Logo
|
Friday 19th April 2024
Logo

epaper

रेडियोलोजीको क्षेत्रमा हामी छिमेकी मुलुकभन्दा कम छैनौँ

जनशक्ति, दरवन्दी र उत्प्रेरणाको जरुरत




प्रा.डा. हेनसन खड्का वीर अस्पतालमा चिफ कन्सल्ट्यान्ट रेडियोलोजिष्टको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ सरकारी सेवामा प्रवेश गरेको करिब २० वर्ष भयो । रेडियोलोजिष्टको रुपमा काम गर्न थालेको नै १४ वर्ष भएको बताउनुहुन्छ । वीर अस्पतालमा अहिले उहाँ प्राध्यापन एवं रेडियोलोजी डिपार्टमेन्टको एमडी रेडियोडायग्नोसिस कार्यक्रमको संयोजन गरिरहनुभएको छ । साथै, नेपाल रेडियोलोजिष्ट एसोसियसनका अध्यक्ष पनि हुनुहुन्छ । हाल एसोसियसनमा ४४० जना सदस्य आवद्ध छन् तर मुलुकभर ६ सय रेडियालोजिष्ट रहेको अनुमान गरिएको छ । यसै सिलसिलामा रेडियोलोजिष्ट एसोसिएसनका अध्यक्ष प्रा.डा. खड्कासँग नेपालमा रेडियोलोजीको अवस्था र यसको समग्र अवस्थिति बारे गरिएको कुराकानी

यहाँलाई रेडियोलोजिष्ट बन्न के ले आकर्षित गर्यो ?
विगतमा ‘रेडियसन’ देखि डराउने प्रवृत्ति थियो । सर्वसाधारणमा मात्र नभई हामी स्वास्थ्यकर्मी समेत डराउथ्यौँ । यो क्षेत्रमा काम गरेपछि रेडियसनले असर गर्ला भन्ने भ्रम धेरैमा थियो । बिस्तारै जनचेतना बढ्दै गयो । त्यसबेला रेडियोलोजीसम्बन्धी प्रविधिमा भइरहेको तीब्र विकास र यसको ‘स्कोप’ देखेर यो विषय रोजेको हुँ । त्यसबेला यो नयाँ र चुनौतिपूर्ण पेसा मानिन्थ्यो । इमर्जिङ ब्राञ्च अफ मेडिसिनका रुपमा थियो । यसको माग पनि व्यापक थियो । रेडियोलोजीको सहायताविना रोग निदान नै नहुने अवस्था थियो । यसको उपादेयता बढेको अनुभवकै कारण रेडियोलोजी रोजेको हुँ । सुरुमा नेपालमा रेडियोलोजी भनेको एक्स–रे मात्रै थियो । तर, पछिल्लो समय यो प्रविधि यति व्यापक फैलियो कि एक्स–रेपछि अल्ट्रासाउण्ड, सिटी स्क्यान, एमआरआई आयो । अहिले त झन हाइब्रिड इमेजिङ भनेर पेट सिटी, पेट एमआरआइहरू आएका छन् । अर्को पक्ष भनेको रेडियोलोजी अब डाइग्नोसिसमा मात्रै सिमित रहेन । रोग निदानमा त यसको भूमिका छँदै थियो अब उपचारमा समेत अत्यावश्यक भइसक्यो । जस्तैंः हामीकहाँ इन्टरभेन्सनल रेडियोलोजीमार्फत धेरै रोगको उपचार समेत हुँदै आएको छ । यसकारण म मात्र नभई धेरैको आकर्षणको विषय बनिरहेको छ रेडियोलोजी ।


हाम्रा छिमेकी देशहरूको तुलनामा हामी कहाँ छौं ?
छिमेकी देश भारत मेडिकल फिल्डमा सार्कमै अग्रणी छ ।

नेपालमा प्रति ५० हजारको भागमा एक जना रेडियोलोजिष्ट पर्न आउँछ । सरकारले यस विषयमा हालसम्म कुनै सर्वेक्षण नगरेपनि जनसंख्याको अनुपातमा भारत भन्दा राम्रो अवस्थामा छौं । भारतमा एक रेडियोलोजिष्टको भागमा एक लाख जना पर्न आउने तथ्याङ्क छ ।

