Logo
|
Friday 19th April 2024
Logo

epaper

डा. मनबहादुर केसीसँग उच्चरक्तचाप सम्बन्धि १६ प्रश्न

विश्व उच्चरक्तचाप दिवस २०२३ः ‘आफ्नो रक्तचाप नाप्नुहोस, सही रुपमा नियन्त्रण गर्नुहोस, र लामो समयसम्म बाँच्नुहोस्’



आज विश्व उच्च रक्तचाप दिवस । हरेक वर्ष मे १७ मा विश्व रक्तचाप दिवस मनाउने गरिएको छ । ‘आफ्नो रक्तचाप नाप्नुहोस, सही रुपमा नियन्त्रण गर्नुहोस, र लामो समयसम्म बाँच्नुहोस्’ भन्ने मुल नारासहित सन् २०२३ मा नेपाल लगायत विश्वभर यो दिवस मनाइँदै छ । यसै सन्दर्भमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसी नेपालमा उच्चरक्तचाप र मधुमेहको समुचित उपचार हुन नसक्दा ८० प्रतिशत व्यक्तिको मिर्गौला विफल भएर प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ । २० प्रतिशत मात्र अरुतिरबाट आएका छन् । त्यसैले यसप्रति सजग र सचेत हुन जरुरी भएको उहाँले सुझाव दिनुभएको छ । यसैसन्दर्भमा जनस्वास्थ्य सरोकार/ नेपाल हेल्थ न्युजले डा. केसीसँग १६ प्रश्नको जवाफ प्रस्तुत गरेको छ ।

डा. मन बहादुर केसी, वरिष्ठ मुटुरोग विशेषज्ञ

प्रश्न नं. १ : कति रक्तचापलाई उच्च मान्ने ?

जवाफः सामान्यत रक्तचाप माथिको १२० र तलको ८० हुनुपर्छ । तर रक्तचाप माथिको (सिस्टोलिक) अंक १४० र तलको (डायस्टोलिक) अंक ९० भन्दा बढी निरन्तर रुपमा भएमा उच्च रक्तचाप भएको ठान्नुपर्छ ।

प्रश्न नं.२ः रक्तचापको औषधि बीचैमा छोड्न मिल्दैन र ?

जवाफः विशेषगरी एक्युट (तत्काल लागेर निको हुने, जस्तैः झाडापखाला, रुघाखोकी, केही समय औषधि खाएर निको हुने क्षयरोग, कुष्टरोग आदि पर्दछन् भने अर्को क्रोनिक (दीर्घ रोग) जुन एकपटक लागेपछि जीवनपर्यन्त हुन्छ ।

यसरी रक्तचापलगायतका जीवनपर्यन्त हुने रोगमा निरन्त औषधि सेवन गर्न जरुरी पर्छ । तर औषधि सेवन गर्न थालेको केही समयपछि उच्चरक्तचाप घटेर अफ्ट्यारो हुने अवस्था आएमा चिकित्सकको निगरानीमा छोड्न पनि सकिन्छ ।

प्रश्न नं.३ : उच्च रक्तचापमा एलोपेथिकभन्दा घरायसी र आयुर्वेद औषधि राम्रो होइन र ?

जवाफः घरायसी औषधि कुनै औषधि नै होइन । आयुर्वेद एउटा उपचार विधा हो । म आयुर्वेदको विज्ञ नभएकाले यसबारे मलाई धेरै ज्ञान छैन । तर आयुर्वेद चिकित्सकले सिफारिस गरेको स्तरीय औषधि सेवन गरेर रक्तचाप ठीक हुन्छ भने यो तपाईंको छनौट हो । यसमा धेरै बोल्न जरुरी छैन । जुन औषधि सेवन गरेपनि विज्ञानले अनुसन्धान गरेर प्रमाणित गरेको औषधि खानुहोस् । जुन औषधिले तपाईको उच्च रक्तचाप नियन्त्रण गरोस् र अन्य अंगहरुलाई हानी नपु¥याओस् ।

प्रश्न नं. ४ः डाक्टरसाब, केहि भएकै छैन किन उच्चरक्तचापको औषधि खाने ?

