Logo
|
Friday 26th April 2024
Logo

epaper

अंगदान, पुण्य कामः मस्तिष्क मृत्यु भएका व्यक्तिहरूबाट पाउन सक्छन् बार्षिक १२ हजारले नयाँ जीवन

सम्बन्धित डाक्टर र मृत व्यक्तिका आफन्तमा प्रतिवद्धताको खाँचो




देशमा अंगदानको अभियान चलाएको करिब १४ बर्ष भयो । मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण गर्नुपर्छ भनेर शुरू गरेको सन् २००९ देखि नै हो । हामीलाई ८ वर्ष कानुन बनाउन लाग्यो । त्यो बेला मस्तिष्क मृत्युको घोषणा नै कसरी गर्ने भन्ने नियम थिएन । मस्तिष्क मृत्युको घोषणा गर्ने ऐन बनाएसँगसँगै मस्तिष्क मृत्युबाट हुने अंगदान कसले गर्ने ? कसले गर्न पाउँछ, कसले पाउँदैन, यसको व्यवहारिक पक्ष र कानुनी पक्षबारे तयारी गर्न ८ वर्ष लाग्यो ।


बि.सं.२०७२ साल माघमा ऐन आयो । २०७३ साल मंसिरमा नियमावली बनाइयो । नियमावलीमा मस्तिष्क मृत्युबाट हुने अंगदान प्रत्यारोपणको विधि प्रक्रिया स्पष्ट उल्लेख गरिएको छ । कलेजो प्रत्यारोपण गर्ने नियमावली पनि त्यसैमा पर्छ । नियमावली आएको केही दिनमै जीवित व्यक्तिबाट दान गरिएको कलेजो प्रत्यारोपण गर्न सफल भयौं ।


२०७४ साल बैशाख महिनामा मस्तिष्क मृत्यु भएको व्यक्तिबाट लिइएको पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६ वर्षको अवधिमा जम्मा ५ जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट १० जनाको मिर्गौला र ३ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भयो ।

जबकी हाम्रो देशमा बार्षिक १ हजार जनाको मस्तिष्क मृत्यु हुने अनुमान छ । एकजना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट फोक्सो (दुई), मिर्गौला (दुई), कलेजो, प्यांक्रियाज, मुटु र सानो आन्द्रा गरी कम्तीमा ८ वटा अंग प्राप्त गर्न सकिन्छ ।


यसरी ६ वर्षको अवधिमा मस्तिष्क मृत्यु भएका ६ हजार व्यक्तिबाट १२ हजार मिर्गौला संकलन हुनुपर्ने र त्यसको १० प्रतिशतबाट मात्र मिर्गौला संकलन हुँदा पनि अहिलेसम्म १ हजार २ सय जनाको मस्तिष्क मृत्यु भएका व्यक्तिहरूबाट लिइएको मिर्गौला प्रत्यारोपण हुनुपर्ने थियो । जुन विल्कुल सम्भव थियो । तर भएन । यसरी अंगदान दिने कानुनी व्यवस्था भए पनि प्रक्रियागत जटिलताका कारण अंगहरू खेर गइरहेका छन् ।


यसमा मस्तिष्क मृत्यु भनेको के हो ? यसलाई कसरी घोषणा गर्ने ? भन्ने कुरामा चिकित्साकर्मीहरू नै आत्मविश्वासी छैनन् । सैद्धान्तिक ज्ञान भएपनि व्यवहारिक रूपमा अभ्यास गर्न सकिरहेको पाइँदैन । उनीहरूमा कानुनी जटिलताले अफ्ट्यारो पार्ने पो हो कि ? परिवारले अन्यथा लिएर हुलहुज्जत गरेर अस्पताललाई क्षति पु¥याउने हुन कि ? भन्ने खालका त्रास रहेको पाइन्छ । त्यसैले मस्तिष्क मृत्यु घोषणा पश्चात् हुने परिणामबारे चिकित्साकर्मीहरूले सोचेको पाइँदैन र मस्तिष्क मृत्यु घोषणा गर्न हच्किने, तत्पर नहुने प्रवृत्ति देखिन्छ ।

