Logo
|
Sunday 19th May 2024
Logo

epaper

सिञ्जाका ३२७ महिला स्वास्थ्य शिविरबाट लाभान्वित



जनस्वास्थ्य सरोकार, जुम्ला । शुक्रबार सिंजा गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा यहाँका ३ सय २७ जना ग्रामीण महिला लाभान्वित भएका छन् । पालिका स्तरीय स्वास्थ्य शिविरमा पालिकाभरिका ३ सय २७ महिला सहभागी भएका हुन् । 

जसमध्ये नराकोट स्वास्थ्य चौकीमा १ सय १ जना, धाँपा स्वास्थ्य चौकीमा ७६ र सनिगाउँ स्वास्थ्य चौकीमा १ सय ५० जना गरी जम्मा ३ सय २७जना एकैदिन शिविरबाट लाभान्वित भएको जनस्वास्थ्य निरीक्षक प्रकाश धितालले बताउनुभयो ।

उहाँका अनुसार ४ जना महिलालाई पाठेघरको शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ । साथै ५७ जना महिलालाई पाठेघर खस्न नदिन रिङ प्रेसर राखिएको छ । भने ३ सय २७ जना महिलालाई पाठेघर पाठेघर खस्ने, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने र ढाड दुख्ने लगायतका समस्याको जाँच गरिएको जनस्वास्थ्य निरीक्षक धितालले जानकारी दिनुभयो । 

स्वास्थ्य शिविरबाट लाभान्वित सबै ग्रामीण महिला गाउँमै उपचार गराउन पाउँदा खुसी भएका छन् । गाउँमै पाठेघरको जाँच गराउन पाउँदा सिञ्जाका ३ सय २७ जना महिला नै खुसी भएका छन् । गाउँपालिकाले आगामी दिनमा पनि यस्ता शिविरको आयोजना गर्नुपर्ने उहाँहरूको माग छ ।

तीन वटा स्वास्थ्यचौकीमा एकैसाथ गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालको पहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शिविरबाट पाठेघरको शल्यक्रियाका लागि कर्णाली प्रतिष्ठान लिने र ल्याउने व्यवस्था गाउँपालिकाले गर्ने सिञ्जाका अध्यक्ष पूर्ण प्रसाद धितालले बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रतिष्ठानले पाठेघर खस्ने समस्या भएका महिलाको निःशुल्क उपचार गर्ने छ । 

धेरै बच्चा जन्माएका तथा कुनै नजन्माएका महिलामा पनि पछिल्लो समय पाठेघर सम्बन्धी समस्या देखापरेको छ । चेतना अभिवृद्धि, कार्यबोझ न्यूनीकरण तथा स्वास्थ्य सुरक्षामा स्वयम महिलाले ख्याल गर्ने र परिवारका सदस्यले साथ दिएको खण्डमा पाठेघर खस्ने समस्याबाट मुक्त भइने कर्णाली प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा.सुबि बस्नेतले बताउनुभयो । 

चेतनाको अभावले अझै गाउँका महिला आफ्ना समस्या खुलेर राख्न सक्दैनन् । सिञ्जा गाउँपालिका अध्यक्ष धिताल भन्छन्,“आफ्ना समस्या खुलेर भन्न नसकेकै कारण ग्रामीण महिला पाठेघर क्यान्सरको जोखिममा छन् । त्यसैले पालिकामै शिविरको आयोजना गरी महिलाको स्वास्थ्य जाँच गर्‍यौ । पाठेघर क्यान्सरको जोखिमबाट महिलालाई मुक्त गराउन कार्यबोझ घटाउने कार्यक्रममा जोड दिनुपर्ने देखियो ।”

अधिकांश ३० वर्ष माथिका ग्रामीण महिला पाठेघर खस्ने, सेतो पानी बग्ने, ढाड दुख्ने समस्याबाट पीडित छन् । गाउँमा सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरले त्यस्ता पीडित महिलालाई राहत पुर्‍याएको छ । 

कार्यबोझ न्यूनीकरण सँगै महिला सशक्तीकरण, उद्यमशीलताको विकास र महिलाको स्वास्थ्य सुरक्षा सम्बन्धी कार्यक्रमलाई जोड दिइने अध्यक्ष धितालको जोड छ । 

प्रतिक्रिया दिनुहोस्