जवाफः भएपछि त सकिहाल्यो नि । केहि हुनुभन्दा अगाडि नै चिकित्सकको सिफारिसमा औषधि सेवन गर्नु बुद्धिमानी हुन्छ ।

उच्च रक्तचाप भएपछि पहिलो नम्बरमा मिर्गौला, दोस्रो नम्बरमा आँखा, तेस्रो नम्बरमा मस्तिष्क, चौथो नम्बरमा मुटु र शरीरका अन्य अंगलाई असर गर्दै जान्छ । औषधि सेवनले यस्ता महत्वपूर्ण अंगहरुलाई सुरक्षित र स्वस्थ राख्छ । त्यसैले उच्चरक्तचापका कारण शरीरका अंगहरु विग्रनुपूर्व नै औषधि सेवन गर्नुपर्छ ।

उच्च रक्तचापले प्यारालाइसिस, हृदयघात, मिर्गौला बिफल र अन्धोपना जस्ता जटिल समस्या भइसकेपछि औषधि खानुको कुनै अर्थ हुँदैन । उच्च रक्तचापका ६० प्रतिशत व्यक्तिमा कुनै लक्षण देखिदैन । रक्तचापको लेवल अनुसार औषधि खानुपर्छ ।

प्रश्न नं. ५ः औषधिले किड्नीलाई खराब गर्छ रे नि हो ?

जवाफः यो सबैभन्दा ठूलो भ्रम हो । उच्च रक्तचापको औषधि खाने पहिलो उद्देश्य नै मिर्गौला बचाउन हो ।

प्रश्न नं. ६ः औषधि खाएपछि रक्सि चुरोट छोड्नुपर्छ र ?

जवाफः रक्सी र चुरोट स्वास्थ्यलाई कुनै दृष्टिकोणबाट पनि फाइदा गर्ने चिज नै होइन । यसको बेफाइदा मात्रै छ । यसले सामाजिक समस्या ल्याउँछ । रक्सी र चुरोटको सेवनले मुटुसम्बन्धी रोगमात्र नभएर क्यान्सर, लिभर फेलियर, मस्तिष्कसम्बन्धि विभिन्न रोग निम्त्याउन सक्छ । त्यसैले यस्ता चिजहरुबाट टाढा रहनु भलो हुन्छ ।

प्रश्न नं. ७ः रक्सी भन्दा वियर राम्रो भन्छन् नि ?

जवाफः सबै प्रकारका मद्यपान स्वास्थ्यका लागि हानीकारक छ । रक्सी वियर दुवैले शरीरमा बोसोको मात्रा अत्यधिक बढाउँछ । बियरमा अल्कोहलको मात्रा थोरै मात्र हुने हो । तर यसले स्वास्थ्यलाई प्रतिकुल असर पु¥याउने भएकाले पिउन हुँदैन ।

प्रश्न नं. ८ः मैले औषधि खाँदै छु । तर प्रेसर घट्दैन किन ?

जवाफः बजारमा प्रेसरका विभिन्न खालका औषधिहरु छन् । व्यक्ति पिच्छे फरक औषधि सुट हुन्छ । उच्च रक्तचापको शुरुको अवस्थामा कम मात्राको औषधिले पनि काम गर्छ । उच्च रक्तचाप भएको केहि वर्ष सम्म पनि औषधि सेवन नगरेमा रगतका नलीहरु कडा भएर जान्छन् । साथै मुटु नै कडा हुन्छ । यस्ता व्यक्तिले उच्च मात्राको औषधि सेवन गर्नुपर्छ । जति रोग पाल्यो त्यति नै कडा मात्राको औषधि आवश्यक पर्नसक्छ ।

प्रश्न नं. ९: प्रेसरको औषधिले चक्कर लागेर उठ्नै सकिनँ ?

जवाफः पहिलो कुरा प्रेसरले पनि चक्कर लगाउँछ । केहि व्यक्ति प्रेसरको औषधि खान थालेपछि टाउको दुख्ने र चक्कर लाग्ने गरेको समस्या बताउँछन् । लामो समय प्रेसर पालेर बसेका व्यक्तिलाई औषधि सेवनले प्रेसर सामान्य अवस्थामा आएपछि प्रेसर घटेको महसुस हुन्छ र चक्कर पनि लाग्न सक्छ । यस्ता व्यक्तिले थोरै मात्राबाट औषधि सुरु गर्नुपर्छ । बिस्तारै औषधिको डोज बढाउँदै लैजानुपर्छ । पटकपटक रिंगटा लाग्ने र चक्कर आउने समस्या भएमा चिकित्सकको सिफारिसमा औषधि परिवर्तन गर्नुपर्छ । तर उच्च रक्तचापका बिरामीले औषधिले चक्कर लाग्यो भनेर औषधि खान छोड्न बुद्धिमानी होइन । अन्यथा अन्तिममा मिर्गौला, आँखा, मस्तिष्क र मुटु खराब हुनसक्छ ।

प्रश्न नं. १०ः औषधिले खुट्टा सुन्निन थाल्यो ?

