Logo
|
Saturday 27th April 2024
Logo

epaper

गर्मी मौसममा छालाको हेरचाह



डा. श्रद्धा प्रधान गोर्खाली, छाला रोग एवं शौन्दर्य विशेषज्ञ

गर्मी मौसममा छालामा फङ्गल इन्फेक्सनको जोखिम बढी हुन्छ । यो बेला धेरै पसिना आउने र छाला गुम्सिने समस्या हुन्छ । यो मौसममा काखीमुनी, छाति, घुँडाको पछाडीको भाग र कम्मरमा स–साना राता खटिरा देखिनसक्छ । बालबालिकाहरूलाई हिट र्याससको समस्या धेरै हुनेगर्छ । यो मौसममा घामको एलर्जी हुनसक्छ । साथै वातावरणीय एलर्जनको असर बढी देखिनसक्छ ।

गर्मी मौसममा भुसुना र लामखुट्टेको टोकाइलगायतका कारण इन्सेक्ट बाइट एलर्जीको जोखिम पनि बढी नै हुन्छ । साथै सूर्यको किरणले अनुहारमा दाग, पोतोलगायत पिग्मेन्टेसनको समस्या बढाउँछ ।


खासगरी सेवा लिन जनरल डर्माटोलोजीसम्बन्धि समस्या भएका व्यक्तिहरू बढी आउने गर्छन् । साथै राम्रो देखाउन गरिने सर्जिकल नन् सर्जिकल एस्थेटिक डर्माटोलोजीसम्बन्धि सेवा लिनेहरूको चाप पनि बढेको छ । बोटक्स, माइक्रोव्लेडिङ, थे्रड, फिलर्स, पीआरपीलगायत एस्थेटिक प्रोसिजर सेवा लिनेहरू पनि बढिरहेका छन् । जनरल डर्माटोलोजी अन्तर्गत डन्डिफोर, मेलाज्मा, कपाल झर्ने समस्या, एलर्जी फङ्गल इन्फेक्सन पर्दछन् ।


खासगरी गर्मी मौसममा छालालाई सफा र सुख्खा राख्नुपर्छ । छालामा मोस्चराइजर प्रयोग गर्नुपर्छ । हिट ¥यासबाट बच्न पातलो एवं हल्का कपडा लगाउनुपर्छ । घरभित्र बस्दा शरीरलाई गुम्स्याउन हुँदैन । सूर्यसँग सम्बन्धित छालाको एलर्जीबाट बच्न ‘सन प्रोटेक्सन’ लोसन प्रयोग गर्नुपर्दछ ।

घरबाहिर निस्कदा छालामा सनस्क्रिन लगाउनुपर्दछ । चिकित्सकको सिफारिस बिना (ओभर द काउन्टर) पनि सनस्क्रिन खरिद गर्न सकिन्छ । तर छाला रोग विशेषज्ञसँग परामर्श गरेर मात्र आफ्नो छालाको प्रकृतिअनुसार सनस्क्रिन प्रयोग गर्न सकिन्छ । विश्व बजारमा नाम चलेका गुणस्तरीय सनस्क्रिन प्रयोग गर्न जरूरी हुन्छ ।


कस्तो स्याम्पो प्रयोग गर्ने ?

कपालमा केमिकलरहित स्याम्पो प्रयोग गर्नुपर्छ ।

स्याम्पोले कपाल झार्ने र कपाल झर्नबाट रोक्ने भन्ने हुँदैन । यसमा स्याम्पोको कुनै भूमिका पनि हुँदैन । कपालका ग्रोइङ, रेस्टिङ र फलिङ फेजहरूमध्ये कहिलेकाँही फलिङ फेजमा स्याम्पो प्रयोग गर्दा बढी कपाल झरेको अनुभूति हुनसक्छ । सल्फेट र पारवेन रहित स्याम्पो प्रयोग गर्नुपर्छ ।

कहिलेकाँही राम्रोसँग स्याम्पो नपखालिँदा चायाँ परेको जस्तो हुनसक्छ । कसैकसैलाई स्याम्पो सुट नगरेमा पनि एलर्जी हुनसक्छ ।
( डा. प्रधान एस्थेटिक बाई डा. गोर्खाली कस्मेटिक सर्जरी एण्ड डर्माटोलोजी सेन्टर र शोवा हेल्थ केयर सेन्टरमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्