युरोप, अमेरिकाजस्ता संसारका विकसित देशहरूमा पनि मस्तिष्क मृत्युबाट हुने अंगदान (क्याडाभोरिक डोनेसन) गाह्रोसँग शुरु भएको पाइन्छ । हाम्रो देश नेपालजस्तै साउथ कोरियामा कसैले पनि मस्तिष्क मृत्यु भएका व्यक्तिहरूबाट अंगदान गर्दैनथे । त्यहाँको सरकारले ब्रेन डेथ डोनेसन गर्ने व्यक्तिको परिवारलाई इन्टेन्सिभ दिएको थियो । पछि एउटा सेलिब्रेटीको ब्रेन डेथ हुँदा उसको अंग लिएर केही व्यक्तिहरूले नयाँ जीवन पाएको समाचारहरू व्याप्त भएपछि त्यहाँ मस्तिष्क मृत्यु भएका व्यक्तिहरूबाट अंगदान दिने र लिने प्रचलन निकै राम्रो छ ।

आजकल त्यहाँ मस्तिष्क मृत्यु भएका व्यक्तिका आफन्तले इन्टेन्सिभ रकम लिदैनन् । नेपालमा डोनर हस्पिटलमा पनि खर्च हुने भएकाले थोरै भएपनि केन्द्रबाट ब्रेन डेथ डोनर हस्पिटललाई ५० हजार र डोनर परिवारलाई एक लाख रुपियाँ क्रिया खर्च दिने गरिएको छ । यति महत्वपूर्ण अंग खेर नजाओस्, यो कुरामा हामी सबै मिल्नुपर्छ र कार्यान्वयनमा ल्याउनुपर्छ । होस्टेमा हैंसे गर्न अनुरोध गर्दछु ।

मस्तिष्क मृत्यु भएको तर अरु अंग चलिरहेको अवस्थामा अंग निकाल्न सकेमा सबैभन्दा उत्तम हुन्छ । परिवारले स्वीकृति दिएमा तत्कालै अंग निकाल्नुपर्छ । त्यसमा समय तोकिएको हुँदैन । अंग निकाल्न जति ढिलो भयो त्यति नै खराब हुँदै जान्छ । अंग निकालिसकेपछि स्टोर गर्न सकिन्छ ।

जलेर वा गलेर नष्ट हुने अंगले धेरैलाई जीवित गराउन सकिन्छ भने किन अंगदान नगर्ने ?मस्तिष्क मृत्यु घोषणा नगरिदिने, घोषणा गरेपछि परिवारले अंगदान गर्न स्वीकृति नदिने ठूलो समस्या पाइन्छ ।


वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका सम्पूर्ण क्याविनेटका सदस्यहरूले अंगदान गर्नुभएको छ । यसअघिका स्वास्थ्यमन्त्रीहरू गगन थापा, राजेन्द्र महतो, खगराज अधिकारीलगायत धेरैले अंगदान गर्नुभएको छ । यसैगरी मुख्य सचिव शंकरदास बैरागी, पूर्व सचिव लिलामणि पौडेल, डा. प्रविण मिश्रदेखि कलाकारद्धय मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफ्नो मृत्युपश्चात् अंगदान गर्नुभएको छ । यसरी ‘मृत्युपश्चात् अंगदान गर्छु’ भनेर मञ्जुरीनामा दिनेहरूको संख्या २१ सय पुगेको छ । तर यो नमुना मात्र हो । यसलाई जनसाधारणसम्म ‘मरेपछि अंग काम लाग्छ’ भन्ने अभियान पु–याउन जरूरी देखिन्छ ।

