जब आमाले भन्नुभयो— ‘छोरालाई प्याथोलोजिष्ट पढाएको काम लाग्यो’…
हिस्टोप्याथोलोजीमा तन्तुहरूको अध्ययन
सन् २०७९ साल पुसको पहिलो साता परिवारसँगै खाना खाँदै थियौं । सो क्रममा आमाले आफूलाई घाँटी दुखेको समस्या बताउनुभयो । उहाँलाई घर नजिकैको अस्पतालमा चिकित्सकलाई देखाउन भनेँ र म आफ्नो कामतिर लागेँ । दिउँसो आमाले घाँटीको भिडियो एक्सरे मलाई पठाउनुभयो । रिपोर्ट हेरेपछि मलाई शंका लाग्यो । भोलिपल्ट घाँटीको एफएनएसी जाँच गरेँ । उहाँलाई थायराइड क्यान्सर भएको पहिचान भयो । ग्रन्थीहरूको लिम्फनोडमा क्यान्सर फैलिसकेको थियो । साथीहरूको सहयोगमा क्यान्सर पहिचान भएको ९ दिनमा सफल शल्यक्रिया पनि भयो । त्यसपछि रेडियोआयोडिन थेरापी गरियो । अस्पतालबाट डिस्चार्ज गरेर घर ल्याएपछि आमा खुशी भएर ‘छोरालाई प्याथोलोजिष्ट पढाएको काम लाग्यो’ भनेको शव्दले निकै भावुक बनायो । अझ जिम्मेवारी महसुस गरायो । अहिले आमाले पूर्ण रूपमा क्यान्सर जितिसक्नुभएको छ । आफ्नो घरमा परेरको समस्या जस्तै हरेक क्यान्सर बिरामीलाई पनि होला जस्तो लाग्छ । आजकल क्यान्सर बिरामीलाई हेर्ने नजर नै फरक भएको छ । ‘कसरी बिरामीलाई मद्धत गर्न सकिन्छ’ भन्ने सोच भइरहन्छ ।
आजकल कुन विधाको परीक्षणमा व्यस्त हुनुहन्छ ?
हिस्टोप्याथोलोजीमा केन्द्रित भएर सेवा गरिरहेको छु । आवश्यक पर्दा हेमाटोलोजीदेखि बायोकेमेष्ट्रिसम्मको टेष्ट गर्छु ।
अमेरिकन नेशनल क्यान्सर इन्स्टिच्युटका अनुसार ‘कुनै पनि जीवको कोशिका र तन्तु माइक्रोस्कोपबाट परीक्षण गर्ने प्रक्रिया हिस्टोप्याथोलोजी हो’ । हिस्टोप्याथोलोजीमा तन्तुहरूको अध्ययन गरिन्छ ।
एक वर्षमा कति वायोप्सी परीक्षण गर्न सफल हुनुभएको छ ?
नेशनल रेफरेन्स ल्याबोरेटोरीमा २०७९ मा ३ हजार ५ सय बायोप्सी जाँच गर्न सफल भएका छौं । यसमा करिब ४०—४५ प्रतिशत लार्ज रेडिकल्स वायोप्सी हुने गर्छन् । जस्तोः आन्द्रा, मिर्गौला, युट्रस, पाठेघरका क्यान्सरहरू आदि । साना इन्डोस्कोपी, स—साना वायोप्सी, कोलानोस्कोपी, इनसिजनल बायोप्सीहरू लगभग ५०—५५ को हाराहारीमा हुने गर्छन् ।
बायोप्सी गरेर क्यान्सर पहिचान र यसको स्टेजिङ छुट्याइन्छ ।
कतिजनाको साइटोलोजी जाँच गर्नुभयो ?
साइटोलोजी जाँचमा करिब १ हजार ५ सयको हाराहारीमा पुगेका छौं ।
इम्युनोफ्लोरोसेन्स परीक्षणको संख्या बताइदिनुस् न ?
इम्युनोफ्लोरोसेन्स (आईएफ) परीक्षण २ हजार ५ सय भन्दा धेरै गरिसकेका छौं ।
स्पेनको बार्सिनोलास्थित बायोसिस्टम कम्पनिले मलाई नेपालका लागि आधिकारिक टेक्निकल एडभाइजर र एनआरएललाई टेक्निकल सेन्टर भनेर रिकग्नाइज गरेको छ ।
बिरामीको रिपोर्ट कति दिनमा प्राप्त हुन्छ ?
कतिपयमा वायोप्सी लिएको तीन दिनमा रिपोर्ट दिन सकिन्छ । कुनै कुनै सानो वायोप्सीको ५ देखि ७ दिन र ठूलोको ७ देखि १० दिनसम्म रिपोर्ट उपलब्ध गराउन सकेका छौं । यसले बिरामीको उपचार चाँडै सम्भव तुल्याउने गरेको हुन्छ ।
के कस्ता वायोप्सी परीक्षण गर्नुहुन्छ ?
छाला, आँखाको ट्युमर, ब्रेन ट्युमर तथा विभिन्न अङ्गको वायोप्सीमार्फत रोग पहिचान गर्दछौं ।
यसमा क्लिनिसियनको भूमिका के हुन्छ ?
एफएनएसी (फाइन निडल एस्पिरेसन) गर्ने वा वायोप्सी गर्ने भन्ने कुरा क्लिनिसियनले उचित निर्णय लिनुपर्छ । बढी भन्दा बढी बिरामीको हिस्टोरी प्याथोलोजिष्टलाई उपलब्ध गराउनुपर्छ ।
चाँडै समस्या पहिचान गर्न के कुरामा ख्याल गर्नुपर्छ ?
पाठेघरको क्यान्सर पहिचान गर्न प्यापस्मेयर टेष्ट, स्तनमा गिर्खाजस्तो आएमा म्यामोग्राम, एफएनएसी । यसलाई हेलचेक्र्याइ गर्न हुँदैन । आफूलाई असजिलो महसुस भएमा तत्काल डाक्टरसँग परामर्श लिनुपर्छ ।
(डा. शर्मा नेशनल रेफरेन्स ल्याबोरेटोरीमा कार्यरत हुनुहुन्छ ।)