मौसमी फ्लूका बिरामी बढ्दै, कसरी साबधानी अपनाउने ?

जनस्वास्थ्य सरोकार, काठमाडौँ । हिउँद सकिन लाग्दा भएको मौसमी परिवर्तनसँगै फ्लूका बिरामीहरू बढेकाले जोखिममा रहेका समूहले सावधानी अपनाउनु पर्ने चिकित्सकहरूले बताएका छन्।
एक साता यता फ्लू पुष्टि हुने बिरामीको सङ्ख्या देखिनेगरी बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विज्ञ डा. शेरबहादुर पुनले जानकारी दिनुभयो ।
‘ल्याब टेस्ट गर्दा दैनिक १२ जना जतिमा इन्फ्लूएन्जा पुष्टि हुन थालेको हो। मौसम परिवर्तन हुने समयमा देखिने भएकाले यसलाई मौसमी फ्लू पनि भनिन्छ,’ उहाँले भन्नुभयो ।
शुक्रराज ट्रपिकल अस्पतालसँग दैनिक औषधोपचारका लागि आउने फ्लूका बिरामीबारे यकिन तथ्याङ्क छैन।
यद्यपि, फ्लू निकै सङ्क्रामक हुने र लक्षण देखिएका सबै परीक्षणका लागि नआउने भएकाले सङ्क्रमितको सङ्ख्या अस्पतालमा देखिएभन्दा निकै उच्च हुन सक्ने जानकारहरू बताउँछन्।
के हो इन्फ्लूएन्जा ?
मौसम परिवर्तन हुने विविध समयमा लाग्ने रुघा खोकी नै इन्फ्लूएन्जा अर्थात् मौसमी फ्लू भएको विज्ञ डा. विमल शर्मा चालिसे बताउनुभयो ।
डा. शर्माका अनुसार मौसमी रुघाखोकी र कोभिड-१९ का लक्षणहरू र यसबाट जोगिने उपाय सामान्यतया मिल्दाजुल्दा हुन्छन्।
‘यो निकै छिटो सर्छ। प्राय सङ्क्रमित मानिसको श्वास प्रश्वासबाट यो सहजै फैलन्छ। त्यसैले बिरामीको नजिक जानु नै पहिलो जोखिम हो,’ उहाँले भन्नुभयो ।
‘परिवारको एक सदस्यबाट अरूमा, स्कूल र होस्टलका विद्यार्थीहरूबाट एकअर्कामा सर्ने भएकाले सतर्कता अपनाउनु उचित हुन्छ। यसको असर रोगप्रतिरोधी क्षमता कमजोर भएकाहरूमा बढी देखिन्छ।’
कति कडा ?
नेपालमा हाल इन्फ्लूएन्जाका विभिन्न प्रकारहरूमध्ये ए र बी बढी देखिएको डा. शर्माले जिकिर गर्नुभयो । उहाँका अनुसार इन्फ्लूएन्जा ए, बीको तुलनामा बढी सङ्क्रामक र स्वास्थ्यमा असर पार्ने किसिमको हुन्छ।
‘तर त्यसको अर्थ अहिले निकै कडा किसिमको सङ्क्रमण फैलिएको भने होइन। यो यसअघि फैलिएका हङकङ वा स्पेनिस फ्लू भनेर चिनिएका फ्लूजस्तो घातक होइन।’
नेपालमा प्राय फेब्रुअरी र मार्च महिनामा तथा जुलाई र अगस्टमा मौसमी फ्लूका बिरामीको चाप बढ्ने डा शेरबहादुर पुनको भनाइ छ।
‘धेरैजसो जाडो सकिने बेलामा र वर्षा सकिने बेलामा इन्फ्लूएन्जाको प्रभाव बढी देखिन्छ। तर, नेपालको हकमा यो वर्षभर नै सक्रिय हुन्छ,’ पुनले जानकारी दिनुभयो ।
कस्ता छन् लक्षण
लक्षणहरू
फ्लूमा अचानक ज्वरो आउने, जिउ दुख्ने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने, नाकबाट पानी बग्ने र हाच्छिउँ आउनेजस्ता लक्षण देखिने विज्ञहरू बताउँछन्।
