Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

आजदेखि विपन्न बिरामीका लागि दुई हजार २८ शय्या निःशुल्क



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले आज (बिहिबार) देखि विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि सरकारी अस्पतालमा दुई हजार २८ शय्या निःशुल्क गरेको छ ।

बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

‘स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतका अनुसार वीर अस्पतालले ७ सय शय्या, कोशी अस्पतालले तीन सय ३० शय्या, कान्तिबाल अस्पतालले ६० शय्या, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले चार सय ५० शय्या, ट्रमा सेन्टरले एक सय ५० शय्या र शहीद गङ्गालाल हृदयरोग केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय गरेको छ ।

हालसम्म विपन्नका लागि निःशुल्क घोषणा गरिएका शय्याको सङ्ख्या दुई हजार २८ पुगेको छ ।

विस्तारै देशभरिका केन्द्रीय अस्पतालमा विपन्नका लागि निःशुल्क शय्या थप्दै जाने र ती शय्यामा उपचार पनि निःशुल्क हुने स्वास्थ्य मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘शय्या निःशुल्क गरेपछि अस्पतालमाथि पर्ने आर्थिक भार कम गर्नका लागि केही बजेट सम्बन्धित अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरी काम भइरहेको छ ।’

निजी अस्पताल पनि जिम्मेवार भई नियम अनुसार कूल शय्याको १० प्रतिशत विपन्नका लागि निःशुल्क छुट्याउनुपर्ने भन्दै मन्त्री बस्नेतले १० प्रतिशत शय्या निःशुल्क गर्ने नियम कडाइका साथ कार्यान्वयन गराइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्