चुनौती बन्दै क्षयरोगीको पहिचान
जनस्वास्थ्य सरोकार, दमौली । व्यास नगरपालिकाका निवासी २८ वर्षीय पुरुष निराजन थापालाई गत फागुनमा दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्यो । उहाँलाई साँझपख हल्का ज्वरो आउने र पसिना आउने लक्षण देखा परेपछि दमौली अस्पतालमा आएर परीक्षण गर्दा क्षयरोग पुष्टि भयो ।
“लगातार दुई हप्ता खोकी लाग्ने, छाती दुख्ने र श्वास फेर्न गाह्रो हुने लक्षण थियो, अस्पताल गएर परीक्षण गराउँदा क्षयरोग रहेछ,” उहाँले भन्नुभयो “त्यही बेलादेखि नियमित औषधि सेवन गरिरहेको छु ।” चिकित्सकको सल्लाहबमोजिम छ महिना नियमित औषधि सेवन गरे क्षयरोग निको हुने भएकाले हाल लक्षण कम हुँदै गएकामा उनले खुसी व्यक्त गर्नुभयो । उहाले भन्नुभयो – “अहिले लक्षण कम हुँदैछ, अब सन्चो हुन्छु ।”
व्यास नगरपालिकाकै ५४ वर्षीया आशा परियार पनि कात्तिकदेखि नियमित औषधि सेवन गरिरहेका छन् । “खाना रुच्थेन, खोकी पनि लागिरहन्थ्यो । परीक्षण गराउँदा क्षयरोग लागेको पुष्टि भयो । सुरुमा त आत्तिए, स्वास्थ्यकर्मीले केही हुँदैन आत्तिनु पर्दैन भनेपछि मन हलुङ्गो भयो,” उहाँले भन्नुभयो, “निःशुल्क औषधि पाइने रहेछ, औषधि सेवन गरेपछि अहिले ठीक हुँदैछु ।”
म्याग्दे गाउँपालिकाका ५५ वर्षीय बुद्धिमान लामाले मङ्सिर महिनादेखि नियमित औषधि सेवन गरिरहेका छन् । “क्षयरोग हुँदा के के न भयो भनेर छिः दुरदुर गर्ने प्रवृत्ति अझै कायमै छ,” उहाँले भन्नुभयो “यो त नियमित औषधि सेवन गरेपछि निको हुने रोग रहेछ भन्ने अझै पनि समाजलाई बुझाउन पर्ने देखिएको छ ।”
क्षयरोगीको सङ्ख्या धेरै हुनेमा तनहुँ गण्डकी प्रदेशकै तेस्रो जिल्लामा पर्दछ । गत आर्थिक वर्ष २०७८–७९ मा तनहुँमा क्षयरोगीको सङ्ख्या तीन सय १२ थियो । क्षयरोगी धेरै हुने जिल्लामध्ये कास्कीमा छ सय ५२ र नवलपुरमा पाँच सय २९ थिए ।
चालु आव २०७९ को आठ महिनाको अवधिमा पनि क्षयरोगीमध्ये तनहुँ तेस्रो स्थानमै छ । साउन महिनादेखि फागुन मसान्तसम्म तनहुँमा एक सय ७४ क्षयरोगी पहिचान भएका छन् । आठ महिनाको अवधिमा कास्कीमा तीन सय छ, नवलपुरमा दुई सय ९१, स्याङ्जामा एक सय ५२, बागलुङमा एक सय २३, गोरखामा एक सय तीन, म्याग्दीमा ३३, पर्वतमा ४३, मनाङमा तीन र मुस्ताङमा चार क्षयरोगी भेटिएका छन् ।
छ महिनासम्म नियमित औषधि सेवन गरे क्षयरोग निको हुने भए पनि क्षयरोगी पहिचान हुन नसक्दा सफल उपचार दर वृद्धि हुन नसकेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताए। अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको अधिकारीले बताए । “क्षयरोगी पहिचान गरी उपचारको पहुँचमा ल्याउनुपर्ने विद्यमान चुनौती छ,” अधिकारीले भन्नुभयो– “समाजले हेलाको भावनाले हेर्ने गलत मानसिकताका कारण पनि क्षयरोगी रोग लुकाएर बस्न बाध्य छन् ।”
सन् २०५० सम्म नेपाल क्षयरोगविहीन बनाउने लक्ष्य छ । त्यसका लागि क्षयरोगका बिरामी पहिचान गरी उपचार गर्नुपर्ने बाध्यता रहेको अधिकारीले बताए । “उपचारमा नरहेको एक क्षयरोगीले औसतमा १० देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ,” उहाँले भन्नुभयो “सो तथ्याङ्कलाई घटाउन पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।” क्षयरोगी पहिचानका लागि कार्यालयले समुदायस्तरमै पुगेर खोजपड्ताल अभियान सुरु गरेको छ । जन्त्र नामक संस्थासँगको सहकार्यमा क्षयरोगी पहिचान गर्न समुदायस्तरमै पुग्ने गरिएको अधिकारीले बताउनुभयो ।
तनहुँलाई क्षयरोगमुक्त बनाउन यसै वर्षदेखि अभियान सुरु गरिएको छ । पहिलो चरणमा भानु नगरपालिकाबाट सुरु भएको यो अभियान पाँच वर्षभित्र १० वटै पालिकामा विस्तार गरिने बताइएको छ । “अझै पनि कतिपय क्षयरोगका बिरामी डरका कारण खुलेर आउन सक्नुहुन्न, यो अभियानमार्फत सचेतना जगाई क्षयरोगीलाई उपचारको प्रक्रियामा ल्याउने मुख्य लक्ष्य हो,” कार्यालयका स्रोत व्यक्ति सुदीप सेढाइँले भन्नुभयो, “यो अभियानले तनहुँलाई क्षयरोगमुक्त बनाउन सकिनेमा विश्वस्त छौँ ।”
क्षयरोगका शङ्का लागेका व्यक्तिको घरमा पुगेर नै खकार सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाएको छ । “दुई हप्तासम्म खोकी लागेका शङ्कास्पद व्यक्ति पत्ता लागे घरमै पुगेर खकार सङ्कलन गरी परीक्षणको व्यवस्था मिलाएका छौँ,” सेढाईंले भन्नुभयो ।