तर, पश्चिमा देश र एसियाकै विकसित देशको तुलनामा अलि पछि छौं । यी देशहरूमा प्रति १० देखि २० हजार जनसंख्याको अनुपातमा एक रेडियोलोजिष्ट भागमा आउँछ । जापानमा प्रति २७ हजार जनसंख्या बराबर एक रेडियोलोजिष्टको अनुपात छ ।

दक्ष जनशक्तिको अवस्था कस्तो पाउनुभएको छ ?
देशमा जनशक्ति र प्रविधि सहरमा मात्रै केन्द्रित छन् । धेरै वर्षसम्म हामीकहाँ रेडियोलोजी भनेको एक्स–रे मात्रै थियो । सन् १९८५ तिर अल्ट्रासाउण्ड आयो । १९८६ तिर सिटी स्क्यान, एमआरआई भित्रियो । त्यसपछि यो क्षेत्रले व्यापकता पाउन पाउँदै गएको देखिन्छ । सरकारले अल्ट्रासाउण्डलाई एक्स–रे कै तहमा सर्वसाधारणसम्म पु–याउने भनेपनि लक्ष्य प्राप्त हुन सकेको छैन ।

सिटी स्क्यान, एमआरआई, पेट सिटी स्क्यान, पेट एमआरआई जिल्ला अस्पताल र ग्रामीण स्तरका स्वास्थ्य संस्थामा पुग्न सकेका छैनन् । दक्ष जनशक्ति पनि काठमाडौं, भरतपुर, विराटनगर, नेपालगञ्ज, पोखरालगायत ठूला सहरमा मात्र केन्द्रित छन् । सरकारले ग्रामीण भेगसम्म रेडियोलोजीका दक्ष जनशक्ति पुर्याउन दरबन्दी खुलाएको छैन ।

२०५५ सालमा भएको ओएनएम (अर्गनाजेसनल म्यानेजमेन्ट सर्वे) अनुसार सरकारी अस्पतालमा रेडियोलोजिष्टको दरबन्दी करिब ५२ जना जति भएपनि त्यसभन्दा पछि दरबन्दी सृजना गरिएको छैन । निजी क्षेत्रलाई जिल्ला तहसम्म जान गाह्रो छ । किनकी उसले त नाफा खोज्छ, ग्रामीण भेगमा नाफा कम हुन्छ । त्यसैले सरकारको पहल आवश्यकता पर्छ । सरकारी दरबन्दी बढाउनुका साथै निजी क्षेत्रलाई ग्रामीण तहसम्म जान उत्प्रेरणा जगाउनुपर्छ । रेडियोलोजिष्टहरुलाई थप सुविधा दिनसक्नुपर्छ ।


नेपालमा रेडियोलोजी अध्ययनको अवस्था के छ ?
नेपालमा एमडी इन रेडियो डाइग्नोसिसको अध्ययन हुन्छ । सन् २००१ देखि त्रि.वि. शिक्षण अस्पतालले एमडी तहको पढाइ सुरू गरेको हो । अहिले त धेरै कलेजले एमडी इन रेडियोलोजी पढाउँछन् । यसपछिका पढाइ भने नेपालमा अहिलेसम्म सुरु भएको छैन । एनएमसीको तथ्यांकअनुसार अहिले हरेक वर्ष २५ जनाजति रेडियोलोजिष्ट उत्पादन भइरहेका छन् । एक्स–रे, अल्ट्रासाउण्ड, सिटी स्क्यान, पेट स्क्यान जस्ता मेसिन चलाउने रेडियोटेक्नोलोजिष्ट प्राविधिकहरुको पनि छुट्टै पढाइ भइरहेको छ ।


