Logo
|
Tuesday 7th May 2024
Logo

epaper

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १ हजार जनाको सफल मिर्गौला प्रत्यारोपण



जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार जनाको मिर्गौला प्रत्यारोपण गर्न सफल भएको छ ।

बुधबार मोरङ जिल्लाकी ५० वर्षीया महिलालाई उहाँकै ५७ वर्षका श्रीमानले मिर्गौला दान दिएपछि १ हजार पुगेको हो ।

स्थापनाको १० वर्ष अवधिमा अस्पतालका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा रहेको प्रत्यारोपण टोलीले वर्षेनी करिब २ सय जनाको मिर्गौला प्रत्यारोपण गदै आएको छ ।

भक्तपुर अस्पतालको लागि निर्माण भएको जम्मा १ सय बेड भवनमा केन्द्रले प्रत्यारोपण सेवा सञ्चालन गरेको तथा स्थानको चरम अभावका बाबजुद पनि नेपालमै पहिलो कलेजो प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।

केन्द्रमा एकै दिन ४ जना जीवित व्यक्तिको मिर्गौला प्रत्यारोपण र मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गबाट मिर्गौला र कलेजो प्रत्यारोपण गर्नुका साथै १० वर्षको अवधिमा १ हजार जनामा ९९ प्रतिशत सफलताका साथ मिर्गौला प्रत्यारोपण भएको अस्पतालका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिनुभयो ।

प्रत्यारोपण क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकको ७ प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्ने र भौतिक पूर्वाधार विस्तार गरी केन्द्रलाई ५ सय शय्या विस्तार गरी प्रत्यारोपण सेवालाई सबैको पहुँचमा पुर्‍याउने योजना केन्द्रको रहेको उहाँको भनाई छ ।

नेपालमा वर्षेनी करिब ३ हजार जनाको मिर्गौला फेल हुने गरेको र उनीहरू मध्ये धेरैको अङ्ग प्रत्यारोपण नभएर अकालमा मृत्यु हुने गरेको कार्यकारी निर्देशक डा. श्रेष्ठ बताउनुहुन्छ । प्रत्येक १० जना मध्ये १ जनलाई कुनै न कुनै किसिमको मिर्गौला रोग लाग्ने अनुमान छ ।

विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको अवस्थामा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउन पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

मस्तिष्क मृत्युपश्चात् अङ्ग दान तथा र ती अङ्गबाट प्रत्यारोपण गर्न सकिने व्यवस्था भएता पनि हालसम्म नगन्य सङ्ख्यामा मात्र उक्त कार्य भएको र समयमै मस्तिष्क मृत्यु भएको जानकारी प्राप्त नहुँदा ६ वर्षको अवधिमा जम्मा ४ जना अङ्गदाताबाट प्राप्त ८ वटा मिर्गौला र २ वटा कलेजो मात्र प्रत्यारोपण हुन सकेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्