Logo
|
Wednesday 8th May 2024
Logo

epaper

स्वास्थ्य स्वयंसेविकालाई एक लाख एकमुष्ट



जनस्वास्थ्य सरोकार, नवलपरासी । नवरपरासी (बर्दघाट सुस्तापूर्व) को गैंडाकोट नगरपालिकाले नगरभित्र कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई अवकाशपछि प्रोत्साहनस्वरुप एकमुष्ट एक लाख नगद दिने भएको छ । नगरपालिकाले लामो समय सेवा गरेका वा साठी वर्ष उमेर पुगेर अवकाश लिएका महिला स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रकम दिने निर्णय गरेको हो ।

नगर कार्यपालिकाको बैठकले कम्तीमा पाँच वर्ष सेवा गरी ६० वर्ष उमेर पुगेर सेवा अवकाश भएका महिला स्वयंसेविकालाई रकम उपलब्ध गराउने निर्णय गरेको उपमेयर शान्ति कोइरालाले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘महिला स्वास्थ्य स्वयंसेविकाहरुले नगरका विभिन्न टोलमा सहज स्वास्थ्य सेवा पुर्याउन निःस्वार्थ भावले काम गर्दै आएकाले हामीले उहाँहरुको कामको उच्च मूल्यांकन गर्दै प्रोत्साहनस्वरुप एक लाख रकम उपलब्ध गराउन लागेका हौँ । अहिले कार्यपालिकाको बैठकले निर्णय मात्र गरेको छ । छिटै यो कार्यान्वयनमा आउँछ ।’

साथै, महिला स्वास्थ्य स्वयंसेविकाका रुपमा कम्तीमा पाँच वर्ष सेवा गरेकालाई प्रत्येक वर्षको पाँच हजारका दरले रकम उपलब्ध गराउने निर्णयसमेत कार्यपालिका बैठकले गरेको उपमेयरले जानकारी दिनुभयो ।

उपप्रमुख कोइरालाका अनुसार महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वेच्छाले राजीनामा दिएमा, स्वास्थ्य स्वयंसेविकाको कार्यसम्पादनको कारणबाट जिम्मेवारीबाट हटाइएमा वा उमेर हदबाहेक अन्य कुनै कारणले सेवामा रहन नमिल्ने अवस्थामा भने यस्तो सुविधा उपलब्ध गराउन नगरपालिका बाध्य हुने छैन ।

त्यस्तै, सेवामा बहाल रहँदाको अवस्थामा कुनै कारण मुत्यु भएमा त्यस्ता स्वयंसेविकाको परिवारलाई एक लाख रकम उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । गैंडाकोट नगरपालिकामा हाल ४१ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । चालु आर्थिक वर्ष २०७९ ८० मा मात्रै चार महिला स्वास्थ्य स्वयंसेविकाले उमेरहदका कारण अवकाश पाएका छन् । त्यस्तै, एक स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ भने एक वडा सदस्यमा निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्