निजामती कर्मचारी अस्पतालका चिकित्सक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिए
सोमबार प्रशासनमा तालाबन्दी गर्ने र मंगलबारबाट २४ घण्टे रिले अनसन बस्ने तयारी
जनस्वास्थ्य सरोकार, काठमाडौँ । निजामती कर्मचारी अस्पतालका चिकित्सक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
अस्पताल व्यवस्थापनले कर्मचारीको वृद्धि विकास स्थायित्वको सुनिश्चित नगरी पदपूर्ति लागि अन्याय हुने गरी विज्ञापन छापेको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन ।
अस्पतालका विभिन्न कर्मचारी संगठनहरुले व्यवस्थापन पक्षसँग ६ बुँदे माग राखेका छन । उनीहरुले कार्यकारी निर्देशकले राजिनामा दिनुपर्ने, पदपूर्तिका लागि खोलिएको विज्ञापन तत्काल खारेज गर्नुपर्ने, अदालतको फैसला बमोजिम चिकित्सक र कर्मचारीहरुको स्थायीत्व सुनिश्चित गर्नुपर्ने, नियमावली संसोधन गरी कर्मचारीहरुको तहगत बढुवा गर्नुपर्ने, रिक्त दरबन्दीमा नयाँ ओ एण्ड एम गरेर मात्र विज्ञापन गर्नुपर्ने र दैनिक ज्यालादारी र सेसनमा नयाँ नियुक्ती बन्द गर्नुपर्ने लगायतका माग राखेका छन् ।
अस्पताल व्यवस्थापनले जाहेज माग पुरा नगरे सोमबार प्रशासनमा तालाबन्दी गर्ने र मंगलबारबाट २४ घण्टे रिले अनसन बस्ने निजामती कर्मचारी अस्पताल कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले जानकारी दिनुभयो ।
व्यवस्थापन पक्षले एकलौटी रूपमा पदपुर्तीसम्बन्धि विज्ञापन निकालेकाले त्यसको विरोधका लागि आन्दोलनमा उत्रिनु परेको उहाँको भनाई छ ।
निजामती कर्मचारी अस्पताल कर्मचारी संघ, डाक्टर्स एसोसिएसन अफ निजामती हस्पिटल, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ निजामती अस्पताल कर्मचारी एकाइ संयुक्त रूपमा विज्ञप्ति निकाल्दै आन्दोलनमा उत्रिएका हुन्।