Logo
|
Saturday 21st December 2024
Logo

epaper

मिर्गौला प्रत्यारोपणसम्बन्धि १० प्रश्न



मिर्गौला प्रत्यारोपण भनेको के हो ?
मिर्गौला दाताबाट स्वस्थ मिर्गौला निकालेर ग्रहण गर्ने व्यक्तिमा शल्यक्रियाबाट पेटको तल्लो भागमा हालेर त्यसपछि रगतका नली र पिसावको नली जडान गर्ने कार्यलाई मिर्गौला प्रत्यारोपण भनिन्छ ।

मिर्गौला प्रत्यारोपण कसलाई चाहिन्छ ?
दीर्घकालिन मिर्गौला बिरामी जसको मिर्गौलाको ग्लोमेरूलर फिल्ट्रेसन रेट (जीएफआर) १५ एमएल भन्दा कम र मिर्गौलाको काम गर्ने क्षमता ८५ प्रतिशत भन्दा कम भएमा उहाँहरूलाई मिर्गौला प्रत्यारोपणको जरुरत पर्छ ।

मिर्गौला प्रत्यारोपण बाहेक दीर्घकालीन मिर्गौला बिरामीहरूको विकल्प के हुन सक्छ ?
प्रत्यारोपणबाहेक हेमोडायलाइसिस (रगतको माध्यमबाट सफा गर्ने पद्धति) र पेरीटोनियल डायलाइसिस (पेटमा पानी हालेर रगत सफा गर्ने पद्धति) दीर्घकालीन मिर्गौला बिरामीका विकल्प हुनसक्छन् ।

डायलाइसिस र प्रत्यारोपणमा कुन पद्धति राम्रो हुन्छ ?
प्रत्यारोपण गरेको मिर्गौलाले दैनिकी सरल बनाउँछ । शरीरको पानीको मात्रा सन्तुलनमा ल्याउँछ । खानाको कम परेज गरे हुन्छ ।

डायलाइसिस गर्ने समयको वचत हुन्छ । काम गर्न सक्षम भइन्छ । मुलुकले दक्ष जनशक्ति प्राप्त गर्छ । आयु बढ्छ । त्यसैले डायलाईसिसभन्दा प्रत्यारोपण अवश्यनै राम्रो पद्धति हो ।

कसले प्रत्यारोपण गर्न हुँदैन ?
शरीरमा धेरै सक्रमण भएका दीर्घकालीन मिर्गौलाका बिरामी, घातक क्यान्सर, मानसिक असन्तुलन भएका व्यक्तिले प्रत्यारोपण गर्न हुँदैन ।

कसले मिर्गौला दान गर्न मिल्छ ?
१८ वर्ष भन्दा माथिको उमेर भएका व्यक्ति, सरकारले इजाजत दिएका नातागोताभित्रका व्यक्ति, मृत्युअघि वा मृत्यु पश्चात् नातेदारले इजाजत दिएका व्यक्तिबाट मिर्गौला दान लिन सकिन्छ । यसैगरी एक परिवारबाट अर्को परिवारसँग साटासाट (पियर एक्सजेञ्ज) गरेर पनि मिर्गौला दान लिन सकिन्छ । मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ मा गरिएको व्यवस्था अनुसार सीमित नजिकका नातेदारबाट अंगदान गर्न सक्ने व्यवस्था गरिएको थियो । तर हाल पहिलो संसोधित ऐन २०७२ मा अङ्गदाताको दायरा निकै फराकिलो बनाइएको छ ।

पहिलो संशोधनअनुसार नजिकको नाता भन्नाले अंग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बुबा, आमा, दाजु, भाइ, दिदी, बहिनी, ठूलो बाबु, ठूली आमा, काका, काकी, सानोबाबु, सानीआमा, भतिजा, भतिजी, सासु, ससूरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजु, बुहारी, मामा, माईजु, भान्जा, भान्जी, साला, साली, फूपु, फुपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाईं, जेठानबाट समेत अंगदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

मिर्गौला प्रत्यारोपणमा के समस्या हुनसक्छ ?
मिर्र्गाैला प्रत्यारोपण गर्ने व्यक्तिले आजीवन नियमित औषधि सेवन नगरेमा दाताले दिएको मिर्गौला पुन बिग्रन सक्छ । यसलाई रिजेक्सन भनिन्छ । यसैगरी प्रत्यारोपणपश्चात् संक्रमणको समस्या पनि आउन सक्छ । जस्तैः पिसावको संक्रमण, छातिको संक्रमण आदि ।

मिर्गौला दातालाई के के समस्या हुनसक्छ ?
मिर्गौला दातालाई शल्यक्रिया बाहेक कुनै समस्या हुँदैन । मिर्गौला दाता तीन महिना पछि आफ्नो दैनिकी काममा फर्कन सक्छन् ।

मिर्गौला दाता महिलाले ६ महिनापछि गर्भधारण गर्न सक्छन् । जाँच गरेर मात्र मिर्गौला लिने भएकाले समस्या देखिएका व्यक्तिबाट लिइएको मिर्गौला प्रत्यारोपण गर्न मिल्दैन ।

मिर्गौला प्रत्यारोपण गर्ने व्यक्तिलाई के सल्लाह दिनुहुन्छ ?
नियमित औषधिको सेवन गर्ने, आफ्नो रगत पिसाव र औषधिको मात्रा (ट्याक्रोलिमस लेभल) नियमित जाँच गर्ने, नियमित व्यायाम गर्ने, शारीरिक तौल सन्तुलनमा राख्ने, सन्तुलित आहार लिने, जथाभावी औषधि सेवन नगर्ने, आफु वरपरको वातावरण सफा राख्ने, नियमित हात धुने, नियमित चिकित्सकको परामर्श लिने र संक्रमण भएका व्यक्तिहरूबाट टाढा बस्नुपर्छ ।

के ब्लड ग्रुप नमिलेमा प्रत्यारोपण सम्भव छ ?
ब्लड ग्रुप नमिलेमा पनि प्लाज्मा एक्सचेञ्ज (रगतमा भएका एन्टीबडी सफा गरेर), पियर एक्सचेञ्ज ( एक परिवारबाट अर्को परिवारसँग साटासाट गरेर) प्रत्यारोपण गर्न सम्भव हुन्छ ।

(डा. आचार्य शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्