Logo
|
Sunday 2nd March 2025
Logo

epaper

सुनकोशीका दीर्घरोगीहरुलाई निःशुल्क औषधी वितरण



जनस्वास्थ्य सरोकार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले पालिकाभरका दीर्घरोगीहरुका लागि निःशुल्क औषधी वितरण सुरु गरेको छ । सुगर, प्रेसर, दम र मानसिक रोगीहरूका लागि गाउँपालिकाले निःशुल्क औषधी दिन सुरु गरेको हो ।

गाउँपालिकाले सुनकोशी–५ सुनखानीबाट निःशुल्क औषधी वितरणको औपचारिक सुरुवात गरेको छ । दीर्घरोगीहरुले सेवन गर्दै आउनुभएको औषधी प्रदान गर्दै गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले औषधि वितरण सुरु गर्नुभयो ।

गाउँपालिकाले औषधी वितरणसँगै एक दिनको वृहत् स्वास्थ्य शिविर पनि आयोजना गरेको छ । काठमाडौँको ह्याम्स अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामीण समुदायलाई लक्षित गरी वडा कार्यालयको भवनमा शिविर आयोजना गरिएको थियो ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर दीर्घरोगीहरुलाई वडामा निवेदन दिन आग्रह गरेको थियो । त्यही निवेदनका आधारमा गाउँपालिकाभरका ४ सय बढीलाई अब पालिकाले निःशुल्क औषधी उपलब्ध गराउने गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

न्यूनतम एक हजारदेखि बढीमा २० हजार रुपियाँ सम्मको मासिक औषधी सेवन गर्ने बिरामीहरू गाउँपालिकामा रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्