पहिला नै अंगदान गरेको अवस्थामा परिवारका सदस्यहरू पनि मञ्जुर हुन्छन् । अहिलेसम्म मस्तिष्क मृत्यु भएका व्यक्तिहरूबाट अंगदानका लागि २७ वटा अस्पतालहरूबाट कल आएको छ । त्यसमा जम्मा ५ जनाको मात्र गर्न सकिएको छ । २२ जनामा हुन सकेन । २० वटा परिवारले दिएनन् र २ वटा परिवारले स्वीकृति दिएपनि ढिलो भएका कारण अंग खराब भइसकेको थियो । तर स्वच्छाले गरेको मञ्जुरीनामाबाट कसैको पनि अंगदान आएको छैन ।


मिर्गौला प्रत्यारोपण मस्तिष्क मृत्युबाट झिकिएको मिर्गौला आइसमा स्टोर गरेपछि २४ घण्टाभित्र प्रयोग गर्न मिल्छ । कलेजो र प्याँक्रियाज ८—१० घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्छ । मुटु र फोक्सो ४—६ घण्टाभित्र प्रत्यारोपण गर्नुपर्छ ।


शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई सरकारले मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपणको समन्वय इकाइका रुपमा ऐनमा नै तोकेर व्यवस्था गरेको छ । त्यसैले मस्तिष्क मृत्यु भएमा केन्द्रलाई अनिवार्य खबर गर्नुपर्छ । खबर गरेपछि केन्द्रका टोलीले अंग निकाल्ने र सरकारको निश्चित मापदण्डअनुसार अंग बाँडफाड गर्छ ।

के प्रत्यारोपणका लागि अहिलेको जनशक्ति र प्रविधि पर्याप्त छ ?
केन्द्रमा ४ वटा टोलीबाट स्वतन्त्र रुपमा छुट्टाछुट्टै प्रयारोपण गर्नसक्ने क्षमता छ । विभिन्न ठाउँमा गएर प्रत्यारोपण गर्न सकिन्छ । यसले मात्र मुलुकलाई धान्न सक्दैन । स्वास्थ्यकर्मीहरुलाई मस्तिष्क मृत्यु भएका व्यक्तिहरूबाट अंग लिने र सम्बन्धित व्यक्तिहरूमा प्रत्यारोपण गराउने सीप दिनुपर्छ । त्यसैले केन्द्रलाई शैक्षिक प्रतिष्ठान बनाउन जरुरी छ । केन्द्रलाई प्रतिष्ठान बनाएर मुलुकभर आवश्यक प्रत्यारोपणका जनशक्ति उत्पादन गर्न सरकारले चालु आर्थिक वर्षको बजेट भाषण र नीति कार्यक्रममा घोषणा गरिसकेको छ । यो कार्यन्वयनका लागि प्रक्रिया अघि बढाएका छौं । शैक्षिक प्रतिष्ठान पश्चात् ७ प्रदेशका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन हुने र सबै प्रदेशमा प्रत्यारोपणको सेवा शुरु गर्न सकिन्छ ।


केन्द्रमा ७०० जना अंग प्रत्यारोपणको पर्खाइमा रहेका छन् । मुलुकभर ७ हजारले डायलाईसिस गरिरहेका छन् । प्रत्येक वर्ष ३ हजार थपिन्छन् । यो राज्यका लागि ठूलो भार हो । यसको उपाय भनेकै प्रत्यारोपण हो । अहिलेसम्म मुलुकभर १७ सयको मात्र प्रत्यारोपण भएको छ । माग र आपूर्तिमा धेरै ठूलो खाडल छ ।


सातवटा प्रदेशमा सेवा विस्तार हुनुपर्छ । पूर्वाधार र जनशक्तिलाई विकास गर्नुपर्छ । अंगदान र प्रत्यारोपणका लागि प्रोत्साहित गर्नुपर्छ । डायलाईसिसमा राखेर देशका लागि भार हुने नागरिकलाई उत्पादनशील नागरिकमा परिणत गर्नुपर्छ । योग्य, र सक्षम नागरिक बनाउनुपर्छ । यसले डायलाईसिसमा हुने राज्यको ढुकुटी बचाउन र सक्षम व्यक्तिबाट आर्थिक रूपमा परिवार, समाज र राज्यलाई परिवर्तन गर्न सक्छ ।

(डा. श्रेष्ठ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्