेस्ट र थायराइड युनिटमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्