Logo
|
Friday 29th March 2024
Logo

epaper

विश्व हिमोफिलिया दिवस २०२३ः ‘उपचारमा सबैको पहुँच, रक्तश्रावको रोकथाम उपचारको विश्वव्यापी मापदण्ड’



मुकुन्द मणि घिमिरे/ अध्यक्ष, हिमोफिलिया सोसाइटी नेपाल

‘उपचारमा सबैको पहुँच: रक्तश्रावको रोकथाम उपचारको विश्वव्यापी मापदण्ड’ भन्ने मुल नारा सहित नेपालमा पनि विश्व हिमोफिलिया दिवस मनाउन तयारी भइरहेको छ । हिमोफिलिया दिवसको पूर्व सन्ध्यामा विश्व हिमोफिलिया महासंघ (क्यानाडा) का वरिष्ठ उपाध्यक्ष (मेडिकल) ग्लेन पिर्यस, मानविय सहायताका निर्देशक अस्साद हफ्फार्ड, अमेरिकाका सेन्ट जुड अस्पतालका चिकित्कस लगायतका व्यक्तित्वहरुको भ्रमणले नेपाल हिमोफिलिया सोसाइटी, सम्पुर्ण हिमोफिलियायुक्त व्यक्ति लगायत सरोकारवाला निकायहरुलाई थप उर्जा र हौसाला मिलेको छ ।

सेभ वान लाइफका कार्यक्रम म्यानेजर क्रिस वम्वायडर लगायतका अन्य सरोकारवाला व्यक्तित्वहरुको सहभागिता र विभिन्न कार्यक्रमको तयारीले अझै ठूलो प्रेरणा मिलेको छ ।


गत मंसिरमा विश्व हिमोफिलिया महासंघका अध्यक्ष सिजर ग्यारिडो लगायत अन्य प्रतिनिधिहरुको आगमनले इतिहास रच्ने कार्य पुरा भई आत्मवल बढेको अवस्थामा थप महत्वपूर्ण दाताहरुको आगमन र सहभागिताले यस वर्षको हिमोफिलिया दिवस नेपालका लागि धेरै उपलब्धिमूलक र उल्लासमय भएको छ ।


विश्व हिमोफिलिया दिवसको अवसरमा मर्दस कमिटीले वीर अस्पतालमा आयोजना गरेको रक्तदान कार्यक्रम र र्यालिमा सेभ वान लाइफ अमेरिकाका कार्यकारी निर्देशक (सगरमाथा आरोही) क्रिस बम्वायडर सहितको १० जनाको टोलीले सहभागिता जनाउनुहुने भएको छ । विश्व हिमोफिलिया दिवसको अघिल्लो दिनमात्रै महासंघका महत्वपूर्ण व्यक्तित्वहरु स्वदेश फर्किनु भएकाले अलि खल्लो महशुस भएको छ तर उहाँहरुले राम्रो सन्देश र शुभकामना दिएर बिदा हुनुभएको छ ।


यसका साथै हिमोफिलिया दिवसको अवसरमा हिमोफिलियायुक्त व्यक्ति क्रिस बम्वायडको सफल सगरमाथा आरोहण गर्नुभएको डकुमेन्ट्री फिल्म समेत प्रिमियर हुन गइरहेको छ । उक्त कार्यक्रममा वान लाइफ अमेरिकाका प्रतिनिधि, सरोकारवाला व्यक्ति, सरकारी निकायका प्रतिनिधि, हिमोफिलियायुक्त व्यक्ति, संचारकर्मी र चिकित्सकहरुको उपस्थितिमा रहने छ । उक्त डकुमेन्ट्री फिल्म नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकको सहयोगमा बनेको हो यस वर्षको विश्व हिमोफिलिया दिवस नेपालको इतिहासमा अविस्मरणिय रहने छ ।

नेपालमा हाल पहिचान भई हिमोफिलिया सोसाइटी नेपालमा आवद्ध भई उपचार सेवा लिइरहेका ८१४ जना हिमोफिलियायुक्त व्यक्तिहरुको थप उपचारमा पहलको लागि कार्य गर्नुपर्ने छ ।

राष्ट्रिय जनगणना २०७८ मा पहिलो पटक हिमोफिलियाको गणना भएको र सो गणनाले नेपालमा ४,९३७ जना (महिला र पुरुष) हिमोफिलियायुक्त व्यक्तिहरु रहेको तथ्याङ्क सार्वजनिक भएकोले पनि अझै काम गर्न चुनौति एवं हौसला मिलेको छ ।

आगामी दिनहरुमा राज्यको तर्फ बाट उपचार एवं औषधी खरिदमा थप बजेट विनियोजन गर्न, साथै तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ४,९३७ मध्ये बाँकी झण्डै ४,१०० को खोजी कार्य गरी उपचारको मुलधारमा ल्याउनु पर्ने कार्यका लागि पनि राज्यको तर्फबाट सहयोग हुनेमा विश्वस्त छौँ ।


हाल सम्म भएका कार्यहरुका लागि सहयोग पु–याउनु हुने बिभिन्न तहका सरकार, सरकारी निकायहरु तथा राज्यको चौथो अंग संचार माध्यमको महत्वपूर्ण भूमिका रहिरहेकोमा धन्यवाद ज्ञापन गर्दै आगामि दिनहरुका लागि पनि सरकारी सरोकारवाला निकायहरु, संचारजगत लगायत अन्य सहयोगि दताहरुको सहयोगको अपेक्षा गर्दै विश्व हिमोफिलिया दिवसको सबैमा शुभकामना ।

प्रतिक्रिया दिनुहोस्