क्यान्सर विजेताहरुको तेस्रो र्याम्प शो आगामी चैत २३ गते
र्याम्प शोमा विभिन्न उमेर समुहका ६० जना क्यान्सर विजेताहरुको सहभागिता
जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरमा तेस्रो क्यान्सर सचेतना र्याम्प शो हुने भएको छ ।
नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजना तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा तेस्रो र्याम्प शो हुन लागेको हो ।
आगामी चैत २३ गते हुने उक्त र्याम्प शोमा विभिन्न उमेर समुहका ६० जना क्यान्सर विजेताहरुले सहभागिता जनाउने तेस्रो क्यान्सर सचेतना र्याम्प शोकी संयोजक स्वरुपा श्रेष्ठले जानकारी दिनुभयो ।
क्यान्सर रोग लाग्नु मृत्युको मुखमा पुग्नु हो र नेपालमा क्यान्सर रोगको उपचार सम्भव छैन भन्ने भ्रमलाई चिर्न क्याक्सर विजेताहरुलाई र्याम्प शो फलदायी हुने उहाँको भनाई छ ।
‘समयमै उपचार गरे क्यान्सर रोग निको हुनुका साथै सामान्य जीवनयापन गर्न सकिन्छ भन्ने सन्देश दिन तेस्रो र्याम्प शो गर्न लागिएको हो ।’– उहाँले भन्नुभयो ।
ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा उक्त शो अपरान्ह ४ बजेदेखि साँझ ८ बजेसम्म हुनेछ । यसअघि पनि नेपाल क्यान्सर सर्पोट ग्रुपले दुई पटक नेपाल क्यान्सर हस्पिटलसँगको सहकार्यमा र्याम्प शो सम्पन्न गरिसकेको छ ।