Logo
|
Saturday 27th April 2024
Logo

epaper

रेडियोलोजिकल इमेजिङ: माग बढ्दो जनशक्ति अझै कम



सुदिप थापा / एप्लिकेशन स्पेशलिष्ट, इष्टवेष्ट कन्सर्न प्रा.लि.


नेपालमा भएका सबै इमेजिङ थेरापेटिक मेसिन आयातित नै हुन् । विदेशमा उत्पादन हुने यी मेडिकल उपकरणमा हरेक वर्ष रिसर्च एण्ड डेभलप्मेन्ट(आरएनडी)मार्फत संशोधित भर्सनमा विकास गरिरहेका हुन्छन् । जसले गर्दा डायग्नोसिसमा अहम् भूमिका खेलेको हुन्छ । नयाँ टेक्नोलोजी, नयाँ आर्टिफिसियल इन्टेलिजेन्सहरूले परम्परागत प्रविधिलाई प्रतिस्थापन गरिरहेका हुन्छन् ।


नेपालका सरकारी वा निजी अस्पतालहरूमा मेसिन आयातपछि उचित उपयोग, अपरेशन र मर्मत सम्भारको अभाव थियो । हामी यो क्षेत्रमा आइसकेपछि आफ्नो नयाँ भर्सनका मेसिन बारे अध्ययन गरेर उचित अनुकुलन र उपयोगितालाई व्यवहारमा उतार्न थालेका छौं ।

यसबारे उपकरण प्रयोकर्ताहरूलाई तालिम दिने गर्छौ । बेलाबेलामा मेसिनको हेरचाह ( फलो–अप भिजिट) गरेर विश्वस्तरीय इमेजिङ सेवा उपलब्ध गराउन मद्दत गर्छाैं ।

हामी मेसिन बनाउने कम्पनीहरूसँग पनि सहकार्य गरेर नयाँ प्रविधिको विषयमा अपडेट भइरहन्छौं । यसबाट नेपालमा क्लिनिकल निदानका लागि महत्वपूर्ण भूमिका खेलिरहेको छ । सरकारी मापदण्डअनुसार एक सयदेखि तीन सयसम्म बेड क्षमताका अस्पतालका लागि १२८ स्लाइस सिटी स्क्यान एक थान र सुपर कन्डक्टिङ एमआरआई एक थान अनिवार्य गरिएको छ । हरेक अस्पतालमा २ सय वेड थपिदै जाँदा प्रत्येकमा यी उपकरणहरु एक एक थान बढाउँदै जानुपर्छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड महामारीपछि क्यान्सरलगायतका रोग निदानका लागि अत्याधुनिक इमेजिङ मोडालिटीहरू आपूर्तिमा बजेट बढाएको छ । यसको माग पनि बढिरहेको छ । विगतका वर्षहरूमा यस्ता मेसिन एक दुई वटा मात्रैको टेन्डर आह्वान हुने गरेकोमा अहिले हरेक वर्ष कम्तीमा पनि ५ देखि ६ वटा एमआरआई मेसिनको माग भइरहेको छ । थ्री टेस्ला एमआरआईको माग पनि बढेको छ ।

विगतमा हरेक वर्ष तीन चारवटा सिटी स्क्यानको टेन्डर आह्वान हुनेमा अहिले वार्षिक १० देखि १५ वटा टेन्डर आह्वान हुने गरेको छ । स्वास्थ्य विभाग आपूर्ति महाशाखाले एकैपटक ४—५ वटा अस्पताललाई सामान उपलब्ध गराउने गरी टेन्डर आह्वान गरिरहेको छ ।

नेपालमा कति छन् इमेजिङ मेसिन ?
नेपालमा हाल एमआरआई (पर्मानेन्ट म्याग्नेट र १.५ टेस्ला) करिब ३० वटा, एमआरआई (थ्री टेस्ला) १० वटा, सिटी स्क्यान १४० वटा, म्यामोग्राम ( फूल डिजिटल, हाइब्रिड डिजिटल र एनालग) ३७ वटा र पेट स्क्यान ३ वटा रहेका छन् ।

रेडियो इमेजिङ सेवाको पहुँच
नेपालको सन्दर्भमा ठूला र सुविधासम्पन्न अस्पतालहरू सहर केन्द्रित छन् । तिनहरूमध्ये पनि केही अस्पतालले मात्रै आधुनिक रेडियोलोजिकल उपकरण खरिद गर्न सक्छन् । तर विकेन्द्रिकृत स्वास्थ्य संस्थाहरूले यस्ता उपकरणहरू खरिद गर्न सक्दैनन् । यति मात्रै नभइ यस्ता संस्थामा दक्ष जनशक्तिको पनि अभाव छ । तर पछिल्लो समय प्राय प्रादेशिक अस्पतालमा एमआरआई र सिटी स्क्यान राख्ने क्रम बढ्दो छ । कतिपयले पुराना उपकरण प्रतिस्थापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्