‘मिर्गौला बचाउने अभियानमा कता अलमलियो सरकार’-डा.अर्चन शम्शेर राणा
डा.अर्चन शम्शेर राणा मिर्गौला रोग विशेषज्ञ हुनुहुन्छ । मार्क इन्टरनेशनल किड्नी सेन्टरका अध्यक्ष र ‘स्वस्थ मिर्गौला स्वस्थ जीवन’ अभियानका अभियन्तासमेत रहनुभएका डा. राणाको मिर्गौला रोग रोकथामसम्बन्धि आफ्नै शब्द…
कहाँ चुक्यो सरकार
मिर्गौला विफल भएका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिसको व्यवस्था छ । सीमित मात्रामा भएपनि सरकारी अनुदानका कारण मिर्गौला प्रत्यारोपण न्युन शुल्कमा हुने गर्छ । तर मिर्गौला कसरी बचाउने भन्ने रोकथामतर्फ सरकारी निकायको ध्यान केन्द्रित हुन सकेको छैन । सामान खरीद गर्दा हुने कमिसनको फाइदा जस्तो यसमा नदेखेर पो हो कि ? हालै सरकारले १२० ओटा डायलाइसिस मेसिन खरिद गरेको छ ।
डायलाइसिस र प्रत्यारोपणका लागि सरकारले बर्षेनी अबौं रुपियाँ खर्च गर्छ । तर मिर्गौला रोग रोकथाम र निवारणका लागि प्रयाप्त मात्रामा खर्च गर्न सकेको छैन ।
आर्थिक भार धान्न सकस
नेपालमा हरेक वर्ष ३ हजारको मिर्गौला विफल भएर डायलाइसिस गराउनुपर्ने अवस्था सिर्जना हुने सरकारी आङ्कलन छ । तर वार्षिक पाँच सयको पनि मिर्गौैला प्रत्यारोपण हुन सकेको छैन । यसले प्रत्येक वर्ष सरकारलाई आर्थिक भार थपिँदै गएको छ । यहि दरमा मिर्गौला रोगी थपिदै जाने हो भने सरकारलाई खर्च धान्न मुस्किल पर्नसक्छ ।
मिर्गौला रोग रोकथाम र निवारणमा राज्यको पहल कदमी भएमा आगामी एक दशकभित्र डायलाइसिस गराउनेको संख्या १० प्रतिशतमा झार्न सकिने देखिन्छ । यसका लागि सरकारी तहबाट कार्यक्रम र योजनाको जरुरत देखिन्छ ।
अव्यवस्थित लाइसेन्सिङ प्रणाली
सरकारले सीमित संस्थालाई मात्र मिर्गौला प्रत्यारोपणको अनुमति प्रदान गरेको छ । राजधानीबाट गएको टिमले पोखरा, बिराटनगर र सुर्खेतमा सफल मिर्गौला प्रत्यारोपण गरेको सुन्नमा आएपनि पनि यसले निरन्तरता पाउने या नपाउने भन्ने चुनौति छ । मुलुकभर २–३ जना डाक्टरको टिमले मिर्गौला प्रत्यारोपण गर्नुहुन्छ । देशमा अंग प्रत्यारोपण गर्न सक्ने डाक्टर नभएका पनि होइनन् । तर लाइसेन्स वितरण प्रणाली, सिनियर र जुनियरजस्ता भेदभावको समस्या छ । त्यसैले सहज तरिकाले प्रत्यारोपणको लाइसेन्स वितरण गर्नुपर्छ ।
व्यापक जनचेतनाको जरुरत
आजकल ‘आफन्तलाई मिर्गौला दिएर बचाउनुपर्छ’, ‘एउटा मिर्गौलाले पनि बाँच्न सकिन्छ’ भन्ने सरकारात्मक सोच बन्न थालेको पाइन्छ । कानूनले पनि मिर्र्गौला दान गर्नसक्ने आफन्तको दायरा बढाएको छ । आफ्नो परिवार नाता भित्रका ५१ जना मध्येबाट मिर्गौला दान गर्न सकिन्छ । दुई फरक मिर्गौला रोगी बिरामीका आफन्तमध्ये एक–अर्कालाई मिर्गौला दान (पियर एक्स्चेञ्ज) गरेर पनि मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ ।
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग प्राप्त गर्न सकिने कानून बनेपनि प्रभावकारी रुपमा मिर्गौला प्राप्त हुन सकेको छैन । त्यसैले यसमा व्यापक जनचेतनाको जरुरी देखिन्छ ।
अवसरको अभाव
देशभर ७० जना भन्दा बढी नेफ्रोलोजिष्ट छन् । यूरोलोजिष्ट पनि ७० जना भन्दा बढी नै छन् । जनशक्तिको अभाव छैन । तर सक्षम चिकित्सकले काम गर्ने अवसर पाएका छैनन् ।
जोखिममा युवा
देशका युवाहरु कि त खाँडी मुलुकमा छन् कि डायलाइसिस सेन्टरमा । मिर्गौला विफल भएर डायलाइसिस गर्ने ३० देखि ४० वर्ष उमेर समुहका व्यक्तिको संख्या ६० प्रतिशत बढी रहेको पाइन्छ ।
मिर्गौला बिग्रने कारणमध्ये नेपालमा ग्लोमेरुलोनेफ्राइटिस (जीएन) प्रमुख मानिएको छ । यो पिसावबाट प्रोटिन र रगत जाने समस्या हो । समयमै उपचार पाएमा यो रोग सत्प्रतिशत निको पार्न सकिन्छ ।
अवको विकल्प के त ?
हरेक स्वास्थ्य चौकीमा स्थानीय नागरिकको स्वास्थ्य रेकर्ड राख्न जरुरी छ । यसले ‘प्रत्येक नागरिकलाई कस्तो प्रकारको रोग छ’ भन्ने बारे जानकारी लिन मद्धत गर्छ । सरकारले स्वास्थ्य क्षेत्रमा प्रयाप्त रकम विनियोजन गर्नुपर्छ । बिनियोजित रकम उचित ठाउँमा सदुपयोग गर्नुपर्छ ।
हरेक नागरिकले स्वस्थ जीवनयापन गर्न पाउनुपर्छ । स्कुल र कलेजका बालबालिकाहरुको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । सरकारले गुणस्तर कायम गरेर स्वास्थ्य र शिक्षा निःशुल्क गर्न सक्नुपर्छ । ताकि मध्यम र निम्न वर्गीय परिवार उपचार र शिक्षाको चिन्तामा पिरोलिन नपरोस् ।
कतिपय ठाउँमा भइरहेका चुहावटलाई रोक्न सकेमा समस्याले बिस्तारै निकास पाउन सक्छ ।