जवाफःखुट्टा सुन्निने घातक साइडइफेक्ट होइन । एम्लोडिपिन जातको औषधि सेवन गर्दा कसैकसैलाई खुट्टा सुन्निन सक्छ । तर डराउनुपर्दैन । यसले स्वास्थ्यमा कुनै प्रतिकूल असर पार्दैन । तर धेरै सुन्निएर दुख्यो, जुत्ता लगाउन अप्ठेरो भएमा चिकित्सकको सिफारिसमा औषधि परिवर्तन गर्नुपर्छ ।

प्रश्न नं. ११ः मैले कति समयमा के के जाँच गर्नुपर्छ ?

जवाफः बिरामीलाइ बारम्बार बोलाएर विभिन्न प्रकारका परीक्षण र महँगा औषधि सिफारिस गरेको पनि पाइएको छ । रगत परीक्षण गर्दा सुगर, मिर्गौलाको काम, कोलेस्टेरोलको मात्रा ठिक भएमा अनुकुल मिलाएर एक—डेढ वर्षको अन्तरालमा फलोअपमा जानुभए हुन्छ । दुइ अढाई वर्ष भन्दा ढिला नगर्नुहोला । यदि प्रेसरले मुटु, मिर्गौला, आँखा वा अन्य कुनै अंगमा असर भएमा अलि चाँडो जाँच गर्न जरुरी हुन्छ ।

प्रश्न नं. १२ः डिजिटल मेसिनले जाँचेको सहि हुन्न कि कसो ?

जवाफः कतिपय बिरामीहरु डिजिटल मेसिनबाट प्रेसर जाँचेर आत्तिएर अस्पताल आउने गर्छन् । यहाँ परीक्षण गर्दा प्रेसर सामान्य नै हुन्छ । यदि प्रेसर जाँँच्न डिजिटल मेसिन नै प्रयोग गर्दै हुनुहुन्छ भने स्तरीय कम्पनीको प्रयोग गर्नुहोस् ।

डिजिटल मेसिनले प्रेसर जाँच्दा विशेष सावधानी अपनाउनुपर्छ । प्रेसर जाच्ने क्रममा शरीर मुभमेन्ट हुनहुँदैन । सानो मुभमेन्टले पनि फरक रिडिङ दिन्छ । हाम्रो देशमा म्यानुअल ब्लड प्रेसर मेसिन प्रयोग गर्न बढी सजिलो हुन्छ जस्तो लाग्छ ।

प्रश्न नं. १३ः घरमा ठिकै हुन्छ तर अस्पताल गयो कि रक्तचाप बढिहाल्छ !

जवाफः स्वास्थ्यकर्मीले नाप्दा ‘ह्वाइट कोट हाइपरटेन्सन’ भन्ने हुन्छ । त्यस्ता व्यक्तिले एम्युलेटरी ब्लड प्रेसर मोनिटरिङ भन्ने डिजिटल रेकर्डर एक दिन लगाएर चेक गर्न सक्छन् । यदि घरमा नाप्दा रक्तचाप ठिक देखियो र डाक्टरले नाप्दा बढी देखायो भने त्यस्ता व्यक्तिले औषधि खानुपर्दैन । उसको शरीरका अंगलाइ कुनै असर पारेको हुँदैन ।

प्रश्न नं. १४ःउच्चरक्तचापका व्यक्तिले कति नून खाने ?

जवाफः नून शरीरलाई चाहिने चिज हो । नून बढी खान हुँदैन । लगातार केही दिन नून नखाएमा शरीरमा नूनको मात्रा कम भएर बेहोस समेत हुनसक्छ । हरेक दिन शरीरलाई आवश्यक पर्ने न्युनतम ४ ग्राम नून खानुपर्छ ।

प्रश्न नं. १५ः दिनहुँ करेला खाएमा प्रेसर नियन्त्रण हुँदैन र डा.साब ?

जवाफः संसारभर नेपालको वार्षिक बजेट भन्दा बढी रकम बराबरको उच्चरक्तचापको औषधिको व्यापार हुन्छ । यदि करेलाले प्रेसर नियन्त्रण हुने भए सबैले करेला खेती गर्ने थिए होलान । सामान्यतया तितेकरेलामा भएको गुणले प्रेसर घटाउन मद्धत गर्छ । तर यो दीर्घकालिन उपाय होइन । यसको भरमा बस्नहुँदैन ।

प्रश्न नं. १६ः औषधि खाएपछि डिप्रेसन हुन्छ ?
जवाफः प्रेसरको औषधिले डिप्रेसन हुँदैन । तर मस्तिष्कमा नकारात्मक कुरा सोच्न थालेमा डिप्रेसन हुनसक्छ ।
खानपिन र जीवनशैलीमा परिवर्तन गरेर रक्तचाप नियन्त्रणमा राख्नुपर्छ ।

(डा. के.सी. ह्याम्स हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्