विकासोन्मुख देशले रेडियोलोजी प्रविधिबाट कसरी फाइदा लिइरहेका छौं ?
विश्वका विकसित देशले प्रयोग गरेका रेडियोलोजीका प्रविधि हामीले पनि प्रयोग गरिरहेका छौं । अल्ट्रासाउण्ड, सिटी स्क्यान, एमआरआई, पेट स्क्यान जस्ता प्रविधिले रोग निदान र उपचारमा धेरै सहयोग गरेका छन् । अब त रेडियोलोजीविना रोग निदान सम्भवनै नहुने अवस्था छ ।


यसका रिजल्ट कति प्रतिशत सही हुन्छन् ?
रेडियोलोजीले दिने रिजल्ट प्रयोग गरिएको प्रविधि, अपरेटर र डाक्टरको क्षमतामा भर पर्छ । यस्तै, रोगको अवस्था हेरेर पनि हुन्छ । कुनै रोगमा शत्प्रतिशत डाइग्नोसिस् पनि दिन्छ, कतिपय रोगमा नजिक नजिक मात्रै पुग्ने पनि हुन्छ । यति नै प्रतिशत सही दिन्छ भनेर भन्न मिल्दैन ।


पाँच वर्षमा रेडियोलोजी टेक्नोलोजी प्रयोगको भविष्य ?
मुलुकमा तीनवटा निजी क्षेत्रले पेट सिटी ल्याइसकेका छन् । तर त्यसमा चाहिने आइसोटोप्सहरू विदेशबाटै मगाइरहेका छौं । यसको उत्पादन गर्ने साइक्लोल्ट्रोन मेसिन देशमै उपलब्ध हुनसके सहज हुन्थ्यो । विदेशतिर पेट एमआरआई पनि प्रयोगमा आइसक्यो हामी कहाँ छैन ।

आगामी पाँच वर्षसम्म पनि जनशक्ति उत्पादनको हिसाबले हामी अहिलेकै अनुपातमा हुन सक्छौं । प्रविधिको प्रयोगमा केही विकास हुनसक्ला ।

सरकारलाई के सुझाव दिनुहुन्छ ?
मुलुकमा रेडियोलोजी क्षेत्र विकास हुँदै नभएको होइन तर आवश्यक मात्रामा नभएको मात्रै हो । म यहाँ एउटा सन्दर्भ सम्झन चाहन्छु । सन् २००८ मा रेडियोलोजिष्ट भएर निस्कदा जम्मा ८० जना रे्डियोलोजिष्ट थिए । यो एकदमै कम हो अहिले करिब ६ सयजना पुगेसकेका छौं । जनशक्ति विकासका हिसाबले धेरै नै भइसकेको छ । त्यतिवेला काठमाडौं, विराटनगर, चितवन, पोखरा, नेपालगञ्ज, बुटवल जस्ता मुख्य सहरमा मात्रै रेडियोलोजिष्ट भेटिन्थे । तर, अहिले यी बाहेकका जिल्ला तह, सहर र केही स्थानीय तहमा समेत रेडियोलोजिष्ट भेटिन्छन् । यसले के देखाउँछ भने दक्ष जनशक्ति ग्रामीण, दुर्गम भेगमा जाँदै नगएको होइन् तर आवश्यकता अनुसार नपुगेको मात्रै हो ।

प्रविधिको कुरा गर्ने हो भने अल्ट्रासाउण्ड र एक्स–रे सबैजसो स्वास्थ्य संस्थामा पुगिसकेको छ । यसबाहेकका प्रविधिहरू सिटी स्क्यान, एमआरआई, पेट स्क्यान जस्ता मेसिन पुग्न नसक्नुमा यी निकै महँगा भएर पनि हो । यस्ता प्रविधि आफ्ना नागरिकसम्म पु–याउने मुख्य जिम्मेवारी सरकारको हो । सरकारले प्रविधि र जनशक्ति साथसाथै पुर्याउने व्यवस्था मिलाउनुपर्छ ।

यसमा सरकारले जिल्लास्तरसम्म रेडियोलोजिष्टको दरबन्दी सिर्जना गर्नुपर्छ । त्यहाँ जाने प्राविधिक, डाक्टरलाई उत्प्रेरणा जगाउने कार्यक्रम ल्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्