जनसङ्ख्याको अनुपातमा अस्पतालहरू थपिनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल

नेपाल हेल्थ न्युज, पोखरा । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जनसङ्ख्याको अनुपातमा अस्पतालहरू थपिनु पर्ने बताउनु भएको छ । पोखरामा जारी १२ औँ संस्करणको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा ‘स्वास्थ्य सेवामा जनताको पहुँच’ अन्तरसंवादमा सहभागी हुँदै मन्त्री पौडेलले नेपालको जनसङ्ख्याको अनुपातमा समय अनुसार अस्पताल थपिनु पर्ने बताउनु भएको छ ।
राज्यले सबै क्षेत्रमा जनशक्ति बढाए पनि स्वास्थ्य क्षेत्रमा छुटाएको उहाँले गुनासो गर्नु भयो । उहाँले भन्नुभयो “राज्यले यो बीचमा सबैलाई बढायो, तर स्वास्थ्यलाई छुटायो, छुुटाउनै नहुने पक्षलाई छुटायो, त्यसलाई करेक्सन गर्नुपर्छ’, अहिले हामी आइसकेपछि मन्त्रालयमा जनशक्ति थप गर्नका लागि मन्त्रिपरिषद्बाट ओएनएम स्वीकृत गराइसकिएको छ, मलाई विश्वास छ, केही समयमा ५ सय चिकित्सकको विज्ञापन लोकसेवाले गर्ने स्थिति हामीले बनाउँछौँ ।”
मन्त्री पौडेलले जनशक्तिसँगै उपकरण र पूर्वाधारको सन्दर्भमा पनि सुधार गर्न जरुरी रहेको दाबी गर्दै निराशा नबाँड्न आग्रह गर्दै व्यवस्थित हुने क्रममा रहेको उल्लेख गर्नुभयो । जनसङ्ख्या र शहर बढे पनि अस्पतालहरू भने बढ्न नसकेको मन्त्री पौडेलले दाबी गर्नुभयो । पहिलेका शहरहरुमा मानिसहरू थपिए तर, अस्पताल र अस्पताललाई चाहिने अरू पक्षहरू थप्न नसकेको उल्लेख गर्दै जनसङ्ख्याको अनुपातमा अस्पतालहरू थपिनुपर्नेमा मन्त्री पौडेलको जोड थियो ।
पत्रकार योगेश ढकालले ‘स्वास्थ्य सेवामा जनताको पहुँच’ अन्तरसंवादको सुरुवात गर्नु भएको हो । शुक्रबार बिहान भूपी कक्षको पहिलो सेसनको अन्तरक्रियामा सहभागी हुनु भएको थियो मन्त्री पौडेल सहित मुटुुरोग विशेषज्ञ डा. भगवान् कोइराला र मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. सन्तोष शाक्य रहनु भएको थियो । सरकारले ५०० चिकित्सकको दरबन्दी सिर्जना गर्न स्रोतका दृष्टिले सम्भव नभएको डा. भगवान् कोइरालाले जिकिर गर्नुभयो । त्यसका लागि सार्वजनिक निजी साझेदारी मोडलमा जानुपर्ने राय व्यक्त गर्दै ‘पाँच सय चिकित्सकको दरबन्दी खोल्न सम्भव नभएको दाबी गर्नुभयो ।
नेपालमा ३३ बर्ष पहिले एक हजार ११२ जना चिकित्सकको दरबन्दी रहेको बताइन्छ । २०४८ सालयता अहिलेसम्म पनि चिकित्सकको दरबन्दीको हालत उस्तै छ रहेको छ । २०४८ सालको जनसङ्ख्या १ करोड ८० लाख थियो । पछिल्लो जनगणना अनुसार जनसङ्ख्या बढेर २ करोड ९१ लाख पुग्यो । पछिल्लो चार वर्षमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सङ्ख्या ८ हजार ६२४ रहेको छ । तीनै मध्यका ६ हजार ३६८ जनाले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् । रेडियोनेपाल