रोग किन लाग्छ ? वृद्ध शरीरको स्क्यानबाट यसरी थाहा पाउन सकिन्छ, जानौँ !
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मानव शरीरको इमेज स्क्यान गर्ने विश्वकै सबभन्दा ठूलो परियोजनाअन्तर्गत यूकेमा ६०,००० स्वयंसेवीहरूको मस्तिष्क तथा शरीरको पुन स्क्यान गरिँदै छ। यो परियोजनाको उद्देश्य रोगहरूको उपचार र रोकथामका नयाँ उपाय पत्ता लगाउनु हो।
यो अध्ययनमा मानव शरीर कसरी बूढो हुँदै जान्छ भनेर हेरिने छ। त्यसबाट डिमेन्शा (विस्मृति अर्थात् बिर्सिने रोग) वा विभिन्न किसिमका क्यान्सर लाग्न सक्ने सम्भावना पहिले नै पत्ता लाग्न सक्छ।
विगतका यस्ता अध्ययनले मुटु रोगको उच्च जोखिमसहित जन्मिने शिशुका निम्ति आनुवंशिक परीक्षण विकास गर्न सहयोग गरिसकेका छन्।
नौ वर्षअघि यसरी स्क्यान गराउन स्वेच्छापूर्वक अघि सर्ने म पहिलो स्वयंसेवी थिएँ र आज फेरि थप स्क्यानका निम्ति म अघि सरेको छु।
दोस्रो पटक मेरा मस्तिष्क, मुटु, आँखा र हड्डीको सघनताको विश्लेषण हुने छ। म जस्तै अन्य स्वयंसेवीहरू यूके बायोब्याङ्क अध्ययनमा सहभागी छन्।
यसबाट निर्मित डेटाबेसलाई स्वास्थ्यसँग सम्बन्धित अध्ययनका लागि ९० भन्दा बढी देशका अनुसन्धानकर्ताहरूले प्रयोग गर्दै छन्।डिमेन्शा हुने धेरै सम्भावनाबारे अध्ययनले पत्ता लगाउन सक्छ ।
हजारौँ मानिसहरूको कैयौँ वर्षको अन्तरालमा दुई पटक खिचिएका विस्तृत एमआरआई इमेज तथा हड्डीको सघनताको विश्लेषण गरिएका प्रतिवेदनबाट डिमेन्शा, क्यान्सर तथा मुटु रोगजस्ता बिमारी पहिचान र रोकथाम गर्न सघाउ पुग्ने नयाँ सम्भावनाहरूको ढोका खुल्न सक्छ।
प्रमुख वैज्ञानिक प्राध्यापक नाओमी एलेनले बीबीसीलाई भन्नुभयो –‘हामी वृद्ध हुँदै जाँदा हाम्रा अङ्गमा हुने परिवर्तनबारे अनुसन्धानकर्ताहरूले अध्ययन गरेर विशिष्ट बायोमार्करहरू विकास गर्न सक्छन्। त्यसबाट क्लिनिकल रूपमा रोगको निदान गर्न वा त्यसका लक्षण प्रकट हुनुभन्दा वर्षौँ अगाडि नै थाहा पाउन सकिन्छ।’
कसलाई चाहिँ उपचारको फाइदा हुन सक्छ वा कुनै रोगप्रति किन कोही मानिस अरूभन्दा बढी प्रतिरोधी क्षमतायुक्त हुन्छन् भन्ने जस्ता विवरण पनि पत्ता लाग्न सक्ने प्राध्यापक पाउल म्याथ्यूजले भन्नुभयो ।
उनी इम्पिअरीअल कलेज लन्डनको यूके डिमेन्शा रिसर्चका प्रमुख तथा यूके बायोब्याङ्कको इमेजिङ वर्किङ ग्रूपका अध्यक्ष पनि हुन्।
देशको स्वास्थ्यको सबभन्दा विस्तृत अध्ययन गर्ने उद्देश्यले सन् २००६ मा यूके बायोब्याङ्क सुरु गरिएको थियो।
त्यसमा मसहित पाँच लाख वयस्क मानिसहरू मेडिकल जाँच, सोधपूछ, जीवनशैलीबारे प्रश्न तथा आनुवंशिक नमुना दिन तथा अध्ययनका लागि तिनको विवरण दशकौँसम्म साँचेर राख्न दिन सहमत भएका थियौँ।
सबै सहभागीहरूको जीनोम सीक्वन्स गरिएको छ ( सम्पूर्ण डीएनएको।
यो अध्ययनअन्तर्गत इमेजिङ गर्ने काम चाहिँ सन् २०१४ मा सुरु भयो जसमा मस्तिष्क तथा शरीरका अन्य अङ्गको विस्तृत स्क्यान पर्छ।
त्यसरी जुटाइएका डेटा कसको के हो भन्ने नखुलाईकनै राखिन्छ र सहभागीहरूलाई पनि खासै केही बताइँदैन। त्यसो भए सहभागीका लागि वा मेरा लागि के फाइदा भो त ?
