Logo
|
Thursday 18th April 2024
Logo

epaper

जाडो मौसममा एन्फ्लुएन्जाको समस्या, लक्षण, सजगता, जोखिम र रोकथाम

कस्ता व्यक्तिले एन्फ्लुएन्जाविरुद्धको खोप लगाउने ?




फ्लू अर्थात एन्फ्लुएन्जा एक प्रकारको भाइरसबाट लाग्ने सरुवा रोग हो । जुन एन्फ्लुएन्जा भाइरसले एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्ने गर्दछ । संक्रमित व्यक्तिले सास फेर्दा हावाका स–साना कणमा भाइरस मिसिएको हुन्छ । उक्त हावामा स्वस्थ व्यक्तिले सास फेर्दा संक्रमण सर्छ । कहिलेकहिँ संक्रमितले प्रयोग गरेका सामान वा कपडा प्रयोग गर्दा पनि संक्रमण सर्न सक्छ ।

इन्फ्लुएन्जा भाइरसका ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार स्ट्रेन हुन्छन् । विशेषगरी ‘ए’ र ‘बी’ स्ट्रेनले मानिसलाई बढी संक्रमण गर्छ ।


लक्षण
संक्रमित व्यक्तिलाई सुरुवाती चरणमा खोकी लाग्ने, सिँगान बग्ने, टाउको दुख्ने जस्ता लक्षण देखिन्छ । संक्रमण फैलिँदै गएपछि ज्वरो आउने, मांसपेशी दुख्ने, घाँटी सुख्खा हुने, वाकवाक लाग्ने, वान्ता हुने र झाडापखाला लाग्ने जस्ता लक्षणहरु देखिन सक्छन् ।


विशेषगरी एन्फ्लुएन्जा सिजनल प्याटर्नमा देखिन्छ । यो रोगका विरामी प्रायः असोजदेखि वैशाख महिनामा भेटिन्छन् । तर, पुसदेखि फाल्गुन पीक सिजन भएकाले बच्चा, वृद्धवृद्धा, दम, मुटुरोग जस्ता दीर्घरोगीलाई यसले बढी असर गर्दछ । संक्रमण भएको तीन चार दिनसम्म पनि लक्षण नदेखिने र एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने हुँदा यसले छोटो समयमै महामारीको रूप लिनसक्छ ।


संक्रमित बिरामीले के गर्ने ?
एन्फ्लुएन्जा संक्रमित बिरामीले प्रशस्त मात्रामा तातो पानी पिउनुपर्छ । चिसो र धुवाँधुलोबाट बच्नुपर्छ । यदि ज्वरो र टाउको दुख्ने समस्या भएमा सिटामोल सेवन गर्न सकिन्छ । त्यस्तै सिंगान बग्ने, खोकी लाग्ने भएमा एन्टी हिस्टामाई लिन सकिन्छ । बिरामीलाई धेरै गाह्रो महशुस हुने, कडा ज्वरो आउने, लगातार खोकी लाग्ने र सास फेर्न असजिलो भए तुरुन्त चिकित्सकसंग परामर्श लिनुपर्छ ।


जोखिम
भाइरल संक्रमण हुँदा शरीरको प्रतिरक्षा प्रणालीले रोगविरुद्ध प्रतिकार गरेर ठिक भएपनि अन्य प्रकारका ब्याकटेरियल संक्रमण हुने सम्भावना उच्च हुन्छ । फ्लूमा देखिने लक्षण र ब्याकटेरियल निमोनियाका लक्षण सुरुवती दिनमा उस्तै हुने भएकाले बिरामीले लापरवाही गर्ने गरेको देखिन्छ । जसले निकट भविश्यमा जटिलता सिर्जना गराउन सक्छ ।

उपचार
बिरामीको लक्षण र समाजमा इन्फ्लुएन्जाको प्रकोपको अवस्था हेरेर आरटी –पिसिआर, र्यापीड मोलिकुलर एसे र आरआइडीटीको प्रयोगबाट एन्फ्लुएन्जा पत्ता लगाउन सकिन्छ । सामान्य समस्या भएका बिरामीलाई लक्षणात्मक उपचार गरिन्छ । गम्भीर समस्या भएका बिरामीलाई भने एन्टीभाइरल औषधिको आवश्यकता पर्दछ ।


रोकथाम र बच्ने उपाय
इन्फ्लुएन्जा श्वासप्रश्वासबाट सजिलै सर्ने, लक्षण देखिनु भन्दा पहिले एकव्यक्तिबाट अर्कोका सर्ने, एक पटक रोग लागेपनि शरीरमा यस रोगविरुद्ध लड्ने प्रतिरक्षा क्षमता नबन्ने र भाइरसको स्ट्रेन परिवर्तन भईरहने हुँदा रोग नियन्त्रण र रोकथाम गर्न ठुलो चुनौती देखिएको छ ।


आम सर्वसाधारणले धेरै भिडभाडमा जाँदा मास्कको प्रयोग गर्नुपर्छ । संक्रमित व्यक्तिसँग दुरी कायम गरेर बस्नुपर्छ । त्यस्तै संक्रमितले प्रयोग गरेका कपडा वा अन्य समानको प्रयोग गर्नुहुँदैन । खोक्दा वा हाच्छिउ गर्दा मुख छोप्ने र साबुनपानीले राम्रोसँग हात धुने बानी गर्नुपर्छ ।


इन्फ्लुएन्जाविरुद्धको खोप
एन्फ्लुएन्जाविरुद्धको खोप लगाएमा धेरै हद सम्म रोग नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।


खोपको प्रयोगले एन्फ्लुएन्जा पूर्ण रुपमा रोकथाम नभएपनि यसले गम्भीर प्रकारको संक्रमण हुनबाट बिरामीलाई जोगाउँछ । एक पटक लगाएको खोपले एक वर्षसम्म काम गर्छ । जाडोयाम सुरु हुनु पहिले असोज वा कात्तिकतिर इन्फ्लुएन्जाविरुद्धको भ्याक्सिन लगाउँदा खोपको प्रभावकारिता राम्रो देखिन्छ । यो भ्याक्सिन छ महिनामाथिका सबै उमेर समुहका व्यक्तिहरु लगाउन सक्छन् ।

विशेषगरी दीर्घरोगी, दम, रोग प्रतिरोधात्मक क्षमता कम भएका र बेलाबेलामा रुघाखोकी लागिरहने व्यक्तिहरूले एन्फ्लुएन्जाको खोप लगाउनै पर्छ ।


प्रतिक्रिया दिनुहोस्