Logo
|
Monday 20th May 2024
Logo

epaper

विदेशीलाई क्वारन्टीनको नियम अन्त्य गर्दै चीन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनले आफ्नो देशमा आगमन गर्ने यात्रुहरू क्वारन्टिनमा बस्नुपर्ने नियम ज्यानुअरी ८ बाट अन्त्य हुने घोषणा गरेको छ।

चीनले अपनाउँदै आएको शून्य कोभिड नीति अन्तर्गत लगाइएका प्रतिबन्ध शृङ्खलाबद्ध रूपमा हटाउने क्रममा गरिएको यो पछिल्लो घोषणा हो।

कोभिड सङ्क्रमणका घटना चीनमा तीव्र रूपमा बढेको छ र स्वास्थ्यकर्मीहरूले त्योसँग जुध्न आफूहरूले सङ्घर्ष गरिरहेको बताएका छन्।

कोभिडबारेका नियम परिवर्तनका सम्बन्धमा आफ्नो पहिलो टिप्पणी गर्दै राष्ट्रपति सि जिनपिङले अधिकारीहरूलाई जीवन बचाउन जे “सम्भव” हुन्छ त्यही गर्न आह्वान गर्नुभएको छ ।


उहाँलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमहरूले देशले नयाँ अवस्थाको सामना गरेको र त्यसप्रति थप लक्षित प्रतिक्रिया जनाउन आवश्यक रहेको उहाँले बताउनुभएको जनाएका छन्।

चीनले कोभिडबारेका नयाँ तथ्याङ्क सार्वजनिक गर्न बन्द गरेको छ तर प्रत्येक दिन हजारौँ मानिसको ज्यान गइरहेको हुनसक्ने ठानिएको छ।

सन् २०२० को मार्चयता चीन आगमन गर्ने सबै यात्रुहरूले क्वारन्टिनमा बस्नुपर्ने बाध्यकारी नियम लगाइएको थियो।

तर त्यसरी क्वारन्टिन बस्नुपर्ने समय भने तीन साताबाट अहिले पाँच दिन बस्नुपर्ने गरी उल्लेख्य रूपमा घटाइएको थियो।

नयाँ नियम अनुसार कोभिडलाई ए वर्गको सङ्क्रामक रोगबाट बी वर्गमा झारिएको छ जसको अर्थ अब क्वारन्टिनमा बाध्यकारी रूपमा बस्नुपर्दैन भन्ने हो।

चीनले कोभिड महामारीको व्यवस्थापन कसरी गरेको थियो भन्ने विषयले राष्ट्रपति सीलाई अप्ठ्यारो स्थितिमा पुर्‍याएको विश्लेषकहरू बताउँछन्।

उहाँकै कारण शून्य कोभिड नीति अपनाइएको थियो र त्यस कारण अर्थतन्त्रलाई असर परेको र मानिसको जीवनलाई त्यसले धेरै हदसम्म प्रतिबन्धात्मक बनाएको आरोप उहाँमाथि लाग्दै आएको छ।

तर त्यसलाई हटाए पनि अब भने उहाँले अस्पतालमा भर्ना भएकाहरू र खास गरी वृद्ध वृद्धामा देखिएको उल्लेख्य सङ्क्रमणको जिम्मेवारी लिनुपर्नेछ।

महामारीको व्यवस्थापनलाई लिएर उहाँमाथि व्यक्त भएको आम आक्रोश उहाँका लागि सबैभन्दा ठूलो जोखिम हो। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्