सत्सट्ठी वर्षीया मारियन कीलिङ भन्छिन्, भन्नुहुन्छ–‘यसमा मानवीयताको अंश छ। एक किसिमले यो रक्तदान गर्नु जस्तै हो, अन्य मानिसका लागि।’
अर्की स्वयंसेवी मेरी विल्सन ९८१० को भनाइ पनि मिल्दोजुल्दो छ ‘यसले भावी पुस्ता अनि तिनका स्वास्थ्य सेवाका लागि मद्दत पुग्छ। जति लामो समय स्वस्थ रहन सकियो, त्यति राम्रो हुन्छ।’
स्वयंसेवीहरूको अङ्गका विस्तृत स्क्यानहरू अध्ययनका निम्ति भण्डार गरिन्छ ।
अरू बायोमेडिक डेटाबेस पनि उपलब्ध छन् तर ती या त थोरै मानिसको छन् या त यूके बायोब्याङ्कको जस्तो लामो समयदेखि सङ्कलन गरिएका छैनन्।
वास्तवमा यूके बायोब्याङ्क अध्ययनले परिणाम दिन थालिसकेको छ।
त्यसमा आधारित भएर विद्वत् समीक्षा गरिएका ७,००० भन्दा धेरै शोधपत्र प्रकाशित भइसकेका छन्। तीमध्ये एकतिहाइ त गत वर्ष मात्रै प्रकाशित भए। यसले अध्ययनको वैज्ञानिक महत्त्व समयसँगै बढ्दै गएको देखाउँछ।
यूके बायोब्याङ्कमा उपलब्ध जिनोमिक विवरणको समीक्षा गरेका अनुसन्धानकर्ताहरूले सन् २०१८ मा एउटा आनुवंशिक परीक्षण विधि विकास गरे जसले कुनै शिशु कोरोनरी मुटु रोगको उच्च जोखिममा छ कि छैन भनेर पत्ता लगाउँछ।
‘यदि तपाईँले तपाईँको जीनोमभरिका जेनेटिक भेरिएशनहरू (आनुवंशिक परिवर्तनहरू) जोडेर हेर्नुभयो भने एकाध परिवर्तनको थोरै प्रभाव हुन्छ तर सबैको प्रभाव जोड्दा के देख्न सकिन्छ भने कतिपय व्यक्तिहरूमा मुटुरोग हुने वा विभिन्न प्रकारका क्यान्सर हुने ठूलो आनुवंशिक जोखिम हुन सक्छ,’-प्राध्यापक एलेनले भन्नुभयो ।
इम्पिअरीअल कलेज लन्डनको स्कूल अफ पब्लिक हेल्थका एपिडिमियोलजिस्ट प्राध्यापक पोल इलिअटका अनुसार ठूलो सङ्ख्याका सहभागीहरूको स्क्यान सङ्कलनले हाम्रा जीन तथा वातावरणले रोगप्रति हाम्रा जोखिमबारेको ज्ञान सुधार्न सहयोग पुग्ने छ।
‘यसले एनएचएसलाई पनि स्वास्थ्यसम्बन्धी अभिलेखको आधारमा बिरामीलाई मद्दत गर्न सघाउ मिल्छ। सार्वजनिक लगानीमा गरिएका अनुसन्धानको फाइदाको यो विशिष्ट उदाहरण पनि हो,’ उहाँले भन्नुभयो ।
यूके बायोब्याङ्क विश्वभरि नै यस्ता प्रकारका स्वास्थ्य अध्ययनको ‘उत्तम उदाहरण’ मानिएको छ।
यो अध्ययनलाई मेडिकल रिसर्च काउन्सिल, वेल्कम ट्रस्ट, ब्रिटिश हार्ट फाउन्डेशन र डिमेन्शा प्ल्याटफर्म यूकेले सघाएका छन्। बीबीसीबाट