कोरोनाभाइरसको महामारीपछि धेरैले कोभिड १९ को सङ्क्रमण र फ्लूको लक्षण मिल्दो भएको बताए पनि यी बीच केही भिन्नता हुने विमल शर्मा चालिसे बताउनुभयो ।
‘लक्षण उस्तै भए पनि कोभिड हुँदा फ्लूमा जस्तो सिँगान बग्दैन। हाच्छिउँ आउँदैन। फ्लू हुँदा कोभिडमा जसरी स्वाद हराउँदैन। फ्लू भएका निकै कम मानिसको मात्रै गन्ध र स्वाद हराउँछ,’ उहाँले प्रस्ट्याउनुभयो ।
फ्लूको तुलनामा कोभिडका बिरामीहरूमा दीर्घकालीन असर बढी पर्ने कतिपय विज्ञहरू बताउँछन्। फ्लूका लक्षणहरू सामान्यतया ५र६ दिनसम्म रहने र बिस्तारै हराउँदै जाने बताइन्छ।
कस्ता मानिस बढी प्रभावित
मौसमी फ्लूले रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिसलाई बढी प्रभावित गर्ने चिकित्सकहरूको भनाई छ।
डा. शर्माले वृद्धवृद्धा, दीर्घ रोगी, नियमित औषधि सेवन गर्ने मधुमेह, उच्च रक्तचाप वा मुटुका बिरामीहरूमा फ्लूको असर पर्न सक्ने चेतावनी दिएका छन्।
‘उल्लेखित समूहलाई फ्लू हुँदा छिट्टै निमोनिया देखिने सम्भावना हुन्छ। त्यसले बिरामीको स्थितिलाई झन् गम्भीर बनाउन सक्छ। त्यसैले यो समूह बढी सतर्क र सुरक्षित रहनु पर्छ,’ उहाँले भन्नुभयो ।
मौसमी फ्लू लागेका मानिसहरूलाई अन्य लक्षणहरू ठीक भए पनि खोकी भने लामो समयसम्म रहिरहन सक्ने शर्माले बताउनुभयो ।
कसरी जोगिने ?
फ्लू श्वासप्रश्वास वा हावाको माध्यमबाट सर्ने भएकाले यसबाट जोगिन कोभिड नियन्त्रणका लागि अपनाइएका जस्तै सावधानीका उपायहरू अपनाउनु पर्ने विज्ञहरूको सुझाव छ।
रुघाखोकी लागेका वा उनको वरपर रहेकाहरूले नियमित मास्क लगाउने, पटकपटक हात धुने, भिडभाडमा नजाने काम गर्नुपर्ने उनीहरू बताउँछन्।
इन्फ्लूएन्जाको खोप महत्त्वपूर्ण विकल्प
विभिन्न किसिमका भाइरल सङ्क्रमणबाट जोगिन इन्फ्लूएन्जाविरुद्ध खोप लगाउन उचित हुने चिकित्सकहरूको भनाइ छ।
यस खोप मुटु र श्वासप्रश्वासको समस्या भएका बालबालिकालाई अनिवार्य दिइन्छ। त्यसबाहेक अन्यलाई पनि इन्फ्लूएन्जा हुँदा रुघाखोकी र निमोनिया हुने सम्भावना रहेकाले उक्त खोप लगाउने सुझाव उनको छ।
‘यो खोप सबैले हरेक वर्ष लगाउँदा उचित हुन्छ। अस्पताल, क्लिनिक र फार्मेसीहरूमा सहजै उपलब्ध हुन्छ र उमेरले ६ महिनामाथिका सबैलाई फाइदा पुर्याउँछ,’ उहाँले भन्नुभयो ।
यसअघि पल्मोनरी एन्ड क्रिटिकल केअर विशेषज्ञ डाक्टर रक्षा पाण्डेले हरेक वर्ष विश्व स्वास्थ्य सङ्गठनको सिफारिसमा भाइरसको स्ट्रेनु हेरेर नयाँ इन्फ्लूएन्जाको खोप भित्रने बताउनुभएको थियो । इन्फ्लूएन्जाविरुद्धको खोप २,५०० देखि ३,००० रुपैयाँसम्म पर्छ। बीबीसीबाट